खेलकुदले नयाँ उचाइ समात्ने सङ्केत

खेलकुदले नयाँ उचाइ समात्ने सङ्केत


sportराष्ट्रिय खेलकुद परिषद् सदस्यसचिवको ठाडो निर्देशनमा चल्दै आएकाले अझै पनि राखेपमा लोकतन्त्र आइनसकेको आरोप लाग्दै आएको छ । सदस्यसचिवका रूपमा राखेपमा भित्रिएलगत्तै युवराज लामाले पनि राखेपको सदस्यसचिव जंगबहादुरझैँ देखिएको भन्दै त्यो प्रवृत्ति अन्त्य गर्ने बताएका थिए । उनको कार्यकालमा पनि केही समय सदस्यसचिवकै वरिपरिमा ‘चाकडीवाज’हरू नै मोटाउने सिलसिला कायम रह्यो । तर, पछिल्लो समयमा राखेपले कार्यविधि र विनियम बनाएर नीतिगत रूपमा चल्न खोजेको सङ्केत देखाएको छ भने यसबाट खेलकुदको स्थायी जग बसाउने भूमिका खेल्ने सङ्केत देखिएको छ । यदि कार्यान्वयन पक्ष फितलो भएमा यो आशा भुसको आगोझैँ बल्न केही समय पनि लाग्दैन । त्यसैले निर्णयसँगै कार्यान्वयनको पक्षमा समेत ध्यान जान सकेको खण्डमा नेपाली खेलकुदले नयाँ उचाइ समात्नेमा सबै आशावादी छन् ।
राखेपमा लामा भित्रिएपछि अहिलेसम्म चारवटा कार्यविधि बनेका छन् । विद्यालय खेलकुद विकास समितिको कार्यविधि, खेलकुद विज्ञान प्रतिष्ठानको कार्यविधि, पौडीपोखरी सञ्चालन कार्यविधि र प्राविधिक कार्यकारी बोर्डको कार्यविधि बनेको छ । राखेपले खेलकुदको विकास र विस्तारलाई अगाडि बढाउने सङ्केतका रूपमा यी कार्यविधिलाई लिनुपर्छ ।
राखेपको ९७औँ बोर्ड बैठकले केही उत्कृष्ट निर्णय पारित गरेको छ । यदि ती निर्णय कार्यान्वयन हुन सकेको खण्डमा नेपाली खेलकुदले नयाँ उचाइ ननाप्ला भन्न सकिँदैन । राखेपका सदस्यसचिव लामालाई यतिखेर कतिपयले पूर्वसदस्यसचिव विनोदशंकर पालिखेसँग तुलना गर्नसमेत थालेका छन् । यसरी राखेप यतिबेला पूर्वाधार निर्माणमा जोड दिन थालेको सङ्केत पछिल्लो बोर्ड बैठकहरूले देखाएको छ ।
नेपाल बर्मुडामा भएको डिभिजन- ३ को विजेता हुँदै विश्वकप छनोट खेलका लागि चुनिइसकेको छ । यदि विश्वकप छनोट खेलमा उत्कृष्ट प्रदर्शन गरेको खण्डमा नेपालले विश्वकप खेल्नेछ तर नेपाली क्रिकेटरको विडम्बना अझैसम्म पनि नेपालमा प्याराफिटयुक्त क्रिकेट मैदान छैन । यसले नेपाली खेलकुदमाथि ठूलो चुनौती पस्केको छ । लामाले पूर्वाधार निर्माणमा जोड दिँदै २५ देखि ३० हजार क्षमताको क्रिकेट स्टेडियम निर्माणमा अग्रसर हुने बताएका छन् । त्यसका लागि लामामाथि चुनौती पनि छ । यतिबेला लामाकै दल एमाओवादीका नेता टंक आङबुहाङ नेपाल क्रिकेट सङ्घको अध्यक्ष छन् । सदस्यसचिव र क्यानको अध्यक्षसमेत एमाओवादी समर्थक भएकाले पनि दुवैमाथि केही नयाँ संरचना विकास गर्नुपर्ने चुनौती त छर्दै छ अर्काेतर्फ राष्ट्रका लागि पनि यो जरुरी भइसकेको छ ।
