डेढ अर्बको बैठक !

डेढ अर्बको बैठक !


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको अप्रत्याशित भेटवार्ताको निम्ति सिङ्गापुर जानुअघि उत्तर कोरियाका नेता किम जोङ उन विहानै चीन पुगेको सन्दर्भलाई अन्तर्राष्ट्रिय मिडियाहरूले चर्चाको विषय बनाएका छन् । महत्वपूर्ण हवाई उडानहरूमाथि चासो राख्ने वेवसाइट फ्लाइटराडार २४ डट कमका अनुसार किम विहान प्योङयाङबाट बेजिङ पुगेका थिए भने बेजिङमा उनको विमान बदलिएको थियो । बेजिङबाट उनी एयर चाइना ७४७ मा सवार भई उनी सिङ्गापुर पुगेका थिए ।

सिङ्गापुरका विदेशमन्त्री विवियान बालकृष्णनले चाङ्गी विमानस्थलमा किमसँग हात मिलाएर खिचिएको तस्बिर ट्वीटमा शेयर गरे । किम मर्सिडिज बेञ्जमा सवार भई तोकिएको एक सेन्टरतर्फ लाग्दा उनको साथमा बीसभन्दा बढि गाडी थिए ।

१२ जुन अर्थात आगामी मंगलबार राष्ट्रपति ट्रम्पसँग हुने वार्ताको एजेण्डामध्ये उत्तर कोरियाको परमाणु हतियार भण्डार मूख्य रहने बताइएको छ । यिनै परमाणु हतियारका कारण उत्तर कोरियाले संयुक्त राष्ट्र सङ्घबाट प्रतिबन्धको सामना गर्नुका साथै ट्रम्प प्रशासनले उसलाई सैन्य कारवाहीको धमकीसमेत दिएको थियो ।

ज्ञात रहोस्, किम जोङ र ट्रम्पबीच हुन लागेको वार्ताको निम्ति सिङ्गापुरले करिव डेढ अर्ब रकम खर्च गर्दैछ । साजसज्जादेखि सुरक्षासम्मका शीर्षकमा त्यति ठूलो धनराशि खर्च हुन लागेको हो ।


तस्बिर एपी