६०१ जना नालायक कारिन्दा र वर्तमान नेपाल

६०१ जना नालायक कारिन्दा र वर्तमान नेपाल


-देवी वर्मा
अन्तत: नेपाल भनिने देशका यी ६०१ जना ‘नालायक कारिन्दाहरू’ले जनादेशविपरीत संविधानसभाको म्याद थपेरै छाडे । यतिले मात्र नपुगेर वर्तमान संविधानसभाको सबैभन्दा ठूलो दल एनेकपा माओवादी र झलनाथ खनाल समूहको एमालेसमेत मिलेर ०६८ जेठ १४ का दिन पुन: संविधानसभाको म्याद थप गर्ने गृहकार्यमा लागिसकेको तथ्य पनि नेपाली राजनीतिको सतहमा निर्ल्लजतापूर्वक देखापरिसकेको छ । ‘संविधान नबनेसम्म संविधानसभाको म्याद जारी नै रहने’ भन्ने आशयको सर्वोच्च अदालतको फैसला माओवादी र झलनाथ समूहका लागि ‘बाख्रीको पुच्छर काटे बोकालाई सञ्चो’ हुन पुगेको छ । प्रश्न छ- यस्तो ठाडै ‘राजनीतिक फैसला’ गर्ने आँट र अधिकार सर्वोच्च अदालतलाई कसरी र कहाँबाट प्राप्त भयो ? यी र यस्ता प्रकृतिका राजनीतिक फैसला गर्दा कुनै पनि राजनीतिक दलसँग असंपृक्त निष्पक्ष नेपाली जनताका नजरमा सर्वोच्च अदालतको प्रतिष्ठा र गरिमा कहाँ पुगेको छ ? प्रजातान्त्रिक व्यवस्थामा जनताको ‘जनादेश’ सर्वोपरि हुन्छ । नेपाली जनताले आउँदा दिनहरूमा ठाडै जनादेशको अवज्ञा गर्ने यी राजनीतिक दलका नेताहरू (?) लाई कस्तो पुरस्कार वा दण्डको तजबिज गर्लान् ? हेर्न बाँकी नै छ । यदि यी पाखण्डी नेताहरू (?) नेपाली जनताको अदालतबाट दण्डित भएनन् भने नेपाली जनतालाई स्व. गणेशमान सिंहकै शब्दावलीमा ‘………को धूप हाल्ने जनता’ भनेर पुन: भन्नुपर्ने नै हो त ?
अर्को विडम्बना, यस देशका उपराष्ट्रपति परमानन्द झाले नेपाली भाषामै शपथ गर्नु नपर्ने भनी नेपालका ‘बुख्याँचाहरू’ले सगर्व ‘लोकतान्त्रिक गणतन्त्रवादी’ घोषणा गरे । सर्वोच्च अदालतमा न्यायाधीश भएर स्वयम् आफैंले नेपाली भाषामा शपथग्रहण गरेका मात्र नभएर अरूलाई समेत ‘शपथ खुवाउने’ ओहोदामा पुगिसकेका उपराष्ट्रपति (?) झालाई यस्तो दुस्साहस कहाँबाट र कसरी प्राप्त हुन गयो ? विगत ३/४ वर्षदेखि हालसम्मका नेपाली राजनीतिका अध्येताहरूलाई यी र यस्ता प्रश्नहरूको उत्तर खोज्न धेरै घोत्लिइरहनुपर्दैन ।
नेपालको भूराजनीतिक अवस्थितिलाई धेरै पहिले यस राष्ट्रका निर्माताले ‘दुई ढुङ्गाका बीचको तरुल’ नामकरण गरेको परिप्रेक्ष्यमा आज स्पष्ट शब्दावलीमा भन्ने हो भने नेपाल उत्तरतिरबाट ‘सिंह’ र दक्षिणतर्फबाट ‘ब्वाँसो’द्वारा परिवेष्ठित मुलुक हो । बडामहाराजाधिराज पृथ्वी नारायणशाहद्वारा एकीकृत यस नेपाली भूभागलाई त्यस्तो दूरदर्शितापूर्ण तवरले एकीकरण नगरिएको भए गोरखा, लमजुङ, मकवानपुर, काठमाडौं, भक्तपुर, पाटन, नुवाकोटजस्ता स-साना राज्यहरूमा विभक्त नेपाललाई भारतजस्तो मुलुक आफ्नो उपनिवेश बनाउन सक्ने ब्रिटिस साम्राज्यले किन र कसरी आफ्नो उपनिवेश बनाउन सकेन ? नालापानीको युद्धमा निर्ण्ाायक विजय हासिल गर्न नसके पनि त्यो युद्धको समाप्तिपछि नेपाली सेनाले प्रदर्शन गरेको शौर्य, बहादुरी र पराक्रमको स्वयम् ब्रिटिस सेनाका अधिकृतहरूले मुक्तकण्ठले प्रशंसा गरेको तथ्य इतिहासका पानामा मात्र होइन, अहिलेसम्म त्यहाँ रहेको शिलालेखमा पनि जीवन्त छ । यस्तै गौरवमय अतीतलाई श्रद्धापूर्वक स्मरण गरेर एकजना नेपालका सुप्रसिद्ध कवि, गीतकार, सङ्गीतकार, गायक तथा नेपाली सांस्कृतिक जगत्का अमर शिल्पी स्व. गोपाल योञ्जनले आफ्नो एउटा सुप्रसिद्ध र श्रुतिमधुर रचनामा यसरी वर्णन गरेका छन्:-
नेपाली † नेपालको माया छ कि छैन ?
