त्रिभुवन आर्मी क्लब राष्ट्रिय च्याम्पियन

त्रिभुवन आर्मी क्लब राष्ट्रिय च्याम्पियन


sportविभिन्न चुनौती र उतारचढाव पार गर्दै ११औँ राष्ट्रिय तेक्वान्दो प्रतियोगिता पर्यटकीय नगरी पोखरामा सम्पन्न भएको छ । छोटो समयको बाबजुद पनि कास्की जिल्ला तेक्वान्दो सङ्घले उत्कृष्ट व्यवस्थापन र आयोजन गरेर प्रतियोगितालाई सफलताको मूर्तरूप दिन सफल भएको थियो । दुई दिनसम्म सञ्चालन भएको उक्त राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै आर्मीलाई टिम च्याम्पियन अर्थात् राष्ट्रिय च्याम्पियन बनाउन सफल भएका थिए । चर्चित ओलम्पियन संगीना वैद्यको प्रशिक्षणमा रहेको आर्मीले प्रतियोगितामा दबदबा बनाउँदै सम्भावित च्याम्पियन नेपाल प्रहरी क्लबलाई पछि पारेको थियो । यसअघि प्रहरीलाई प्रतियोगिताको च्याम्पियनको रूपमा हेरिँदै आए पनि केही सनसनीपूर्ण खेलमा प्रहरीका खेलाडी पराजित भएपछि आर्मी च्याम्पियन बनेको हो । आर्मीले यो प्रतियोगितामा ६ स्वर्ण, एक रजत र नौ कास्य गरी कुल १६ पदक जितेको थियो ।
राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सुदूरपश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल र पूर्वाञ्चल गरी पाँच विकास क्षेत्र र तीन विभागीय टोलीमा त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी क्लब र एपीएफ क्लबको सहभागिता रहेको थियो । विभागीय टोलीको वर्चश्व रहेको उक्त प्रतियोगितामा यी तीनै टोलीबीच कडा प्रतिस्पर्धा भएको थियो । चर्चित राष्ट्रिय खेलाडीले भरिपूर्ण विभागीय टोलीको फाइनल भिडन्त अत्यन्तै सनसनीपूर्ण रहेको थियो । नयाँ प्रविधि र नयाँ नियमबाट खेलाइएका कारण प्रतियोगितामा कसले बाजी मार्छ त्यो भन्न सकिने अवस्था थिएन । प्रतियोगिताको सबैभन्दा रोमाञ्चक र सनसनीपूर्ण खेल महिलातर्फको ४६ केजीमा भएको थियो । उक्त समूहको फाइनल खेल रेजिना कार्की (नेपाल प्रहरी) र राखी शर्मा (पश्चिमाञ्चल) बीच भएको थियो । पहिलो दुई राउन्डमा रेजिना ७–४ ले अघि रहे पनि खेलको अन्तमा राखीले उत्कृष्ट प्रदर्शन गर्दै नतिजा आफ्नो पक्षमा पारेकी थिइन् । राखीले ११–१० को अन्तरले रेजिनालाई सनसनीपूर्ण तरिकाले पराजित गर्दै पश्चिमाञ्चलको झोलीमा दोस्रो स्वर्ण हालेकी थिइन् ।
आठ पुरुष र आठ महिला गरी १६ समूहमा विभाजित गरी खेलाइएको राष्ट्रिय प्रयोगितामा एक सय ४४ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितमा विभागीय टिम र आयोजक पश्चिमाञ्चलले उत्कृष्ट प्रदर्शन गरे पनि सुदूरपश्चिम, मध्यपश्चिमाञ्चल र पूर्वाञ्चलले आफ्नो उपस्थितिलाई प्रभावकारी बनाउन सकेनन् । सुदूर र पूर्वाञ्चलका केही खेलाडी फाइनलमा पुगे पनि मध्यमाञ्चलले त्यो उपलब्धिसमेत हासिल गर्न सकेन । प्रतियोगितामा पूर्वाञ्चलले दुई रजत र सुदूर एक रजत पदक जितेका थिए भने मध्यपश्चिमाञ्चल कास्यमै चित्त बुझाउनुपरेको थियो । र पनि यो राष्ट्रिय प्रतियोगितामा उदीयमान खेलाडीले राष्ट्रिय खेलाडीलाई राम्रो टक्कर दिन सफल भएका थिए । नयाँ खेलाडीले राष्ट्रिय खेलाडीलाई पराजित गरेर उनीहरूलाई