मानिसको कामेच्छा तथा यौनक्षमता वृद्धि गर्ने भन्दै बजारमा बिक्री–वितरण भएका विभिन्न नामका ट्याब्लेट वा क्याप्सुलबारे प्राय: सबैलाई थाहा छ । भियग्राले त संसारमै तहल्का मच्चाइसकेकै पनि हो । तर, तपाईंले कहिल्यै सोच्नुभएको छैन होला कि बजारमा एक यस्तो नास्ता उपलब्ध हुँदै छ जसले तपाईंको कामेच्छा बढाउन मद्दत गर्नेछ ।
क्यानडाका एक उद्यमी पिटर एरिल्चको दिमागमा यो सोच के फुरेको थियो उनले यस्तो कर्न फ्लेक्स उत्पादन गर्न थालिहाले । एरिल्चको दाबीअनुसार उनले उत्पादन गरेको कर्न फ्लेक्स ‘फ्युल योर फायर’ले गजबसँग सेक्स पावर वृद्धि गर्छ । पुरुष र महिलाका लागि अलग–अलग प्याकमा यो उपलब्ध हुने गर्छ ।
यो उत्पादनले प्राकृतिक रूपले हार्मोनको स्तरलाई सन्तुलित तुल्याउँदै सेक्सको चाहनामा वृद्धि गरिदिने कम्पनीको दाबी छ । तर, खानेबित्तिकै उक्त नास्ताले असर गर्ने नभई प्राकृतिक किसिमले यौन चाहना बढाउने पिटरले सफाइ दिएका छन् । कैयन पोषणविद्को सहयोगबाट उत्पादन गरिएको यस खुराकमा महको पराग, कालो तिललगायतका अन्य केही पोषक तत्व मिश्रण गरिएको छ जसले पुरुषको यौनक्षमता बढाउँछ भने सूर्यमुखी फूलको बियाँ, बदमलगायतका अन्य केही तत्व महिलाका लागि निर्माण गरिएको कर्न फ्लेक्समा मिश्रण गरिएको बताइएको छ । ‘रोमान्टिक ब्रेकफास्ट’ भन्दै उपभोक्ताहरूले प्रशंसा गर्न थालिसकेका उक्त कर्न फ्लेक्स यतिबेला क्यानडाको बजारमा मात्र उपलब्ध छ भने यसलाई विश्वभरका बजारमा किन्नका लागि चाहिँ अझै केही समय कुर्नैपर्नेछ ।
उच्च रक्तचापमा चुकन्दरको जुस लाभकारी
के तपाईं उच्च रक्तचापबाट पीडित हुनुहुन्छ ? यदि यस्तो हो भने अब एक कप चुकन्दरको जुस पिउन सुरु गर्नुहोस् । शोधकर्ताहरूले चुकन्दरको जुस उच्च रक्तचापबाट बच्ने अत्यन्त लाभकारी उपाय भएको दाबी गरेका छन् । ‘हाइपरटेन्सन’ पत्रिकामा प्रकाशित शोध–प्रतिवेदनअनुसार चुकन्दरमा नाइट्रेटको मात्रा अधिक हुने हुनाले रक्तधमनी खुलाउन भारी मद्दत गर्दछ, जसले रक्तप्रवाहमा सरलता ल्याइदिन्छ । छातीमा पीडा हुने व्यक्तिलाई दिइने औषधिमा पनि नाइट्रेट प्रयोग गरिएको हुन्छ । ब्लडप्रेसर कम गराउनेसम्बन्धी अनुसन्धानमा कैयन वर्षदेखि संलग्न रहँदै आएका अनुसन्धाताहरूले चुकन्दरको प्रभावबारे गहिरिएर अध्ययन गरेपछि यो निष्कर्ष निकालेका हुन् । चुकन्दरको जुस पिउनेको पिसाबको रङचाहिँ गुलाबी हुने भएकाले त्यसबाट नआत्तिन पनि वैज्ञानिकहरूले सुझाव दिएका छन् ।
एउटै पुस्तकको मूल्य साढे दुई अर्ब !