हाम्रा पुर्खा टिस्टादेखि सतलजसम्म हाँक्ने
हामीचाहिँ बाँच्न अरूको मुख ताक्ने
काँधमाथि हिमाल बोक्ने तागत छ कि छैन ?
नेपाली † नेपालको माया छ कि छैन ?
सारा नेपाल नेपालीलाई छाया दिन सक्ने
‘पृथ्वी’को जत्रो त्रि्रो छाती छ कि छैन ?
-‘पृथ्वी'(बडामहाराजाधिराज)
धेरै खेल्यौ तिमी नेपालको छातीमाथि
त्रि्रो छातीभित्र पनि नेपाल छ कि छैन ?
नेपाली † नेपालको माया छ कि छैन ?
बडामहाराजाधिराजको नेतृत्वमा एकीकृत यस नेपाल राष्ट्रको भौगोलिक आकारलाई मुख्तियार बहादुर शाहले अझ विस्तार गरी यसको सिमाना पूर्वमा टिस्टा र पश्चिममा सतलज ? काँगडा) सम्म पुर्याएर छाडेको गौरवमय तथ्य पनि इतिहासका पानाहरूमा सगर्व अङ्कित छन् । आफ्ना प्रतापी पूर्वजहरूका यी वीरगाथाहरूले यदि कुनै नेपालीलाई रोमाञ्चित र प्रफुल्लित तुल्याउँदैन भने त्यो साँचो अर्थमा नेपाली कहलाउने योग्य छ र ? यिनै पाश्र्वभूमिमा नेपालका ‘एकजना सुयोग्य उत्तराधिकारी’ले एउटा महान् सांस्कृतिक क्रान्तिका माध्यमद्वारा नेपाललाई एउटै भाषा, भेष, मुद्रा अनि समग्रमा एउटै राष्ट्रिय संस्कृतिको सूत्रमा आबद्ध गरेको तथ्य पनि आज ‘नेपाली हुँ’ भन्ने प्रत्येकले हेक्का राख्नैपर्छ । नेपालको भौगोलिक एकीकरणपछि यस्तो सांस्कृतिक एकीकरण नगरिएको भए यो मुलुक धेरै पहिले नै… को एउटा ‘प्रान्त’ भइसकेको हुने थियो । केही पहिलेको एउटा सार्वभौमसत्तासम्पन्न राष्ट्र ‘सिक्किम’ यसको अनुभोक्ता अनि साक्षी हो ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दूरदर्शिता, पराक्रम, वैचारिक प्रखरता र युद्ध-कौशलका बारेमा अतीतमा धेरै इतिहासवेत्ताहरूले सगर्व उल्लेख गरेका छन् । राष्ट्रनिर्माताले यो राष्ट्र एकीकरण गर्दा गरेको कठोर परिश्रम र सङ्घर्षलाई आज सश्रद्धा स्मरण गर्दा लाग्छ- त्यस ऐतिहासिक शिखरपुरुषको जीवनको कुनै दिन सङ्घर्षरहित थिएन अनि कुनै पनि रात चिन्तामुक्त थिएन । त्यस महानायकलाई एकछिन स्मरण गरेर उनका योगदानका सामु एकछिन पनि नतमस्तक र कृतज्ञ हुन नमान्ने ‘कृतघ्नहरू’ अहिले त्यही शिखरपुरुषले आर्जेको भूमिमाथि उभिएर सङ्घीयताका नाममा यस राष्ट्रलाई विखण्डन गर्ने ताण्डवनृत्य गरिरहेका छन् ।