आगामी दिन गम्भीर रूपमा सोच्न बाध्य पारेका थिए । यो प्रतियोगितामा नेपाली सेनाका तारा रायमाझी, रोहित तामाङ र नेपाल प्रहरीकी राधिका श्रेष्ठ पराजित भएका थिए । वर्तमान अवस्थामा राष्ट्रिय टिमबाट प्रशिक्षण लिइरहेका यी खेलाडीको ठाउँ अब नयाँ खेलाडीले लिने पक्का भएको छ । यो कुराको उद्घोष नेपाल तेक्वान्दो सङ्घका महासचिव दीपराज गुरुङले गरेका हुन् । अब हरुवालाई होइन जित्नेलाई अवसर मिल्छ भन्दै गुरुङले हरुवा र जितुवा दुवैलाई कडा मिहिनेत गर्न भनेका थिए ।
११औँ राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा महिला ७३ केजीतर्फ नेपाली सेनाकी प्रतिमा भण्डारीले प्रतियोगिताकै पहिलो स्वर्ण पदक जित्दै आर्मीको खाता खोलेकी थिइन् । भण्डारीले नेपाल प्रहरीकी शर्मिला पुनमगरलाई पराजित गरेकी थिइन् । पुरुष ८७ केजीतर्फको फाइनलमा आर्मीकै दुई खेलाडी पूर्णबहादुरसिंह गुरुङ र प्रेम बुढाथोकी पुगेका थिए । उक्त भिडन्तमा बुढाथोकीले बाजी मारेका थिए । महिला ७३ केजीभन्दाको समूहमा नेपाल प्रहरीकी राधिका श्रेष्ठले मध्यमाञ्चलकी लक्ष्मी श्रेष्ठलाई पराजित गरेकी थिइन् । यसैगरी ८७ केजीमुनि पुरुषतर्फको भिडन्तमा नेपाली सेनाका रामहरि महतले एपीएफका लक्ष्मण श्रेष्ठलाई नकआउट गरेका थिए । महिला ६७ केजीमुनि पश्चिमाञ्चलकी रेकमाया गुरुङले एपीएफकी सम्झना तामाङलाई पराजित गर्दै पश्चिमाञ्चलको खातामा पहिलो स्वर्ण हालेकी थिइन् । त्यस्तै ८० केजी पुरुषतर्फ नेपाल प्रहरीका अनोज पुजाराले सुदूरका ओमजंग सिंहलाई र महिला ६२ केजीतर्फ नेपाल प्रहरीकी मनिता शाहीले मध्यमाञ्चलकी प्रतिमा राईलाई पराजित गरेकी थिइन् ।
यसैगरी ५७ केजी महिलातर्फ नेपाली सेनाकी ज्ञानी चुनारा र ७४ केजी पुरुषतर्फ सेनाकै रामदत्त भट्ट विजयी भएका थिए । उनीहरूले क्रमश: यशोदा खड्का पूर्वाञ्चल र भरत बोहोरा एपीएफलाई पराजित गरेका थिए । त्यस्तै, ६८ केजी पुरुषतर्फको भिडन्तमा एपीएफका आशीष महर्जनले प्रहरीका निश्चल श्रेष्ठलाई पराजित गरेका थिए । ५३ केजी महिलातर्फको प्रतिस्पर्धामा नेपाल प्रहरीकी सीता तामाङले पश्चिमाञ्चलकी तारा जीसी र ४९ केजी महिलातर्फ आर्मीकी यानकुमारी चौलागाईंले पश्चिमाञ्चलकी प्रशंसा क्षेत्रीलाई पराजित गरेकी थिइन् । ६३ केजी पुरुषतर्फको फाइनलमा दुवै एपीएफका खेलाडी पुगे पनि सुजन जोशीले अनिल मोक्तानलाई पराजित गरेका थिए । त्यस्तै पश्चिमाञ्चलका स्वर्ण पदकका दाबेदार जोर्डनविक्रम श्रेष्ठलाई नेपाल प्रहरीका रञ्जन श्रेष्ठले पाखा लगाएका थिए भने महिला ४६ केजीमा पश्चिमाञ्चलकी राखी शर्माले प्रहरीकी रेजिना कार्कीलाई पराजित गरेर सनसनी फैलाएका थिए । त्यस्तै प्रतियोगिताको अन्तिम खेलमा अर्थात् पुरुष ५४ केजीतर्फ मध्यामाञ्चलका अरुण अधिकारीले पूर्वाञ्चलका नेत्र कार्कीलाई रोमाञ्चक खेलमा पराजित गर्दै मध्यमाञ्चलका लागि पहिलो स्वर्ण जितेका थिए ।
