तराईमा बढ्यो अत्यधिक गर्मी

तराईमा बढ्यो अत्यधिक गर्मी


मध्य तथा पूर्वीतराईमा विगत चार–पाँच दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको छ ।

वायुमण्डल सफा रहँदा सूर्यको किरणले जीउ नै पोल्ने गरी बढेको तापक्रम अझै केही सातासम्म बढ्ने जलवायु तथा मौसम कार्यालयले जनाएको छ । वायुमण्डलीय तापक्रममा वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्किनसमेत समस्या उत्पन्न भएको हो । गर्मी छल्न दिउँसो स्थानीय पोखरीहरूमा पौडी खेल्ने केटाकेटी र युवायुवतीको भिड लाग्न थालेको छ ।

अत्यधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाजसमेत प्रभावित भएको छ । मंगलबार जनकपुरको तापक्रम यस सिजनकै सबैभन्दा बढी ३८.८ डिग्री सेल्सियस पुगेको छ । गत वर्षको असारमा जनकपुरमा पछिल्लो पाँच वर्षकै सबैभन्दा बढी ४२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।

जलवायु तथा मौसम विभाग कार्यालय जनकपुरका प्रमुख मुनेश मिश्राका अनुसार मध्य तथा पूर्वीतराईका जिल्लामा अझै केही साता तापक्रम बढ्नेछ । वैशाख–जेठमा अत्यधिक गर्मीकै प्रकोपबाट बच्न निजी तथा सामुदायिक विद्यालयले बिहानको सत्रमा पठनपाठन सञ्चालन गर्ने गरेका छन् ।

गर्मी बढ्दासँगै चिसो पेयपदार्थ र जुसको व्यापार बढेको छ । बढ्दो गर्मीसँगै मध्याह्न र अपराह्न सरकारी कार्यालयसहित बजारमा सर्वसाधारणको उपस्थिति पातलिएको छ ।

नियमित विद्युत् आपूर्ति नहुँदा बढ्दो गर्मीमा सर्वसाधारण झनै पिरोलिएका छन् । छाला ढाक्ने गरी कपडा लगाउन, घाममा हिँड्दा नियमित अन्तरालमा बसेर शीतल पानीले हातमुख धुनेजस्ता सुझाव चिकित्सकको छ ।

पछिल्लो एक सातादेखि पानी नपर्दा अत्यधिक गर्मी बढेको हो । गर्मी अझै बढ्ने क्रममा रहेकाले सर्वसाधारण छटपटिएका छन् । लु लागेर ज्यानै जान सक्ने सम्भावना पनि रहने हुँदा अत्यधिक गर्मी महसुस भएमा सतर्कता अपनाउन चिकित्सकहरूले सुझएका छन् ।