संसारको सबभन्दा महँगो पुस्तकको रेकर्ड जोन जेम्सको ‘एडभान्स बर्डस् अफ अमेरिका’को नाममा दर्ता छ । उक्त किताब सन् २०१० को डिसेम्बरमा ११ लाख ५० हजार डलरमा बिकेको थियो । तर, अब यो रेकर्डलाई निकै पछि पार्ने गरी अर्को पुस्तक अमेरिकामै लिलामीको तयारी भइरहेको छ । संसारमा जम्मा ११ थान बाँकी रहेको ठानिएको ‘दि वे सम बुक’ नामक पुस्तकको यसै वर्षको अन्त्यसम्ममा तीन करोड डलरमा लिलामी हुन लागेको हो । अमेरिकामा छापिएको पहिलो किताब हुनाले यसको महत्व बढेको बताइन्छ । सन् १६४० मा म्यासाच्युसेटमा यो पुस्तक प्रकाशित भएको थियो भने यसअघि सन् १९४७ मा पनि त्यतिखेरको ‘रेकर्ड मूल्य’ अर्थात् ५१ हजार डलरमा उक्त पुस्तक बिक्री भएको थियो । आगामी नोभेम्बर २६ का दिन अमेरिकका विभिन्न सहरमा लिलामीका निम्ति लगिने सो पुस्तक छपाउने प्रेसको व्यवस्थाका लागि बेलायतमा चन्दा उठाइएको थियो, त्यसको १७ सय मूल प्रतिमध्ये अहिले ११ प्रति मात्र बचेको विश्वास गरिन्छ ।
तपाईं पनि मंगलग्रह जाने कि ?
अत्यन्त चिसो वायुमण्डल रहे पनि मंगल ग्रहप्रति पृथ्वीवासीको आकर्षण बढेको बढ्यै छ । यतिसम्म कि अब पृथ्वीबाट मानिस लगेर मंगलमा आवाद गराउने योजनासमेत कार्यान्वयनमा आउन लागेको छ । हल्यान्डको ‘मार्स वन’ नामक कम्पनीले मंगल जान चाहनेहरूसँग छिट्टै आवेदन माग्ने योजना बनाइसकेको छ । तर, यसमा उक्त कम्पनीको एउटा सर्त छ, त्यो के भने मंगल जाने टिकट एकतर्फी मात्र हुनेछ । अर्थात्, मंगल ग्रह जानेलाई पृथ्वीमा फर्काएर ल्याउने कुनै उपाय या व्यवस्था छैन । मार्स वनको योजना त मंगलमा मानवबस्ती बसाउने हो जुन मिसन सन् २०१८ सम्ममा कार्यान्वयनमा ल्याइने लक्ष्य राखिएको छ । पृथ्वीमा नफर्कने गरी मंगल जान को तयार होला भन्ने जिज्ञासा उठ्न सक्छ, तर आश्चर्य नमान्नुस्, मार्स वनसमक्ष मंगल ग्रह जान चाहनेहरूको पहिले नै हजारौँ आवेदन परिसकेको छ । मंगल ग्रह जानका लागि अभ्यार्थीहरूले रियालिटी शोकैजस्तो छनोट प्रक्रियाबाट गुज्रिनुपर्नेछ जसलाई टीभीबाट पनि प्रसारण गरिनेछ । कम्पनीका सहसंस्थापक बैस ल्यान्सडोर्पका अनुसार पृथ्वीबाट मंगल पुग्दा लाग्ने सात–आठ महिनाको यात्राका दौरानमा अन्तरिक्षयात्रीले आफ्ना हड्डी तथा मांसपेसीको वजन गुमाउने भएकोले मंगलको अत्यन्त कम गुरुत्वाकर्षण क्षेत्रमा समय गुजारेपछि पृथ्वीमा फर्किएर यहाँको वातावरणअनुरूप पुरानो अवस्थामा आफूलाई ढाल्न असम्भव हुन्छ । त्यसैले पनि एकपटक मंगल ग्रहको धरातलमा उत्रिएपछि पृथ्वीमा फर्कन नसकिने जनाइएको हो ।
प्रतिक्रिया