प्रतियोगितामा ‘बेस्ट प्लेयर’ पुरुषतर्फको उपाधि मध्यमाञ्चलका अरुण अधिकारी र महिलातर्फ सेनाकी देवी चुनाराले जितेकी थिइन् । उनीहरूलाई अर्जुन ममोरियल तेक्वान्दो ट्रस्टअन्तर्गत प्रायोजक देवु गुरुङ र हरिश पोखरेल नगद २५ हजार नगद र ट्रफी प्रदान गरेका थिए । त्यस्तै सुदूरपश्चिमले अनुशासित टिमको उपाधि प्राप्त गरेको थियो । उनीहरूलाई तेक्वान्दोका उपाध्यक्ष कल्याण तिम्सिनाको संयोगकत्वमा बनेको पाँच सदस्यीय छनोट समितिले छनोट गरेको थियो । प्रतियोगिताका विजयी खेलाडीलाई तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशमशेर राणा, महासचिव दीपराज गुरुङ आयोजक कमिटीका अध्यक्ष जगनबहादुर गुरुङलगायतका महानुभावले पुरस्कार प्रदान गरेका थिए । सो अवसरमा सङ्घका महासचिव दीपराज गुरुङले पर्यटन नगरी पोखराले पर्यटन व्यवसायलाई मात्र नभई खेलकुदलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका थिए । खेलकुद नै पर्यटन विकासको मुख्य आधार भएकाले खेलकुदलाई पोखराबासीले आत्मसात् गर्नुपर्ने बताए । त्यस्तै गुरुङले सहभागी सबै टोलीलाई यो विजय साथीसँग मात्र भएको बुझाउँदै विदेशहरूसँग विजयी हुन निकै कडा मिहिनेत गर्नुपर्ने बताएका थिए । मिहिनेत गरेका छौँ, ठीकै छ, तर यो मिहिनेतले अन्तर्राष्ट्रियस्तरमा सफलता पाउन नसक्ने दाबी गरेका थिए । त्यस्तै आयोजक कमिटीका अध्यक्ष जगनबहादुर गुरुङले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै आउँदो प्रतियोगिता योभन्दा व्यवस्थित तरिकाले गर्ने बताएका थिए ।

आयोजना, सहभागिता, चुनौती र सफलताबारे के भन्छन् प्रशिक्षक
बद्री बस्नेत (प्रशिक्षक आर्मी)
खेलाडीलाई खेल्ने अवसर प्राप्त हुने भएकाले प्रतियोगिता हुनु राम्रो कुरा हो । राष्ट्रिय प्रतियोगिताले खेलाडीको उत्कृष्टताको मापन गर्ने भएकाले यस्तो प्रतियोगिता निश्चित समयमा गर्नुपर्छ । जसको तयारीका लागि पूर्ण समय मिलाउन पनि सजिलो हुन्छ । यो प्रतियोगितामा आर्मीका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन्, टिमलाई च्याम्पियन बनाएका छन् । यो हाम्रा लागि सुखद र चुनौतीको पाटो बनेको छ । भविष्यमा यस्तै सफलता दोहो-याउन अझै कडा प्रशिक्षण गर्नुपर्ने देखिएको छ । त्यसको तयारीका लागि यो विजय हाम्रा खेलाडीका लागि प्रेरणा र प्रोत्साहन बन्ने मेरो विश्वास छ ।

टोनिल कर्माचार्य प्रशिक्षक (एपीएफ)
११औँ राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुनु आफँैमा राम्रो पक्ष हो । यसले खेलाडीको मनोवृत्ति र विकासमा टेवा पु-याउने कार्य गरेको छ । यो प्रतियोगितामा निकै राम्रा खेलाडीको सहभागिता रहेकाले खेलाडीको स्तरको जाँच गर्न मद्दत पुगेको छ । यही प्रतियोगिताबाट आगामी दिनको रणनीति बन्ने भएकाले मैले यसलाई अवसरको रूपमा लिएको छु । यो प्रतियोगितामा एपीएफले सोचेबमोजिमको प्रदर्शन गर्न नसके पनि आगामी दिनमा तेस्रो नभई प्रथम हुने उद्देश्यका साथ अघि बढ्ने छौँ । जसका लागि खेलाडीको प्रशिक्षणमा विशेष जोड दिनेछौँ ।

केशव भट्ट प्रशिक्षक (सुप)
