बजेट कुम्ल्याउन चलचित्र महोत्सव

बजेट कुम्ल्याउन चलचित्र महोत्सव


funtimeमहोत्सवको आयोजना किन र कसका लागि गरिन्छ ? जवाफ सहज छ– जुन विषयको महोत्सव गरिन्छ, त्यसप्रति जनचासो बढाउनु महोत्सवको उद्देश्य हुनुपर्छ । अनि त्यसको प्रचारप्रसार हुँदा त्यसको बारेमा सकारात्मक सन्देश जानुपर्छ । त्यसो भएमा मात्र महोत्सवको सार्थकता झल्किन्छ ।
तर, एउटा महोत्सव यस्तो हुन लागेको छ कि यो महोत्सवको आयोजनाले सीमित व्यक्ति मात्र मोटाउने र उनीहरूले सजिलै चलखेल गर्न पाउने भएका छन् न कि जुन विषयको महोत्सवले त्यो क्षेत्रमा खासै प्रभाव पार्ने छैन । सीधै भन्नुपर्दा जनताको करबाट चलेको रकमको दुरुपयोग गर्दै बजेट कुम्ल्याउन प्रस्तुत महोत्सवको आयोजना हुन लागेको कुरा घामजस्तै छर्लङ्ग भएका छ अब ।
प्रसङ्ग हो चलचित्र विकास बोर्डले शनिबार, आइतबार र सोमबार तीन दिन धरानमा गर्न लागेको चलचित्र महोत्सव । यो महोत्सव किन गरिँदै छ ? यसबारे चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैता आफैँ अनविज्ञ छन् । न त यो समय विकास बोर्ड स्थापनाको वार्षिक समय हो न त कुनै ऐतिहासिक दिन हो नेपाली चलचित्रको । बिनाअर्थ, तुक अनि उद्देश्यले गर्न लागिएको तीनदिने चलचित्र महोत्सवको यतिबेला चलचित्रकर्मीहरू नै खुलेर विरोधमा उत्रिएका छन् । असारभित्र बजेट सकाउनुपर्ने र नसकाएमा फ्रिज भएर उल्टै मन्त्रालय फर्कने डर र लोभका कारण झारा टार्न आयोजना गर्न लागिएको चलचित्र महोत्सवको उपलब्धि शून्यप्राय: हुने निश्चित छ । यो महोत्सवमा सहभागी हुने व्यक्तिहरू बढी गैरचलचित्रकर्मी हुने भएकाले पनि विशुद्ध चलचित्रकर्मी भने चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैताले आफ्ना आसेपासेलाई महोत्सवमा काम दिएर उनीहरूले आफ्ना लागि लगाएको गुन तिर्न सजिलो माध्यम बनाएको आरोप सिनेकर्मीहरूले लगाएका छन् । सिनेमा नचलेर निर्माताहरू घर न घाटको अवस्थामा छन् । नेपाली सिनेमा चलाउने हलहरू दिनदिनै बन्द भइरहेका छन् । ‘त्यसतर्फ चलचित्र विकास बोर्डको वास्ता छैन तर बजेट कुम्ल्याउन बेमौसमको महोत्सव गरेर के गर्न खोजेको… ?’ एक चलचित्रकर्मीको आक्रोश छ ।
धर्मेन्द्र मरवैता चलचित्र विकास बोर्डको अध्यक्ष बन्दा धेरै विरोध भयो उनको । विकास बोर्डमा छिर्न नदिने अड्डी कसेकाहरू यतिबेला अध्यक्षको नजिकको मान्छे बनेका छन् भने उनलाई साथ दिनेहरू पराई भइरहेको अवस्थामा अब मरवैताको विकास बोर्डप्रति हेर्ने नजर सकारात्मक नभएको स्पष्ट भएको छ । ‘जीवनभर चलचित्र क्षेत्रमा बस्नेलाई पो भोलि चलचित्रकर्मीले के भन्लान् भन्ने चिन्ता हुन्छ र उसले बुझेर काम गर्छ तर बोर्डलाई महरा बनाउनेलाई के मतलब नेपाली सिनेमाको भविष्यको । आफ्नो समय हुञ्जेल कुम्ल्याउने योजनामा आएका अध्यक्षबाट अब आशा नगरौँ– चलचित्रकर्मीहरूको गुनासो छ ।
महोत्सवमा सहभागी हुन प्लेन चढ्ने मामिलामा पनि घोटाला भएको छ । आफ्नो तारिफ गर्ने र वरिपरि घुम्नेलाई अध्यक्षले प्लेनमा चढाएर लैजाने भएका छन् भने अरूहरूलाई काठमाडौंबाट सीधै धरानसम्म गाडीमा । उनले सिनेकर्मीहरूलाई पनि सहभागी हुन जानैपर्छ भन्ने आग्रहसहितको होइन कि आए आओस् नआए नआओस् भन्ने मनसायको पत्र लेखेका छन् । जाबो सम्बोधनमा पनि कन्जुस गर्ने चलचित्र विकास बोर्डका अध्यक्षको महोत्सव कस्तो होला ? सहजै अनुमान लगाउन सकिन्छ । एक सातामा चार–चारवटा सिनेमा जुधेर निर्माताहरू धोती न टोपीको अवस्थामा छन्– यतातिर बोर्डको ध्यान छैन र यो कुरालाई समन्वय गरेर अगाडि बढ्ने सोच उनमा छैन । तर, आएको बजेट बिनाकारण फजुल खर्च गरेर उडाउनमा नै व्यस्त देखिन्छन् उनी । यसतर्फ सञ्चार मन्त्रालय पनि सजग हुने कि ? बिनाकारण, बिनाअर्थ र बिनाउद्देश्य गरिएको कुनै पनि कामको परिणाम सकारात्मक आउँदैन र यसले दूरगामी रूपमा पनि सकारँत्मक प्रभाव पार्दैन । त्यसकारण यस्ता अर्थहीन कार्यक्रमको आयोजनाले सीमित व्यक्ति र सीमित स्वार्थलाई फाइदा त पुग्ला तर चलचित्र क्षेत्रमा यसको अगुवाइ गर्नेको नाम जहिले पनि धब्बाकै रूपमा हुने गर्छ । यो महोत्सवले अब अझै धेरै चलचित्रकर्मी र चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैताबीचको दूरीमा लामै धर्को र ठूलो खाडल सिर्जना हुने देखिन्छ । चलचित्रको विकास र विस्तार गर्न सरकारले दिएको बजेटको गलत र फजुल खर्च गरेर प्लेन, रक्सी र होटल बसाइमा खर्च गर्दा भोलिको परिणाम कस्तो आउँला ? अध्यक्षलाई चेतना भया…।

