पेरूको जनयुद्ध, सोभियत सङ्घको विघटन र नेपाली जनयुद्ध

पेरूको जनयुद्ध, सोभियत सङ्घको विघटन र नेपाली जनयुद्ध


historyइतिहास– अर्जुन मल्ल
पूर्वीयुरोपका देशमा भएका कम्युनिस्ट नामधारी पार्टीहरूको नेतृत्वमा रहेका सत्ताहरूको विघटन र सोभियत सङ्घको विघटनले पनि माओवादी जनयुद्धको तयारीमा निकै ठूलो मद्दत ग-यो । यो विश्लेषण अचम्मलाग्दो हुनसक्छ र नेपाली जनयुद्धका विषयमा तयार पारिएका पचासौँ डिग्री र पीएचडीका थेसिस तथा विशेषज्ञ विश्लेषकहरूका लेखरचनामा पनि यो पक्ष केलाइएको छैन ।
नेकपा (एकता केन्द्र)मा सामेल प्रचण्ड पक्ष, निर्मल लामा पक्ष, रूपलाल पक्ष, बाबुराम पक्ष सबैको विश्लेषण थियो कि सोभियत सङ्घ, चीन र पूर्वीयुरोपका ती देशहरूमा सत्तामा रहेका कम्युनिस्ट पार्टीहरू बुर्जुवा पार्टीहरूमा रूपान्तरण भइसकेका छन् र ती देशमा प्रतिक्रान्ति भएर नोकरशाही र फाशिष्ट पुँजीवादी व्यवस्था पुनस्र्थापना भइसकेका छन् । यसबाट कम्युनिस्ट पार्टी र सत्ताहरूले क्रान्तिकारी कम्युनिस्ट नीति परित्याग गर्न थाल्यो भने उनीहरूको पनि पतन हुन्छ र कम्युनिस्ट नेताहरू नै पनि बुर्जुवा जनविरोधी गद्दार नेतामा रूपान्तरण हुन सक्दछ भन्ने माओको विश्लेषण र कम्युनिस्ट पार्टी र समाजवादी सत्तामा प्रतिक्रान्ति हुनबाट जोगाउन समाजवादी सत्ता स्थापनापछि सर्वहारा सांस्कृतिक क्रान्ति अर्थात् निरन्तर क्रान्ति चलाउनुपर्छ भन्ने माओको प्रस्थापना व्यवहारत: नै प्रमाणित भयो । पूर्वी युरोप र सोभियत सङ्घका कथित समाजवादी सत्ताको विघटनले नेकपा (एकता केन्द्र)ले लिएको माओवादी सिद्घान्त सही रहेको प्रमाणित ग-यो जसले गर्दा क्रान्तिकारी नेता तथा कार्यकर्तामा आफ्नो माओवादी सिद्घान्तप्रतिको आस्था र विश्वास बढ्न गयो । जनयुद्धको वैचारिक तयारीमा यो निकै महत्वपूर्ण परिघटना थियो । आफ्नो सिद्धान्तप्रतिको दृढविश्वासबिना जनयुद्ध सम्भव थिएन ।
व्यावहारिक रूपमा पूर्वीयुरोपका नाम मात्रका समाजवादी सत्ताहरू ढल्नाले चलेको तानाशाहीविरुद्ध प्रजातन्त्रको लहरले नेपाललाई पनि छोयो र यस अन्तर्राष्ट्रिय परिघटना ०४६ सालको आन्दोलनका लागि महत्वपूर्ण सहयोगी बन्यो । जनआन्दोलन सफल भएर स्थापित बहुदलीय व्यवस्थाको खुला वातावरणको प्रयोग जनयुद्धको पक्षमा जनमत र सङ्गठन बनाउन राम्रोसँग भयो । जनयुद्धको पक्षमा खुलमखुला प्रचार र सङ्गठन गर्न पाउने ०४७ देखि ०५२ सम्मको अवधि बिनाजनयुद्ध सम्भव थिएन ।
साथै एमालेले पूर्वीयुरोप र सोभियत सङ्घमा समाजवादी सत्ता नै रहेको भन्ने विश्लेषण गरेकोले गर्दा ती देशहरूमा कथित समाजवादी सत्ता ढल्दा एमालेको वैचारिक धरातल कमजोर बन्न गयो र एमालेविरुद्ध जनताको ठूलो हिस्सा माओवादी जनयुद्धको पक्षमा सङ्गठित गर्न सजिलो बन्न पुग्यो ।