राष्ट्रिय प्रतियोगिता निश्चित ठाउँ र तोकिएको समयमा हुनुपर्छ । वर्षको एकपटक मात्र नभई यस्तै किसिमका खेलाडीको स्तरवृद्धि हुने अन्य प्रतियोगिता पनि समय–समयमा हुनपर्छ । अझ राष्ट्रिय प्रतियोगिता राजधानी र राजधानीनिकटका सहरमा मात्र केन्द्रित नगरी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हुनुपर्छ । प्रतियोगितामा सहभागिता मात्र नभई चुनौती दिन हामी आएका हौँ । सबै टिम जित्नका लागि खेल्ने भएकाले हाम्रो रणनीति त्यही हो । यो प्रतियोगितामा सोचेअनुरूपको सफलता हासिल गर्न नसके पनि त्यसलाई हामीले पाठको रूपमा लिएका छौँ, भविष्यमा योभन्दा राम्रो प्रदर्शन गर्न र सफलता प्राप्त गर्ने कोसिस गर्नेछौँ । यसका लागि सम्बन्धित निकायको सहयोगको अपेक्षासमेत गरेका छौँ ।

लक्ष्मण ऐर प्रशिक्षक (एनपीसी)
राष्ट्रिय प्रतियोगिताको आयोजना हुनु आफैँमा उत्कृष्ट कुरा हो । निकट भविष्यमै पोखरामा एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दोको आयोजना हुन लागेकोले ११औँ राष्ट्रिय तेक्वान्दोको आयोजना पूर्वाञ्चलतर्फ गर्न सकिएको भए अझ राम्रो हुन्थ्यो । र पनि आयोजना प्रशंसनीय छ, यसका लागि म जगन गुरुङलाई धन्यवाद दिन चाहन्छु । प्रतियोगिताबारे समग्रमा भन्नुपर्दा एनपीसीले सबै इभेन्टमा सहभागिता नजनाए पनि उत्कृष्ट प्रदर्शन गर्न सफल भएको छ । प्रतियोगितामा अन्य टिमभन्दा एनपीसी उत्कृष्ट हुँदाहुँदै पनि दोस्रो भएको छ, यसलाई हामीले गम्भीर रूपमा लिएका छौँ । भविष्यमा यी सम्पूर्ण कमिकमजोरीको ख्यालगरी पुन: च्याम्पियन बन्नेतर्फ लाग्नेछौँ । भविष्यमा एनपीसी च्याम्पियन बन्ने कुरामा म विश्वस्त छु ।

फणेन्द्र खड्का (प्रशिक्षक पूर्वाञ्चल)
खेलाडीको स्तरवृद्धिका लागि राष्ट्रिय प्रतियोगिताको अहम् भूमिका हुने भएकाले मैले यो प्रतियोगितालाई निकै सकारात्मक रूपमा लिएको छु । यसपटक एस्ट्रा खेलाडी पनि ल्याउन पाउने व्यवस्था भएकाले अर्को उत्कृष्ट खेलाडीले पनि खेल्ने अवसर पाएको छ । यो एकदमै राम्रो कुरा हो । प्रतियोगितामा सहभागिताबिना खेलाडीले आफ्नोस्तरमा सुधार ल्याउन नसक्ने भएकाले हामीले सफलतासँगै सहभागितालाई पनि उत्तिकै महत्व दिएका छौँ । यो प्रतियोगितापश्चात् हामीले खेलाडीको कमी–कमजोरीबारे पनि थाहा पाएका छौँ । आगामी दिनमा त्यसलाई सुधार गरी राम्र्रो प्रदर्शन गर्ने कोसिस गर्नेछौँ ।

तेक्वान्दाको विकासका लागि रोडम्याप चाहिन्छ
– जगनबहादुर गुरुङ अध्यक्ष
(कास्की जिल्ला तेक्वान्दो संघ)
लामो समयदेखि तेक्वान्दो खेलको विकासमा अहोरात्र खटेका अर्थात् तेक्वान्दोका धरोहरको रूपमा चिनिने जगनबहादुर गुरुङ यतिबेला ११औँ राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको सफल आयोजना गरेर चर्चाको शिखरमा छन् । छोटो समय अर्थात् करिब दुई साताअघि मात्रै पाएको जिम्मेवारीलाई उनले कुशलतापूर्वक निभाएका थिए । प्रतियोगितालाई सफलताको लाहमोहर लगाउन दिनरात एउटै बनाएका उनैै कास्की जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष गुरुङसँग घटना र विचारले गरेको कुराकानी :
० सफलताका साथ ११औँ राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सम्पन्न गर्नुभएको छ, यो प्रतियोगिता पोखरामा आयोजना हुनुलाई कसरी लिनुभएको छ ?
