तस्कर फरार, भरियालाई आठ करोड जरिवानासहित दश वर्ष जेल

तस्कर फरार, भरियालाई आठ करोड जरिवानासहित दश वर्ष जेल


वर्षौंदेखि टनका टन राजश्व छलेर सुन तस्करी गर्नेहरु अभियोग किटानी भई पक्राउ परे पनि धमाधम नाम मात्रको कारवाहीमा पर्ने र छुट्ने क्रम चलिरहँदा एक भरिया युवकलाई भने भारी जरिवानासहितको जेल सजाय सुनाइएको छ । अन्नपूर्ण पदमार्गअन्तर्गत लमजुङको खुदीमा १७ किलो सुनसहित पक्राउ परेका एक युवकलाई आठ करोड जरिवानासहित १० वर्ष ६ महिना जेल सजायको फैसला भएको छ ।

ज्याला मजदूरी गर्दै आएका मनाङको नासोङ गाउँपालिका–९, दानाक्युका ३१ वर्षीय पासाङ गुरुङलाई उक्त सजाय फैसाला भएको हो । जिल्ला अदालत लमजुङका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत सो कैद सजायको फैसला गरेको अदालतले जनाएको छ ।

बिगोबमोजिम उनलाई रु आठ करोड १६ लाख १४ हजार ९६० जरिवाना तोकिएकोे अदालतका स्रेस्तेदार भूमिप्रसाद शर्मालाई उद्धृत गर्दै राससले समाचार सम्प्रेषण गरेको छ ।

मनाङबाट बेँसीशहरतर्फ मोटरसाइकलमा आएका गुरुङ पाँच महिनाअघि १७ किलो सुनसहित मर्स्याङ्दी–२, खुदीमा पक्राउ परेका थिए । भरियाका रुपमा सुन बोकेका गुरुङ पक्राउ परे पनि यसको तस्कर समूह अझै पक्राउ पर्न सकेका छैन ।