अब गोसाइँकुण्डमा केबलकार

अब गोसाइँकुण्डमा केबलकार


धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन गराउने प्रदेश सरकारकोे निर्णयबाट रसुवावासी उत्साहित भएका छन् ।

गोसाइँकुण्डमा केबलकार निर्माण गर्नेे अवधारण ०६० देखि नै ल्याइए पनि विद्युत्को अभावमा कार्यान्वयनमा आउन सकेको थिएन । चिलिमे जलविद्युत् कम्पनीले रसुवामा पहिलोपटक २२ मेघावाट विद्युत् उत्पादन गरेसँगै गोसाइँकुण्डमा केबलकार निर्माण गर्ने आवधारणाले मूर्तरूप लिन सक्ने भएको छ ।

जिन्दगीमा एकपटक पुग्नैपर्ने तीर्थ गोसाइँकुण्डको यात्रा सहज बनाउन प्रदेश नं. ३ का सरकारले गरेको निर्णयले अब धुञ्चे—गोसाइँकुण्ड केबलकार निर्माणमा सहज भएको नागरिक समाजले जनाएको छ ।

केबलकारको निर्माणले प्राकृतिक छटाको अवलोकन गर्दै गोसाइँकुण्ड सरर जान सहज हुनेछ । धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणका लागि प्रारम्भिक प्रतिवेदन तयार भइसकेको, केबलकारको दूरी धुञ्चेबाट गोसाइँकुण्ड आठ किलोमिटर रहेको, भगवान् शंकर गोसाइँबाबाले नीलाद्रीपर्वत जाँदा प्रयोग गर्नुभएको मार्गलाई नै अनुशरण गरिएको तथा गोसाइँकुण्ड गाउँपालिकाकै वडा नं. ५ र ६ अन्तर्गत धार्मिक मार्गमा पाँच वर्षभत्र केबलकार निर्माण गरिसक्ने लक्ष्य लिइएको छ ।

केबलकार निर्माणका लागि रु. दुई अर्ब लागतअनुमान गरिएको छ । रसुवाका– ५ वटै गाउँपालिका र केही निजी क्षेत्रको समेत लगानीमा केबलकार निर्माण गर्ने तय भइसकेको र त्यसमा चिनियाँ लगानीकर्ताले पनि लगानी गर्ने प्रतिबद्धता जनाएको स्थानीय अध्ययन तामाङले बताए ।

स्याफ्रु—मैलुङ सडक निर्माण भइसकेको र धुञ्चे जोड्ने करिब पाँच किलोमिटर सडकको निर्माण प्रक्रिया पनि अगाडि बढिसकेकाले अब बेत्रावतीबाट मोटरद्वारा एक घन्टामा धुञ्चे पुग्ने वातावरण सिर्जना भएको गोसाइँकुण्ड गाउँपालिकाले जनाएको छ ।

भगवान् शंकर हिँडेको मार्गलाई पहिल्याई शास्त्रीय विधिअनुरूप धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माण गर्ने प्रस्तावले सम्पूर्ण लामा गुरुहरूमा उत्साह बढाएको बताउँदै पुरोहित टंकप्रसाद ढकालले भने, ‘स्थानीय सरकारले लिएको नयाँ नीतिबाट अब लाखांँलाख भक्तजनलाई तीर्थ पुग्न सहज हुनेछ ।’

गोसाइँकुण्डमा स्नान एवम् पूजा गर्नाले आफूले मागेका सबै वर भगवान्ले दिने, शरीरमा रोग लाग्न नदिने, लागेका रोग हट्ने, घरपरिवारमा सुखशान्ति मिल्ने र कामका लागि गएका सबै परिवारको लक्ष्य पूरा भई धनधान्य हुने विश्वास रहिआएकाले जोकोही मानिसले पनि जिन्दगीमा एकपटक भए पनि यो कुण्डमा पुग्नैपर्ने मान्यता रहिआएको पुरोहित ढकालले बताए ।

धुञ्चे गोसाइँकुण्ड केबलकार निर्माणले अब भक्तजन मात्रै होइन, पर्यटकसमेत बृद्धि हुने बताउँदै रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम (दुर्गानाथ) न्यौपानेले गोसाइँकुण्डमा पर्यटकको अभिवृद्धि गर्न आफ्नो संस्था निरन्तर अगाडि बढ्ने बताए ।

प्रदेश नं. ३ का सरकारले स्याफ्रुबेँसी, लाङटाङ क्याङजेन पर्यटकीय क्षेत्रलाई डा. प्रह्लाद योञ्जन रेडपाण्डा पदमार्ग नामाकरण गरेकोमा लाङटाङवासीले त्यसको पनि स्वागत गरेका छन् ।

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणको काममा लगानीकर्तालाई पूर्ण रूपमा सहयोग र समर्थन मिल्ने तथा छिटोभन्दा छिटो निर्माणका लागि आफूले समन्वयकारी भूमिका निर्वाह गरिरहेको जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले बताए ।

रासस