– यो सबै नेपाल तेक्वान्दो सङ्घको विश्वास र कास्की जिल्ला तेक्वान्दो सङ्घको प्रयासले सम्भव भएको हो । राष्ट्रिय प्रतियोगिता पोखराले गर्न सक्छ भन्ने केन्द्रको आत्मविश्वासले ११औँ तेक्वान्दो प्रतियोगिताको आयोजना पोखरामा भएको हो । जसमा अहिले हामी खरो उत्रिएका छौँ । राष्ट्रिय प्रतियोगिताको सफलतापूर्वक आयोजना गरेर देखाइदिएका छौँ । यसलाई हामीले गर्वको रूपमा लिएका छौँ । यो सफल आयोजना आगामी दिनमा तेक्वान्दोका लागि ‘कोसेढुङ्गा’ सावित हुने मेरो विश्वास छ ।
० कुनै पनि खेलको ‘मेरुडण्ड’ राष्ट्रिय प्रतियोगितालाई मानिन्छ, यो राष्ट्रिय प्रतियोगिताको आयोजन र व्यवस्थापन निकै फितलो देखियो यसलाई तपार्इंले कसरी आत्मसात् गर्नुभएको छ ?
– काम गर्दा केही कमी–कमजोरी अवश्य हुन्छन्, जो यो प्रतियोगितामा पनि भएका छन्, यसलाई म स्वीकार्छु पनि । दुई साताको छोटो समयमा प्रतियोगिताको आयोजना
गर्नुपरेकाले प्राविधिक पक्षमा केही कमजोरी अवश्य देखिए हो । नयाँ प्रविधिबाट प्रतियोगिता आयोजना हुनु सकारात्मक पक्ष भए पनि त्यसको व्यवस्थापनबारे आयोजक कमिटीलाई त्यति जानकारी नहुनुले त्यस्तो समस्या आएको हो । यदि हामीले यो प्रविधिबारे समयमै सूचना पाएको भए उचित व्यवस्था गर्ने थियौँ । अहिले हामीले यो कमजोरीबाट ठूलो पाठ सिकेका छौँ, भविष्यमा त्यसलाई मध्यनजर राखेर अगाडि छौँ ।
० अहिले यो प्रतियोगिताको निकै चर्चा–परिचर्चा भइरहेको छ, खेलाडी, प्रशिक्षक र पदाधिकारीमा कस्तो सन्देश भएको महसुस गर्नुभएको छ ?
– अन्य खेलको राष्ट्रिय प्रतियोगिता हुँदा त चर्चा हुन्छ भने तेक्वान्दोको हुँदा नहुने त कुरै भएन । यो राष्ट्रिय प्रतियोगितामा तेक्वान्दोका उदीयमान खेलाडी, चर्चित राष्ट्रिय खेलाडी र अन्तर्राष्ट्रियस्तरमा पदक जितिसकेका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । अझ हामीले छोटो समयमा पाएको ठूलो जिम्मेवारीलाई सफलता साथ निभाएर सहभागी सबैको मन जित्न सफल भएका छौँ । जसले प्रतियोगितामा सहभागी सबै टोलीमा राम्रो सन्देश गएको छ । यसले खेलाडी, प्रशिक्षक र पदाधिकारीमा नौलो जोस, जाँगर र उत्साह पैदा गरेको मैले महसुस गरेको छु ।
० पोखराले दुईपटक तेक्वान्दोको राष्ट्रिय प्रतियोगिताको आयोजना गरिसकेको छ, तर पोखरामा तेक्वान्दोको आफ्नै कुनै संरचना नदेखिनु कारण के होला ?