यी भौतिक संरचना निर्माणका लागि पनि राखेपको ९७औँ बोर्ड बैठक महत्वपूर्ण रहेको छ । सो बोर्ड बैठकले ०७०÷७१ का लागि नेपाल सरकारसँग माग गरिएको वार्षिक कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ । ०७०÷७१ का लागि युवा तथा खेलकुद मन्त्रालयमार्फत राष्ट्रिय योजना आयोगमा संलग्न विवरणबमोजिम उपभोग खर्चतर्फ ३३ करोड ४५ लाख ७९ हजार, कार्यक्रमतर्फ १९ करोड एक लाख ६८ हजार र पुँजीगत खर्चतर्फ ४९ करोड ५८ लाख २६ हजार गरी जम्मा एक अर्ब दुई करोड पाँच लाख सात हजार रुपैयँाबराबरको बजेट पेस गरेको छ । राखेपले यो महत्वाकाङ्क्षी योजना अगाडि सारेर खेलकुदमा छलाङ मार्न खोजेको देखिन्छ । यदि यो पार्टीगत हितका लागि मात्र नसोची समग्र खेलकुदका लागि सोचेको हो भने लामा अहिलेसम्मकै सफल सदस्यसचिवमा दरिने छन् । लामाले आफूलाई एउटा पार्टीमा सीमित राख्ने कि पूरै खेलकुदको नेता बन्ने देखाउने बेला आएको छ ।
उनीमाथि लागेको अर्काे आरोप भनेको उनी राखेपको सदस्यसचिव भए पनि करातेका निजी सदस्यसचिवझैँ देखिए । त्यसलाई गलत सावित गर्नका लागि कसैलाई पाखा कसैलाई काखा गर्ने प्रवृत्तिको अन्त्य हुनु आवश्यक छ । करातेमा बढी एस्क्पोज भएका कारणले पनि उनीमाथि सो आरोप लागेको हुन सक्छ । राखेपले देशभरिका दुई सय ४० वटै निर्वाचन क्षेत्रमा सेमिकभर्डहल एवम् खेलमैदान निर्माण गर्न योजना पास गरेर कतिलाई टाउको दुखाइको विषयसमेत बनाएको छ । खेलकुदमा दलगत राजनीतिबाट बाहिर निस्कन नसकेकाहरूले यो राखेपका सदस्यसचिव लामाको चुनावी वाण हो भनेर आरोपसमेत लगाउन थालेका छन् । चाहे चुनावी वाण नै किन नहोस् निर्वाचन क्षेत्रमा कर्भडहल बन्न साँचैमा उपलब्धिमूलक कुरा हो । यति सेमिकर्भडहल बनाएर त्यसलाई देखाउनका लागि मात्र प्रयोग गरियो भने त्यसबाट नै लामाको भित्री कुरा निस्कनेछ नत्र जनताका लागि राम्रो काम गरेर चुनावी वाण प्रयोग गरिन्छ भने आश्वासन दिएर हिँड्नुभन्दा कैयौँ गुणा राम्रो हो ।
दुई सय ४० वटै निर्वाचन क्षेत्रमा सेमिकभर्डहल निर्माणका लागि करिब दुई अर्ब बजेटको आवश्यकता देखिएको राखेपले जनाएको छ । त्यसका लागि राखेपका सदस्यसचिवले एमाओवादीका अध्यक्ष प्रचण्ड चीन र भारत भ्रमणमा जानुअघि छिमेकीसँग त्यो कभर्डहल निमार्णका लागि सहयोग माग्न आग्रह गरेका थिए । सदस्यसचिव लामाले भारत र चीनबाट त्यसका लागि सहयोग पाउने आश्वासन पाएको सङ्केत मिलेको बताएका छन् । लामाका अनुसार चीनले सेप्टेम्बरमा बजेट बनाउँदै छ, त्यसमा नेपालमा कभर्डहल निर्माण, स्टेडियम कर्भर गर्ने विषय र सेमिकभर्डहलका विषयमा बजेट आउने बताइएको छ । लामाले नेपालले त्यसका लागि बजेट पाउने सङ्केत आइसकेको बताएका छन् । यसले पनि नेपाली खेलकुदको नयाँ अध्याय सुरु हुन लागेको सङ्केत देखाएको छ ।
