सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अध्ययन

सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अध्ययन


कर्णाली प्रदेशको सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ ।

सुर्खेतको भेरीगंगा नगरपालिकास्थित न्याउलीचौरमा निर्माण गरिने अन्तर्राष्ट्रिय विमानस्थलको सम्भाव्यता अध्ययन गरेको परामर्शदाता कम्पनी इ टु सर्भिसेज–टीएईसी–ए–नट जेभीका प्राविधिक सुरज कोइरालाले सात अर्ब ४१ करोड रुपैयाँ लागत लाग्ने बताए ।

मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित कर्णाली प्रदेश सरकारका मन्त्रीले गरेको स्थलगत अनुगमनको क्रममा जेभीका प्राविधिक कोइरालाले यो कुराको खुलासा गरेका हुन् ।

उनका अनुसार पूर्व–पश्चिम चार किलोमिटर लम्बाइ र उत्तर–दक्षिण एक किलोमिटर चौडाइ भएको विमानस्थलको कुल क्षेत्रफल ३६ हजार रोपनी रहेको छ । प्राविधिक कोइरालाका अनुसार सम्भाव्यता अध्ययनको प्रतिवेदनका आधारमा अब डीपीआर बन्नेछ ।

हवाई तथा स्थलगत अनुगमनमा न्याउलीचौर पुगेका पर्यटनमन्त्री अधिकारीले पिछडिएको साथै पर्यटनको अथाह सम्भावना भएको कर्णाली प्रदेशको विमानस्थल निर्माणकार्यलाई सरकारले प्राथमिकतामा राखेको बताए । मन्त्री अधिकारीले भने, ‘यसको डीपीआर तयार गरेर अब चाँडै शिलान्यास पनि गर्छौँ ।’

काठमाडौंबाहेकका बाहिरी जिल्लाबाट पनि छिमेकी देशमा हवाई सेवा सञ्चालन गर्ने दौडानको क्रममा प्रथमतः कर्णालीको सुर्खेतमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन बढी जोड दिने मन्त्री अधिकारीको भनाइ थियो ।

कर्णालीका पर्यटकीय क्षेत्र मुगु–रारा, मानसरोवर, शे–फुक्सुन्डो, छायाँनाथ पुग्ने सयौँ यात्रीका लागि पनि हिमाली जिल्लामा ठूलो जहाज बस्ने विमानस्थल खोज्ने तयारी भइरहेको मनत्री अधिकारीको भनाइ थियो ।

प्रदेशले आफ्नै कानुनमार्फत पर्यटन बोर्ड स्थापना गर्न सुझाउँदै उनले राराको समग्र गुरुयोजना आवश्यक रहेको औँल्याए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम प्राविधिक दृष्टिकोणले सुर्खेत उपत्यकाभित्र विमानस्थल बन्न नसक्ने अवस्था भएपछि उपत्यकाबाहिर हेर्नुपरेको बताए । सुर्खेत विमानस्थलको धावनमार्ग एक हजार २५० छ, तर अहिले बनाउन थालिएको विमानस्थलको धावनमार्ग दुई हजार ६५० मिटरसम्मको हो । यसमा ठूला विमान उडाउन सकिन्छ ।