– यही सत्यतालाई आत्मसात् गर्दै म विगत दुई वर्षदेखि यसै कार्यका लागि तल्लीन भएर लागेको छु । जसका लागि अहिले २० लाख रुपैयाँ आर्थिक सङ्कलन भइसकेको छ । तालिम हल र अफिसको डिजाइनको अन्तिम तयारी भइरहेकाले उक्त कार्य सकिनासाथ भौतिक संरचनाको निर्माण लाग्नेछौँ । मेरो भित्री चाहना र लक्ष्य पनि यही नै भएकाले म मेरो कार्यकालमा नै यसलाई सार्थक बनाउनेपट्टि दिनरात एउटै बनाएर लागेको छु । समयले साथ दियो भने आगामी केही महिनापछि पोखरामा आयोजना हुन गइरहेको एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आफ्नै कार्यकक्षमा गर्ने मेरो लक्ष्य छ ।
० राष्ट्रिय प्रतियोगिताको आयोजना गर्न ठूलै रकमको आवश्यकता पर्छ, कहाँबाट जुटाउनुभयो बजेट ?
– हामीले राष्ट्रिय प्रतियोगिताका लागि १२ लाखको बजेट छुट्याएका थियौँ । जसमा नेपाल तेक्वान्दो सङ्घले नौ लाख २९ हजार दिएको थियो । बाँकी नपुग प्रायोजक र कास्की जिल्ला तेक्वान्दो सङ्घले हालेको थियो । समयको अभावले सोचेजति प्रायोजक नभेट्टाउँदा जम्मा एक लाख २५ हजार मात्र उठेको थियो ।
० तेक्वान्दोको समग्र विकासका लागि केन्द्रसँगको आपसी तालमेल र राखेपको भूमिका कस्तो हुनुपर्छ जस्तो लाग्छ ?
– तेक्वान्दोको विकासका लागि केन्द्र र जिल्लाको सम्बन्ध सुमधुर हुन निकै आवश्यक छ । केन्द्रले बीचको व्यक्तिबाट सम्पर्क गर्नुको सट्टा सीधै सम्पर्क गर्दा अझ राम्रो हुने थियो, सोझै कुरा गर्न पाइन्थ्यो । अर्को कुरा केन्द्रबाट जिल्लामा पदाधिकारी आउँदा साधारण सोधपुछभन्दा पनि बैठक नै बोलाएर जिल्लाका विविध विषयमा छलफल गर्दा राम्रो हुने थियो । त्यस्तै राखेपले पनि तेक्वान्दोको समग्र विकासमा दूरदर्शी भएर सोच्नुपर्ने भइसकेको छ ।
० नेपालमा तेक्वान्दोको भविष्य कस्तो देख्नुभएको छ, यसका लागि कस्तो दीर्घकालीन सोचको आवश्यकता छ, नेतृत्व वर्गलाई के भन्न चाहनुहुन्छ ?
– नेपालमा तेक्वान्दो अत्यन्तै सम्भावना भएको खेल हो । राम्रो वातावरणको सिर्जना हुन सक्यो भने ओलम्पिकसम्म पदक जित्न सक्ने खेलको रूपमा मैले तेक्वान्दोलाई देखेको छु । यसका लागि सर्वप्रथम जिल्लालाई बलियो पार्नुपर्छ, अनि मात्र विभागीय टिमलाई टक्कर दिन सक्छ । जिल्लामा नियमित प्रशिक्षण र भौतिक संरचनाको विकास गर्नु अहिले आवश्यक भइसकेको छ । जबसम्म जिल्लाका खेलाडीले प्रगति गर्न सक्तैनन् तबसम्म तेक्वान्दोको विकास र विस्तार हुन सक्तैन । यो विषयप्रति सङ्घ गम्भीर हुन आवश्यक भइसकेको छ । अहिले जिल्लाको अवस्था निकै दयनीय छ । उचित वातावरणको अभावमा खेलाडीले चाहेर पनि खेल्न पाएका छैनन् । जुन तेक्वान्दोका लागि दुर्भाग्य बन्दै गएको छ ।
० विगतको भन्दा अहिले तेक्वान्दोको स्तर घटदै जानु र अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट प्रदर्शन गर्न नसक्नुको कारण के होला ?
