निर्वाचन मितिको घोषणा वैशाख अन्तिम साता

निर्वाचन मितिको घोषणा वैशाख अन्तिम साता


prachandaमाओवादीविरुद्धसेनाको प्रयोग हुने
निर्वाचनको मिति घोषणा गर्न सरकारमाथि चौतर्फी दबाब परिरहेको भए पनि ‘आवश्यक प्रबन्ध’ गरेर मात्र चुनावको तिथि निर्धारण गरिने भएको छ । चुनाव आगामी मङ्सिर ५ गते बुधबार गर्ने सोच बनेको र प्रमुख दलका नेताहरूसमेत उक्त मितिमा चुनाव गराउन सहमत भइसकेकोले मङ्सिर ५ गते नै निर्वाचनको सम्भावना रहेको छ । तर, गृहमन्त्री माधव घिमिरेको संयोजकत्वमा गठित सरकारी वार्ताटोलीले क्रियाशील सबै राजनीतिक दलसँग संवाद एवम् सहमति गरिसकेपछि मात्र चुनावको मिति घोषणा गरिने भएको छ । सरकारी वार्ताटोलीले सङ्घर्षमा उत्रिएको नेकपा–माओवादीसँगको संवादलाई उच्च प्राथमिकतामा राखेको छ र उक्त पार्टीका नेताहरूसँग सम्पर्क गर्ने प्रयास गरिरहेको छ । सबै पूर्वप्रधानमन्त्री तथा क्रियाशील दलका नेताहरूसँगको छलफलपश्चात् यही वैशाखको अन्तिम सातातिर चुनावको मिति सार्वजनिक गर्ने योजना सरकारले बनाएको छ । त्यसैले जो–जतिसुकै हतारिए पनि चुनावको घोषणा हुन अझै केही दिन प्रतीक्षा गर्नैपर्ने भएको छ ।
निर्वाचनका लागि सबैभन्दा ठूलो बाधक नेकपा–एमाओवादीलाई ठानिएको छ । माओवादीलाई ‘लाइन’मा नल्याएसम्म चुनावको मिति सार्वजनिक गर्नुको खासै अर्थ नरहने सरकारी बुझाइ रहेको देखिन्छ । त्यसैले सरकारले माओवादीसँगको संवादलाई सर्वाधिक प्राथमिकतामा राखेको पनि छ । वैद्य समूह सहमतिमा आए या चुनावमा भाग लिन राजी भएमा उक्त दललाई उच्चस्तरीय राजनीतिक संयन्त्रमा सामेल गरिने र दलको सिफारिसमा एकजना कसैलाई मन्त्री पनि बनाइदिने सरकारी तथा उच्च राजनीतिक तहमा आन्तरिक सहमति भएको छ । तर, नेकपा–माओवादीले भने राष्ट्रपतिबाहेक कसैसँग संवाद नगर्ने अड्डी लिएको छ र सरकारी पक्षसँग उनीहरूले संवाद या सहमति गर्ने कुनै सम्भावना देखिएको छैन । बरु मतदाता नामावली सङ्कलनमा खटिने निर्वाचन आयोगका कर्मचारी तथा नागरिकता वितरणका निम्ति परिचालित सरकारी टोलीलाई कुनै पनि हालतमा आफ्नो काम गर्न नदिने प्रतिबद्धता माओवादीका तर्फबाट दोहो-याई–तेहे-याई सार्वजनिक भइरहेको छ । नागरिकताको प्रमाणपत्र वितरणलाई माओवादीले ‘राष्ट्रघाती’ कदम करार दिएको छ । उता सरकारले भने संवाद एवम् सहमतिबाट नै माओवादीलाई विश्वासमा लिन प्रयास गर्ने र नभएमा मात्र बल प्रयोग गर्ने नीति लिएको छ । एनेकपा माओवादीका अध्यक्ष प्रचण्ड पनि वैद्य समूहमाथि बल प्रयोग गर्ने पक्षमा रहनुभएको बुझिन्छ । बल प्रयोग गरेमा ठक्कर खाने र त्यसपछि वैद्य समूह पनि ‘लाइन’मा आउने विश्वास प्रचण्डले गर्नुभएको छ । उहाँले सरकारप्रमुख खिलराज रेग्मीलाई