पूर्वीयुरोपको घटनाक्रम कस्तो थियो त ? ०४५ सालमा पोल्यान्डमा बेरोजगारी, महँगी आदि विषयलाई लिएर हडताल व्यापक रूपमा हुन थाल्यो । फलस्वरूप जेठ ०४६ मा पोल्यान्डको नाम मात्रको कम्युनिस्ट सरकारले गैरकम्युनिस्ट दलहरू पनि खोल्न दिन र बहुदलीय प्रतिस्पर्धासहितको चुनाव गराउन बाध्य भयो । जसमा गैरकम्युनिस्ट दलहरूको विजय भयो । यस नयाँ सरकारले १४ पुस ०४६ मा संसद्बाट बहुदलीय संसदीय व्यवस्था स्थापना गर्ने गरी संविधान संशोधन ग-यो ।
दोस्रो विश्वयुद्धपछि जर्मनीलाई पूर्वीजर्मनी र पश्चिमजर्मनी गरी दुई देशमा विभाजन गरी पूर्वीजर्मनीमा कम्युनिस्ट पार्टीको सत्ता र पश्चिममा पुँजीवादी सत्ता कायम गरिएकोमा पूर्वीजर्मनीको कम्युनिस्ट पार्टीले पनि क्रान्तिकारी सिद्धान्त परित्याग गर्दै गएपछि उत्पन्न गम्भीर आर्थिक समस्याले गर्दा जनतामा असन्तोष बढ्दै गयो र पूर्वी र पश्चिम बर्लिन (राजधानी) छुट्याउने गरी बनाएको बर्लिन पर्खाल जनआन्दोलनको निशाना बन्न पुग्यो । भदौ ०४६ बाट सुरु भएको जनआन्दोलनको दबाबले गर्दा पूर्वीजर्मनीको नाम मात्रको कम्युनिस्ट सरकारले २४ कात्तिक ०४६ मा पूर्वीजर्मनीका जनता पश्चिमजर्मनीमा निर्वाध रूपले जान सक्ने घोषणा ग-यो । यसै दिन पूर्वीजर्मनीका दशौँ हजार जनता त्यस कुख्यात बर्लिन पर्खाल चढेर पश्चिमजर्मनीतर्फ पुगे । बर्लिन पर्खालको पश्चिममा पश्चिमजर्मनीका जनसमुदायले उनीहरूको भव्य स्वागत गरे । त्यसपछि सुरु भयो दुवै देशका जनता मिलेर कुख्यात बर्लिन पर्खाल भत्काउन । यो पर्खालसँगै पूर्वीजर्मनीको नक्कली कम्युनिस्ट सरकार पनि ढल्यो । १७ असोज ०४७ मा दुवै देश एकीकरण गरेर एउटै गैरकम्युनिस्ट देश जर्मनी बन्यो ।
रुमानियाको जनआन्दोलन भने अझ उग्र र हिंसात्मक बन्यो । १ पुस ०४६ बाट सुरु भएको जनआन्दोलनले रुमानियाली कम्युनिस्ट पार्टीका महासचिव तथा त्यहाँका राष्ट्रपति निकोलाई चाउचेस्कुलाई राजधानी छाडेर भाग्न बाध्य बनायो । भाग्दै गरेका राष्ट्रपति र उनकी श्रीमती जो उपप्रधानमन्त्री पनि थिइन्, लाई उनकै प्रहरीले ७ पुसमा गिरफ्तार गरेर एक सैनिक क्याम्पमा कैद ग-यो । जनआन्दोलनको नेतृत्व गरेको राष्ट्रिय मुक्ति मोर्चाको नयाँ सरकारले ९ पुसमा एक सैन्य अदालत गठन ग-यो । १० पुसमा २ घन्टाको बहसपछि त्यस सैन्य अदालतले ती दुवैलाई मृत्युदण्डको फैसला सुनायो र तत्कालैै उनीहरूलाई गोली हानी मृत्युदण्ड दिइयो ।
पोल्यान्डबाट सुरु भएको यस प्रजातान्त्रिक लहर पूर्वीयुरोपका सबै नाम मात्रका समाजवादी देशहरूमा फैलियो र एकपछि अर्को समाजवादी सत्ता ढल्यो । यस घटनाक्रम बुझ्न वीरगञ्ज चिनी कारखाना, जनकपुर चुरोट कारखाना, साझा यातायात आदि बुझे पुग्ने हुन्छ । यी संस्थाहरू सरकारी स्वामित्व (जनताको स्वामित्व, सामूहिक स्वामित्व)मा रहेका थिए भन्दैमा समाजवादी स्वामित्वको भन्न मिल्छ ? मिल्दैन । किनभने ती संस्थाहरू डुबे तर त्यहाँका हाकिम कर्मचारीहरू भने धनी भए । माओले त्यस्तोलाई नोकरशाही (कर्मचारी) पुँजीवाद भने । तर, सोभियत सङ्घको कम्युनिस्ट पार्टीले स्टालिनको मृत्युपछि त्यहाँका समाजवादी उद्योग