यदि भारत र चीनको सहयोगमा ती कभर्डहल बनेमा भारत-नेपालमैत्री वा नेपाल-चीनमैत्री सेमिकभर्डहल नामाकरण गरिने सोचसमेत बनाइसकेकाले पनि भारत र चीनबाट कभर्डहल निर्माणका लागि सकारात्मक सङ्केत आएको हुनसक्ने अनुमान लगाउन गाह्रो पर्दैन ।
९७औँ बोर्ड बैठकले स्विमिङ पुल सञ्चालनलाई समेत व्यवस्थित गर्ने योजना ल्याएको छ । यसअघि जथाभावी रूपमा राजनीतिक निकटतम्का आधारमा सातदोबाटोको स्विमिङ पुल ठेक्कामा दिँदा अझैसम्म पनि ठेकेदारले ५१ लाख रुपैयाँ राखेपलाई तिरेको छैन । मुद्दा राखेपले जितिसक्दासमेत ठेकेदार फरार छ । राखेपले त्यो आम्दानीको स्रोतलाई व्यवस्थित गर्नका लागि स्विमिङ पुल सञ्चालन निर्देशिका तयार गर्ने भएको छ । यसले आम्दानीको स्रोतलाई बलियो बनाउने विज्ञहरू बताउँछन् । त्यसैगरी राखेपले प्रत्येक वर्षका चर्चित खेलाडी, प्रशिक्षक, कर्मचारी तथा सङ्घलाई राष्ट्रिय खेलकुद पदक प्रदान गर्ने भएको छ । यसले खेलाडीमा उत्साह बढ्नेछ ।

क्रिकेटरलाई जनही ३ लाख ५० हजार
आईसीसी विश्वकप लिग डिभिजन-२ मा बढुवा भएको नेपाली क्रिकेट टोलीका सदस्यलार्ई राष्ट्रिय खेलकुद परिषद्को ९७औँ बोर्ड बैठकले जनही तीन लाख ५० हजार रुपैयाँ दिएर सम्मान गर्नका लागि युवा तथा खेलकुद मन्त्रालयमार्फत नेपाल सरकार मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको राखेपको ९७औँ
बोर्डले बर्मुडामा भएको डिभिजन-३ को विजेता नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही तीन लाख ५० हजार पुरस्कार दिनका लागि सिफारिस गर्ने भएको हो ।

ट्रायथलनका राजीवलाई पाँच लाख
फिलिपिन्समा अप्रिल २५ देखि २९ सम्म भएको स्प्रिन्ट उमेर समूह एसियन ट्रायथलन च्याम्पियनसिपमा स्वर्ण पदक हासिल गर्न सफल आर्मीका खेलाडी राजीव गुरुङलाई नेपाल सरकारले पाँच लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईका पालामा मन्त्रिपरिषद्ले सम्बन्धित खेलको एसियाली च्याम्पियनसिपमा जित्ने खेलाडीले पाँच लाख रुपैयाँ पाउने निर्णय गरेअनुरूप तामाङले सो पुरस्कार पाउने भएका हुन् ।
नेपालले एसियालीस्तरको च्याम्पियनसिपमा ट्रायथलनबाट पहिलोपटक सहभागिता जनाएको थियो । राजीवले पहिलोपटक नै स्वर्ण पदक जित्दै नेपालमा ट्रायथलनको सम्भावना रहेको देखाइदिएका छन् । पहाडी मुलुक भए पनि पौडी, साइक्लिङ र दौडमा प्रदर्शन गर्नुपर्ने ट्रायथलन खेलमा तामाङले उत्कृष्ट प्रदर्शन गरेका हुन् ।
त्यसैगरी हङकङमा भएको एसिया प्यासिफिक कराते च्याम्पीयनसिपमा नेपाल राष्ट्रको तर्फबाट सहभागी भई पदक हासिल गर्न सफल नेपाली खेलाडीले पनि सरकारले निर्णय गरेअनुसार नै पदक पाउनेछन् । राखेपसँग स्वीकृति लिएर गएकाले मात्र सो पुरस्कार पाउने भएकाले अन्तर्राष्ट्रिय मान्यता मात्र प्राप्त सङ्घहरूले पठाएका खेलाडीको हकमा भने अझै समस्या छ । हङकङको सो च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण, चार रजत र सात कास्य पदक जितेको थियो ।