बेलायतमा गोर्खा टीभीको नयाँ काम
अब बेलायतमा बस्ने नेपालीले नेपालबाट प्रसारण हुने टेलिभिजनहरू प्रत्यक्ष रूपमा हेर्न पाउने भएका छन् । त्यसैको चाँजोपाँचो मिलाउन करिब एक महिनादेखि गोर्खा टीभी बेलायतका एक सदस्य अमन गौचन यतिबेला नेपालमा छन् । बेलायतमा हुने विभिन्न नेपाली सांस्कृतिक कार्यक्रमको आयोजक अमन गौचनका अनुसार एभिन्युज टेलिभिजन, हिमालय टेलिभिजन, माउन्टेन टेलिभिजन, एबीसी टेलिभिजन र भक्ति टेलिभिजनलगायत आठवटा नेपाली च्यानलको पहुँच अब गोर्खा टीभीमार्फत बेलायत पुग्ने भएको छ । ‘यसमा दामभन्दा पनि आफ्नो मुलुकको भाषा, कला र संस्कृतिलाई विदेशमा रहेका नेपालीमाझ पु-याउनु नै हाम्रो उद्देश्य हो,’ अमनले भने ।
भावी पुस्तालाई आफ्नो आमा–बाबुको मुलुक र त्यसको भाषालाई ज्ञात गराउन यो कार्यले विशेष भूमिका खेल्ने कुरा अमनले बताए । उतै जन्मिएका बच्चाहरू नेपालप्रति अनभिज्ञ छन् । यो कार्यले उनीहरूले आफ्नो बुबाआमाको जन्मभूमिबारे धेरै कुरा थाहा पाउनेछन् । ‘विदेशी संस्कृतिप्रति मस्त भइसकेका नेपालीलाई नेपाली संस्कृतिप्रति मोह जगाउनु हाम्रो मूल उद्देश्य हो,’ गौचनले भने ।
उनका अनुसार बेलायतबाट सुरु भएको यो कार्य क्रमश: अन्य मुलुकहरूमा पनि पु-याइनेछ । अमनका अनुसार हाल बेलायतमा आधिकारिक रूपमा ४५ हजार परिवार बसोबास गर्छन् । ‘उनीहरूप्रति नै हाम्रो यो कार्य लक्षित हो,’ गोर्खा टीभीका गौचनले भने ।

निशाले चुमिन् सगरमाथा
यतिबेलाकी चर्चित एवम् व्यस्ततम् नायिका निशा अधिकारीको परिचय अहिले फराकिलो हुन थालेको छ । कुनै समय टेलिभिजनको कार्यक्रमहरूमा कार्यक्रम प्रस्तोताको रूपमा चिनिएकी निशा त्यसपछि सिनेमाको हिरोइन बनिन् । यो क्षेत्रमा नाम र दाम दुवैमा सफलता हात पारेपछि नामलाई विशेष प्राथमिकता दिने सोचका साथ अगाडि बढेकी निशा नेपाली सिनेमा क्षेत्रमै सगरमाथाको चुचुरोमा पुग्ने पहिलो अभिनेत्री बनेकी छिन् । करिब ४५ दिनको यात्रा तय गरेपछि उनी सगरमाथाको चुचुरोमा पुगिन् र उनले कलाकार सङ्घको झन्डा फहराइन् । अहिले सिनेमा क्षेत्रमा निशाको चर्चा निकै गरम भइरहेको छ । आफ्नो उद्देश्य पूरा भएकोमा दङ्ग निशा आगामी दिनमा पनि सिनेमाको कामका साथै अन्य क्षेत्रमा पनि फरक काम गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्छिन् ।