निर्वाचन मिति घोषणाको तयारी हुँदै गर्दा कठोर प्रतिरोधको योजना बुन्दै माओवादी

निर्वाचन मिति घोषणाको तयारी हुँदै गर्दा कठोर प्रतिरोधको योजना बुन्दै माओवादी


prachandaसरकारले आगामी मङ्सिरमा गर्नेगरी चुनावको मिति घोषणा गर्ने अन्तिम गृहकार्य गरिरहेका बेला विपक्षी भूमिकामा रहेको नेकपा–माओवादी भने प्रतिरोधी सङ्घर्षको तयारीमा जुटेको छ । निर्वाचनका लागि सर्वपक्षीय सरकार गठन हुनुपर्ने र संविधानसभा निर्वाचन गर्ने भए त्यसका एजेण्डाहरू पनि पहिले नै तय हुनुपर्नेजस्ता सर्तहरू माओवादीले राख्दै आएको छ । माओवादीले खिलराज रेग्मी नेतृत्वको वर्तमान सरकारले गराउने निर्वाचनमा कुनै हालतमा सहभागी नहुने बरु त्यसलाई जसरी भए पनि बिथोल्ने अठोट गरेको छ । माओवादीलाई विश्वासमा लिन सरकार तथा प्रमुख राजनीतिक दलहरूबाट अहिलेसम्म भएका प्रयास सफल हुन सकेका छैनन् र सफल हुने सम्भावना पनि टाढिएको छ । माओवादीलाई विश्वासमा लिन नसकेमा उनीहरूलाई नियन्त्रणमा लिएर भए पनि निर्वाचन सम्पन्न गरिछाड्ने आन्तरिक योजनामा सरकारी पक्ष रहेको छ । आवश्यक परे माओवादीविरुद्ध सेनासमेत परिचालन गर्ने सोच उच्च राजनीतिक तहमा बनेको बुझिन्छ । सरकार यसरी निर्वाचन गरिछाड्ने गृहकार्यमा जुटेको बुझेपछि माओवादीले पनि सरकारी योजनालाई हरहालतमा असफल पारिछाड्ने योजना बनाएको छ । माओवादीनिकट एक सूत्रले जनाएअनुसार सरकार र निर्वाचनका विरुद्ध शान्तिपूर्ण एवम् वैधानिक आन्दोलन गर्ने सोच माओवादीको छ, तर सरकार दमनमा उत्रिएमा त्यसको कठोर प्रतिरोध गर्ने तयारीमा उनीहरू रहेका छन् । सरकारले दमनको नीति अख्तियार गरेमा माओवादी पार्टीले सशक्त प्रतिरोध गर्ने र आवश्यक गरे भूमिगत भएर पनि सङ्घर्ष गर्ने योजना बनाएको छ । सुरुमा नेपाल बन्दलगायत विरोध प्रदर्शनका कार्यक्रम आयोजना गरी निर्वाचन प्रयासमा अड्चन पैदा गर्ने, त्यसो गर्दा राज्यले बल प्रयोग गरेमा आफूहरूले पनि बल प्रयोग गर्ने माओवादी सूत्रहरूले जनाएका छन् । त्यस्तो अवस्थामा वैधानिक आन्दोलनको सीमा तोडिने पनि उनीहरूले बताएका छन् । ‘हामी ७५ वटै जिल्ला कैयन दिनसम्म ठप्प तुल्याउन सक्छौँ, हाम्रो दबाबको उपेक्षा गरी दमनमा उत्रिए सशक्त प्रतिरोध गरिन्छ,’ नाम नबताउने सर्तमा माओवादीका एक नेताले घटना र विचारलाई बताए । उनको भनाइ थियो, ‘हामीले जनयुद्धको जगमा जनविद्रोह गर्ने नीति लिएका छौँ, त्यसनिम्ति आवश्यक परेमा पार्टीलाई भूमिगत लैजाने तयारीसमेत भइसकेको छ, अब देशलाई द्वन्द्वमा लैजाने कि नलैजाने भन्ने सरकार र चारदलीय संयन्त्रको हातमा रहेको छ ।’