व्यवसायलाई जनकपुर चुरोट कारखाना, साझा यातायात, शानेवानिजस्ता संस्थामा बदलेर त्यस्तो अर्थतन्त्रलाई नै समाजवाद भन्न थाले र जनतामा लाद्न थाले । जसबाट अर्थतन्त्र हाँक्दै आएका हाकिम कर्मचारी कम्युनिस्ट नेताहरूप्रति तीव्र असन्तोषको लहर चल्यो र नाम मात्रका समाजवादी सत्ताहरू ढले, यहाँको दलविहीन र शोषणविहीन पञ्चायती समाजवाद त्यसैबेला ०४६ सालमा ढलेजस्तै । पञ्चायती प्रजातन्त्रले पनि शोषणविहीन समाज (साम्यवाद ?) स्थापना गर्ने लक्ष्य आफ्नो संविधानमै लेखेको थियो ।
जनअसन्तोषको लहर चीनमा पनि चल्यो । चैत ०४५ मा राजधानी बेइजिङमा सुरु भएको जनप्रदर्शनमा दशौं लाख जनताले भाग लिने गरी विशाल बन्दै गयो । माओको २४ भदौ ०३३ मा निधन भएपछि ०३५ देखि देङ सियाओ पिङको नेतृत्वमा चीनमा पनि पुँजीवादको पुनस्र्थापना सुरु भएको थियो । यसको परिणामस्वरूप उत्पन्न तीव्र बेरोजगारी, महँगी, मुठ्ठीभर मानिस धनी बन्दै जानु र करोडौँ जनता गरिब बन्दै जानु आदि कारणले जनताले सरकारविरुद्ध प्रदर्शन बढाउन थाले । यसलाई दबाउन देङले ट्याङ्कसहित तीन लाख लालसेना राजधानीमा उता-यो र दशौँ लाख जनताको प्रदर्शन दबायो, जसमा एक हजारभन्दा बढी विद्यार्थी र मजदुर मारिए । यस घटनाले चीनमा प्रतिक्रान्ति भएर पुँजीवाद पुनस्र्थापना भएको भन्ने नेपालका माओवादीको निष्कर्ष व्यवहारमा सत्य सावित भयो ।
सोभियत सङ्घ पनि तीव्र आर्थिक सङ्कट र जनअसन्तोषले गर्दा ११ पुस ०४८ मा विघटन भयो । पूर्वीयुरोप र सोभियत सङ्घमा १९५६ पछि क्रमश: प्रतिक्रान्ति भएर नोकरशाही पुँजीवादको स्थापना भएकाले त्यसको पतन अनिवार्य छ भन्ने माओको विश्लेषण यी घटनाले प्रमाणित ग-यो । माओवादको विश्वव्यापी सैद्धान्तिक वैचारिक विजयले जनयुद्धको आधार पनि तयार भयो । भारतमा ०२७ सालदेखि चल्दै आएको भाकपा (माले) (पिपुल्स वार) समूह र माओवादी कम्युनिस्ट सेन्टरको जनयुद्ध, श्रीलङ्कामा लिट्टेको छापामार युद्ध, भारतकै उल्फाले आसाममा चलाइरहेको छापामार युद्ध पनि नेपालका माओवादीहरूका लागि प्रेरणाको स्रोत बन्यो ।
पेरूमा ४ जेठ २०३७ देखि सुरु भएको जनयुद्ध नेपालमा जनयुद्धको लागि धेरै ठूलो प्रेरणाको स्रोत बन्यो । २७ भदौ ०४९ मा पेकपाका अध्यक्ष गोन्जालोको गिरफ्तारीको बेलासम्म पेरूमा जनयुद्धले विशाल ग्रामीण पहाडी क्षेत्रमा आधार इलाकाहरू निर्माण गर्दै जनयुद्धको तेस्रो निर्णायक चरण रणनीतिक प्रत्याक्रमणमा प्रवेश गरिसकेको थियो । गोञ्जालोको गिरफ्तारीविरुद्धको अभियान स्वयम् नेपालमा जनयुद्धको बृहत् वैचारिक तयारी बन्न पुगेको थियो । माओका योगदानहरूलाई माक्र्स र लेनिनकै बराबरीमा माओवाद भनेर संश्लेषण गर्ने श्रेय गोञ्जालोलाई नै जान्छ । विश्वव्यापी रूपमा कम्युनिस्टहरू सङ्कटमा परेको बेला माओको भन्दा भिन्न ढङ्गले कसरी जनयुद्ध सुरु गर्न सकिन्छ भन्ने पनि गोञ्जालोले नै पथप्रदर्शन गरे । यसबाट नेपालका जनयुद्ध सुरुवातकर्ताहरूले धेरै कुरा सिके ।