० देशमा दोहो-याएर संविधानसभाको निर्वाचन हुँदै छ, तपाईंहरू पनि चुनावमा भाग लिनुहुन्छ होला नि ?
– चुनावमा भाग लिनुअघि चुनाव केका लागि र कस्तो चुनाव हुन लागेको छ भनी विचार गर्नु आवश्यक हुन्छ । त्यो कोणबाट हेर्दा वर्तमान परिवेशमा हामी चुनावमा सरिक हुने अवस्था नै छैन । पहिले पनि दुई वर्षका भनिएको संविधानसभा चार वर्ष तन्काएर पनि संविधान लेखिएन र यो तालले अब पनि लेख्दैनन् । चुनावबाट संविधान लेख्ने कुरामै विश्वास लाग्न छोड्यो हामीलाई त । चुनाव भनेको दुई अवस्थामा आवश्यक पर्ने कुरा हो, एक– व्यवस्थालाई सञ्चालन गर्न र अर्को– सबै पक्ष सहमत भई कुन–कुन एजेण्डाका लागि चुनाव गर्ने हो त्यो निक्र्योल गरेर मात्र चुनाव हुनुपर्छ । यहाँ त दुवै अवस्था छैन । न त मुलुकमा यतिबेला कुन व्यवस्था चलिरहेको छ भनी कसैले खुट्याउन सकेको छ न सबै पक्षलाई समेट्ने प्रयत्न नै भएको छ । अनि केको चुनाव ?
० यसरी चुनावको विरोध गर्नुको औचित्य के हो ?
– जनता र देशको हितमा नहुने कुराको त हामी सदा विरोध गरिरहन्छौँ । जुन ढङ्गको चुनावको डङ्का पिटिँदै छ यसबाट देश र जनताको हित हुने हामीले देखेका छैनौँ । चुनावले मात्रै सर्वहित हुने भए पञ्चायतमा पनि चुनाव हुन्थ्यो तर किन पञ्चायतलाई मिल्काउनुप-यो त ? चुनाव ठूलो कुरा होइन त्यसले दिने परिणाम महत्वपूर्ण हुन्छ भन्ने सबैले मनन गरौँ न ।
० मुख्य दलहरूबीच सहमति भएको कुरामा तपाईंहरूले यसरी टाङ अड्याउन मिल्छ र ?
– को दल ? कुन मुख्य दल ? को ठूलो दल ? केका आधारमा तिनलाई सधैँ ठूलो दल मान्ने ? सबै दलबाट मानिसहरू ब्रेक भएका छन्, उथलपुथल चलेको छ, अनि कसरी उहिलेको परिणामका आधारमा तिनैलाई मुख्य दल मान्ने ? ठूला भनिएका यी सब ठग हुन्, असल नियतले चुनाव गराउने यिनीहरूको नियत नै छैन । असारमा चुनाव गराउने भने तर अहिले बोली फेरेर मङ्सिर भन्दै छन् । हेर्नुहोला चाँडै नै त्यो मिति पनि बहाना बनाएर यिनीहरूले परिवर्तन गर्नेछन् । अर्थात्, यिनले चुनाव गराउने नै होइनन्, हामीलाई दोष दिने मात्रै हुन् । नेता भन्नेहरू त जनतालाई ढाँट्ने ढँटुवा छँदै थिए अब प्रधानन्यायाधीश भएका व्यक्तिसमेत त्यही ढँटुवा समूहमा प्रवेश गरेर देशलाई ढाँट्न थालेका छन्, यो दुर्भाग्य हो ।
० चुनावको विकल्प त देखिँदैन, प्रस्ट भनिदिनुस् तपाईंहरू चुनावलाई अवरोध गर्नुहुन्छ कि गर्नुहुन्न ?
– देश र जनताको हितमा नभएको चुनाव हुन हामी दिँदैनौँ । हामी यसको विरोधमै छौँ ।
० तपाईंहरूले विरोध गर्दागर्दै दलहरूले चुनाव गराए भने ?
– जबर्जस्ती गराएको चुनावको कुनै अर्थ रहन्न । जनताले अनुमोदन गर्ने छैनन् । जनताबाट अनुमोदन नभएको चुनावको के तुक हुन्छ ?
० तपाईंहरूको यो अभियान त प्रतिगमनकारी भएन र ?
– अग्रगमनका लागि हामी यो गरिरहेका छौँ । आमजनहितको मुद्दा, मधेसको मुद्दा, जनजातिको एजेण्डा आदि थुप्रै एजेण्डा थिए र तिनलाई परिपूर्ति गर्न हामी आन्दोलनमा होमिएका थियौँ । आज ती सब के भए ? यस्ता ज्वलन्त मुद्दालाई अलपत्र पार्नेहरूले हामीलाई प्रतिगमनकारी भन्नु त हास्यास्पद कुरा हो ।
० तपाईंहरू फेरि जङ्गल जाँदै
हुनुहुन्छ कि ?
– हामी जनताको बीचमा छौँ भने किन जङ्गल गइरहनुप-यो ? जनताको साथ लिएर आन्दोलनको उठान गर्ने पक्षमा छौँ हामी जङ्गल–सङ्गल जाँदैनौँ । यतिबेला देश विदेशीको गोटी बनिरहेको छ । सरकार बन्ने–नबन्ने यकिन भएको हुँदैन विदेशी निकाय ठोकुवा गरेर भन्छ कि एघार सदस्यीय मन्त्रिपरिषद् बन्छ ! यो के हो ? के आफूलाई ठूला दल भन्नेहरूसँग यसको जवाफ छ ?
० चुनावको विरोध गर्नेहरूलाई बल प्रयोग गरेर भए पनि रोक्ने भनेको छ सरकारले, सरकारसँग भिड्ने हो तपाईंहरू ?
– सरकारले मुठभेड नै खोजेको हो भने हामी एकरत्ति पछि हट्दैनौँ । जायज मुद्दाका लागि किन पछि हट्ने ? सधैँ जनताको साथमा बसेर लड्दै आएका हौँ, तानाशाहहरूले जनता हेर्दैनन् बरु पुलिस–आर्मीको आडमा जनतामाथि ज्यादती थोपरेर आफूलाई टिकाउन खोज्छन् । यसको त प्रतिरोध हुन्छ र हुनैपर्छ । जनताको शक्ति नै निर्णायक हुन्छ ।
प्रतिक्रिया