आज नेपाल राष्ट्रको शरीरबाट उसको प्राणदायिनी तत्त्व ‘आत्मा’ बाहिरिइसकेको छ अनि आत्माबिनाको त्यो मृतशरीरलाई क्षत-विक्षत् तुल्याउन गिद्ध, काग, स्याल र ब्वाँसाहरू चारैतिरबाट त्यस आत्माविहीन शवलाई लुछिरहेका छन् । जसले यस राष्ट्रको निर्माण मात्र गरेन, यस राष्ट्रको सम्मानपूर्ण छवि र चिनारी अन्तर्राष्ट्रिय जगत्सामु प्रस्तुत गर्यो तिनका सालिक र प्रतिमाहरू आज प्रतियोगितात्मक शैलीमा तोडिँदै छन् अनि जसले यस राष्ट्रको राष्ट्रिय र सांस्कृतिक एकता क्षत-विक्षत् तुल्याएर राष्ट्रलाई उपनिवेश बनाउने ‘महायज्ञ’मा आहुति दिँदै छन् तिनका सालिक र प्रतिमाहरू भने बडो गौरवका साथ नवनिर्माण भइरहेका छन् । यो विडम्बनापूर्ण दृश्यलाई नेपाली जनता निरीह भएर टुलुटुलु हेरिरहेका छन् । यो अवस्थाबाट नेपाललाई जोगाएर नेपालको राष्ट्रिय अखण्डता र गौरवलाई पुनर्स्थापित गर्न लागिपरेका २/४ जना कमल थापा, खुमबहादुर खड्का, चित्रबहादुर केसी, प्रदीप नेपाल, खड्ग ओलीजस्ता राष्ट्रभक्तहरूले आ-आफ्नै प्रकारले गरिरहेका सत्यप्रयासहरूको पनि म कुनै सुन्दर भविष्य देखिरहेको छैन । रह्यो- यो संविधानसभाले संविधान निर्माण गर्ने कुरा, त्यो गोरुले बाछी पाउला र त्यो बाछीले दूध देली अनि खाउँला भन्ने कल्पना गर्नुसरह हो । यी ६०१ जना ‘नालायक कारिन्दाहरू’ केवल नेपाली जनताको रगत र पसिनाले कमाएर तिरेको करको रकम हसुर्न मात्र जागिरे भएका हुन् । प्रधानमन्त्रीको निर्वाचन पनि ‘गिनिज बुक’मा दर्ता गर्ने लायकको लोमहर्षक प्रहसन भइसकेको छ ।
०४७ को संविधानलाई विश्वकै ‘सर्वोत्कृष्ट संविधान’ भनेर घोषणा गर्ने नेताहरू (?) मध्ये १/२ जनाबाहेक सबै जीवितै छन् । अन्तत: यो मुलुकले पुन: त्यही ०४७ को संविधानलाई पुनर्स्थापित गर्नैपर्छ भन्ने मेरो सुस्पष्ट ठहर छ । आईएनजीओका अनुदान हसुरेर ‘मानव अधिकारवादी’ र ‘बुद्धिजीवी’का बिल्ला भिरेरै बसेका नेपालका स्वनामधन्य मानव अधिकारवादी र बुद्धिजीवीहरू पनि नेपालको यस्तो खस्कँदो परिस्थितिप्रति किञ्चित पनि चिन्तित देखिँदैनन् । यस्तो भयावह परिदृश्य आज हामी नेपाली जनताका सामु उपस्थित छ । यी र यस्ता प्रसङ्गमा मलाई अझ धेरै कलम चलाउने तीव्र चाहना थियो । समय र परिस्थितिले भविष्यमा सुखद् बाटो समात्न सक्यो भने त्यसतर्फ पनि पङ्क्तिकार उचित समयमा पुन: क्रियाशील रहने बाचा गर्दै विश्राम चाहन्छ ।