वैद्य समूहमाथि बल प्रयोग गर्न दबाबसमेत दिइरहनुभएको बुझिन्छ । प्रचण्डको ज्यादा दबाबपछि सरकारले माओवादीविरुद्ध सेना परिचालन गर्ने सोच बनाएको छ । प्राप्त जानकारीअनुसार नागरिकता वितरण तथा मतदाता नामावली सङ्कलनका लागि खटिने कर्मचारीलाई आफ्नो काम गर्न नदिए कुनै न कुनै रूपमा सेना प्रयोग गरिने भएको छ । टोलीको काममा बाधा पु-याएमा तिनलाई सीधै गोली प्रहार गर्नेसम्मको अधिकार सेनालाई दिन लागिएको छ । त्यसैगरी नेकपा–माओवादीका नेताहरूलाई हतियार फिर्ता गर्न वैशाख मसान्तसम्मको समयसीमा दिइएकोमा उक्त समयावधिभित्र हतियार (चौबीस थान) नबुझाएमा माओवादी नेताहरूलाई सेनाले नै गिरफ्तार गर्नुपर्नेबारे ‘उच्च’ तहमा छलफल चलिरहेको छ । एमाओवादी अध्यक्ष प्रचण्ड सेना लगाएरै वैद्य समूहलाई ठीक पार्ने पक्षमा रहनुभएको र अन्य दल तथा सरकारप्रमुखलाई समेत त्यसनिम्ति पटकपटक दबाब दिने गरिएकोले अन्तत: सरकार माओवादीवरुद्ध सेना परिचालनसम्म गर्ने निष्कर्षमा पुगेको बताइन्छ । वैशाख मसान्तभित्रै चौबीस थान हतियार राज्यलाई फिर्ता नगरेमा माओवादी नेताहरूलाई सेनाले धरपकड गर्ने बुझिएको छ । त्यसरी सेनाले कारबाही सुरु गरेमा या त माओवादीहरू बदलिएर चुनावमा भाग लिन आउनेछन् या सकिनेछन् भन्ने विश्लेषणका आधारमा प्रचण्डको चाहनाबमोजिम नै
हतियार फिर्ता मागिएको र फिर्ता नगरे सैन्य कारबाही गरिने भएको हो । बृहत् शान्तिसम्झौता कार्यान्वयन भइसकेको सन्दर्भमा हतियारमाथि सेनाको पूर्ण नियन्त्रण कायम भइसकेको र सेनासँग हुनुपर्ने हतियार माओवादीसँग भएकोले आफ्ना हतियार फिर्ता लिन सेनाले तत्परता लिन लागेको भनाइ सरकारी सूत्रको छ । तर, नेकपा–माओवादीका नेताहरूले भने आफूहरूसँग कुनै हतियार नभएको बताउँदै आएका छन् । आफूहरूसँग भएका सबै हतियार धेरै पहिले नै प्रचण्डलाई बुझाइसकेको र सेनाले प्रचण्डबाट नै ‘ती’ हतियारहरू फिर्ता लिनुपर्ने धारणा माओवादी नेताहरूको छ । हतियार या कुनै पनि निहुँ बनाएर आफ्नाविरुद्ध कुनै कदम चालिए त्यसको कडा प्रतिरोध गरिने चेतावनी पनि माओवादी नेताहरूले दिएका छन् । अहिले भित्रभित्रै तयारी भएजस्तै माओवादीलाई सेना प्रयोग गरेर ठेगान लगाउन खोजिने हो भने मुलुकमा पुन: द्वन्द्व हुनसक्ने सम्भावना छ । माओवादीमाथि राज्यले पूर्ण नियन्त्रण कायम गर्न सके त शान्ति होला र निर्वाचन पनि सम्पन्न हुनसक्ला, कदाचित राज्यले परिस्थितिलाई काबुमा लिन सकेन भने मुलुकमा चुनाव होइन पुन: अर्को चरणको द्वन्द्व र तनावको थालनी हुने निश्चित छ । त्यसैले आगामी मङ्सिरमा चुनाव गराउने भनिए तापनि नेकपा–माओवादी सम्बद्ध विषयको टुङ्गो नलागेसम्म संविधानसभाको निर्वाचन सम्पन्न हुन कठिन देखिएको छ ।