सङ्घर्षका लागि सबभन्दा पहिले सबै देशभक्त एवम् राष्ट्रवादी शक्तिलाई मोर्चाबद्ध गर्ने माओवादीको तयारी छ । राष्ट्रवादी जो–कसैले पनि मोर्चामा आबद्ध हुनसक्ने नीति उनीहरूले लिएका छन् । खिलराज सरकार र चारदलीय सिन्डिकेट तोड्न आमदेशभक्त नेपालीलाई आह्वान गरी वैधानिक सङ्घर्षमा जुट्ने माओवादीको कार्ययोजना छ । दमन नभएसम्म वैधानिक सङ्घर्ष नै अघि बढाइरहने पनि उनीहरूले जनाएका छन् । उनीहरूले निर्वाचन कर्मचारी, उम्मेदवार र प्रचारकहरूलाई निरुत्साहित गर्ने सोच पनि बनाएका छन् । माओवादीको मागबमोजिम तत्काल सरकार बदलिने या निर्वाचनको तयारीबाट सरकार पछि हट्ने दुवै सम्भावना देखिएको छैन । यसरी सरकार पछि नहट्ने र माओवादीले पनि आफ्नो निर्णयमा पुनर्विचार नगर्ने हो भने देशमा शान्तिपूर्ण निर्वाचन हुन असम्भव छ । त्यसैले निर्वाचन प्रयोजनका लागि गठित वर्तमान सरकार अब माओवादीसँग जुध्ने तयारीमा लाग्ने कि निर्वाचनमा जुट्ने भन्ने प्रश्न खडा हुन पुगेको छ ।
माओवादीले वर्तमान सरकार र यसले गराउने निर्वाचनलाई आफ्नो जीवनमरणको सवाल बनाएकाले उनीहरू ज्यादा आक्रामक ढङ्गले अगाडि आउनसक्ने सम्भावना छ । त्यसरी आक्रामक भएमा सरकारले पनि परिस्थितिलाई काबुमा लिनका निम्ति सम्पूर्ण प्रयास गर्नु स्वाभाविक हुनसक्छ । त्यस्तो अवस्थामा माओवादीलाई तह लगाएर मात्र निर्वाचनमा जाने योजना सरकारले बनायो भने कुनै आश्चर्य हुनेछैन । वर्तमान सरकारले माओवादीलाई काबुमा लिने सामथ्र्य देखाएन भने राष्ट्रपति या अन्य कुनै ‘बहादुर’को नेतृत्वमा नयाँ सरकार गठन भई माओवादीविरुद्ध कठोर रूपमा प्रस्तुत हुने सम्भावनालाई इन्कार गर्न सकिन्न । अहिले नेकपा माओवादीलाई सबैले ‘अन्डरमाइन्ड’ गरेको अवस्था छ । यदि अहिले सोचिएजस्तै माओवादी दुर्बल छन् भने त परिस्थिति चाँडै सम्हालिएला र मङ्सिरको सट्टा आउँदो चैत–वैशाखमा भए पनि निर्वाचन हुनसक्ला, त्यसो भएन र देशमा द्वन्द्व चर्चिएर गयो भने निर्धारित मितिमा निर्वाचन नहुने मात्र नभई मुलुक पुन: रक्तपातपूर्ण युद्धभूमिमा रूपान्तरित हुने निश्चित छ । तत्पश्चात् प्रचण्डहरूले सुरु गरेको हिंसात्मक सङ्घर्ष अन्त्य गर्दै शान्ति स्थापनाका लागि राज्यले अहिलेसम्म गरेको प्रयास पूर्णत: असफल भएको अर्थ लाग्नेछ । त्यतिबेला प्रचण्डहरूमाथि पनि प्रश्न उठ्नेछ– ‘यदि आफ्नो काबुमा थिएन भने नेपाली मार्ने–मर्ने कथित जनयुद्ध किन सुरु ग¥यौ र शान्तिप्रक्रियामा आएको नाटक किन रच्यौ ?’