– राजनीतिक चलखेलका कारण तेक्वान्दोमा नकारात्मक असर परेको पक्कै हो । जसले गर्दा यो खेलको विकास र विस्तारमा तगारो लागेको थियो । तर, अहिले सबै क्लिन छ, विवादरहित छ । त्यसैले संस्था र टिमलाई बलियो बनाउने हो प्रशिक्षण विभागदेखि लिएर सङ्घमा राजनीति गर्न दिनुहुँदैन । वर्तमान अवस्थामा सङ्घले तेक्वान्दो विकासका लागि ‘डोर टु डोर’ कार्यक्रम सञ्चालन गर्नु तेक्वान्दोमा नयाँ लहर आएको छ । अझ यो राष्ट्रिय प्रतियोगितामा नयाँ खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका कारण तेक्वान्दोको काँचुली फेरिने कुरामा म विश्वस्त छु ।
० तेक्वान्दो खेलको विकास विस्तारका लागि राज्यले कस्तो रणनीति अख्तियार र सहयोग गर्नुपर्लाजस्तो लाग्छ ?
– जो खेलिरहेका खेलाडी छन् तिनीहरूलाई सर्वप्रथम सम्बन्धित निकाय राखेप र मुलुकले संरक्षण गर्नुपर्छ । यस्तो गरिएमा खेलाडीको हौसला बढ्छ र उनीहरूले सतप्रतिशत प्रदर्शन गर्न सक्छन् । अर्को कुरा तेक्वान्दोको विकासको लागि दीर्घकालीन सोच बनाएर योजना बनाएर लाग्नुपर्छ । रोडम्याप स्पष्ट भयो भने अगाडि बढ्न गाह्रो हुँदैन ।

खेलकुदका कार्की केन्द्रिय सदस्य निर्वाचित
राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टी विचको एकता महाधिवेशनबाट नया युवाशक्तिले अवसर पाएका छन् । युवाहरुको काँधमा नया जिम्मेवारी थपिनु उत्साहजनक विषय हो । एकतापछि बनेको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अव जनताले केही अपेक्षा गर्न सकिने अवस्था आएको छ । विगत लामो समयदेखी नेपाली खेलकुदमा सक्रिय रहेका किशोरबहादुर कार्की पनि यो पार्टीको नया आशाका रुपमा देखा परेका छन् । नेपाल सुटिङ संघको अध्यक्ष रहदा पनि कार्कीले सुतेको अवस्थामा रहेको संघलाई पुर्नजीवन दिएका थिए । वर्षमा तीन वटा सम्म राष्ट्रिय स्तरका प्रतियोगिता कार्कीकै नेतृत्वमा मात्र सफल भएको थियो । खेलाडीहरुका लागी विदेशबाट अत्याधुनिक हतियार झिकाएर प्रतियागिता कार्कीकै नेतृत्व कालमा सम्भव भएको थियो ।
नेपाल ओलम्पिक कमिटिको कोठे निर्वाचनको विरोध गर्दै सर्वोच्चमा मुद्धा दायर गर्ने कार्की पहिलो खेल पदाधिकारी पनि हुन् । कार्कीले तय गरेको बाटो पहिल्याएकै कारण अहिले सर्वोच्च अदालतले समेत नेपाल आलम्पिक कमिटिलाई अवैधानिक समेत ठहर गरिदियो । कार्की राष्ट्रिय खेलकुद परिषदको सदस्य मात्र भएनन् कार्यवाहक सदस्य सचिव पनि भए । जुन बेला कार्कीले राष्ट्रिय खेलकुद परिषदमा रहेको पेश्की फछ्र्यौटको विषयलाई जोडदार रुपमा उठाएका थिए । कार्कीको नेतृत्वको नेपाल सुटिङ संघ दुइ पटक उत्कृष्ट संघ पनि बन्न सफल भएको थियो । खेलकुद क्षेत्रमा आफनो एउटा वेदाग छवी बनाएर अगाडी बढेका युवा ब्यक्तित्व आज राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय सदस्यमा विजयी भएका छन् । उनी सहित दर्जनौ युवाहरुले राप्रपामा अवसर पाएका छन । त्यसैले राप्रपा पनि अव युवाहरुले आश गर्ने पार्टीका रुपमा देखा परेको छ ।