आयोजकलाई नेकोस तेक्वान्दो उपाधि
आयोजक नेपाल खेलकुद महासङ्घअन्तर्गतको राष्ट्रिय तेक्वान्दो सङ्घले दोस्रो नेकोस राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । दुई स्वर्ण जित्दै आयोजकले टिमले च्याम्पियनको उपाधि उचाल्यो । त्यति नै स्वर्ण जितेको पर्साले दोस्रो स्थानमा चित्त बुझायो । आयोजक र पर्साले दुई स्वर्णबाहेक अन्य पदक हात नपारेपछि टिम च्याम्पियनको छिनोफानो खेलाडी सहभागिता सङ्ख्याको आधारमा गरिएको थियो । प्रतियोगितामा आयोजकका नौ तथा पर्साका आठ खेलाडीले भाग लिएका थिए । एक खेलाडी बढी सहभागी भएको आधारमा आयोजक च्याम्पियन घोषित भएको आयोजकले जनाएको छ । तेस्रो भएको चितवनले एक स्वर्ण, एक रजत र दुई कास्य हात पा-यो ।
पुरुषमा सुनसरीका सतिश काफ्ले तथा महिलामा आयोजककी काजल श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित हुँदै पाँच हजारका दरले नगद पुरस्कार प्राप्त गरे । उक्त पुरस्कार पूर्व तेक्वान्दो अन्तर्राष्ट्रिय खेलाडी एवम् नेपाल तेक्वान्दो सङ्घका सदस्य हरिश्वर पोखरेलले प्रायोजन गरेका हुन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको अन्तिम दिन पुरुषको ५९ केजीमा मकवानपुरका अजय गुरुङ र ५५ केजीमा पर्साका सागर गुभाजु तथा महिलाको ५१ केजीमा आयोजककी सुष्मा श्रेष्ठले स्वर्ण जिते । विजेतालाई एमालेका महासचिव ईश्वर पोखरेललगायतले पुरस्कार प्रदान गरेका थिए । तीनदिने प्रतियोगितामा आयोजक र तीन विभागीयसहित ४९ टिमका चार सय ८० खेलाडीले १६ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।

बौद्धलाई फुटबल उपाधि
बौद्ध तामाङ कल्याण गुठीले प्रथम वीरेन्द्र पुस्तकालय सिक्स ए साइड फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । चाबहिलमा भएको फाइनलमा बौद्धले शान्ति गोरेटोलाई सडन डेथमा हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । उपाधिसँगै बौद्धले ४५ हजार तथा शान्ति गोरेटोले २५ हजार नगद पुरस्कार हात पारे । वीरेन्द्र पुस्तकालयद्वारा आयोजित प्रतियोगितामा बौद्धका सोम थापा (५ गोल) सर्वाधिक गोलकर्ता बने भने आईसीएफसी फाइनान्स अनुशासित टिम चुनियो । त्यस्तै डिफेन्समा शान्ति गोरेटोका अर्जुन थापामगर तथा मिडफिल्डमा क्लब मोसेसका रञ्जित लामा उत्कृष्ट ठहरिए । चारै विधाका उत्कृष्टले जनही पाँच हजार नगदसहित एक-एक थान मोबाइल प्राप्त गरे । विजेतालाई डा. अञ्जनीकुमार शर्मा तथा काठमाडौं वडा ७ की सचिव विमला कोइरालाले पुरस्कार प्रदान गरेका थिए । वैशाख १० गतेदेखि सुरु भएको प्रतियोगितामा ३० टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।