न्युयोर्कदेखि लन्डन अब दुई घन्टामै

न्युयोर्कदेखि लन्डन अब दुई घन्टामै


न्युयोर्कबाट लन्डन यात्रा गर्ने यात्रीका लागि राहतको खबर छ । हाल न्युयोर्कबाट लन्डनसम्म पुग्न ८ घन्टा लाग्छ, तर भविष्यमा यही यात्रा छोट्टिएर जम्मा २ घन्टामा पूरा गर्न सकिनेछ । यस्तो चमत्कार गर्दै छ अमेरिकी विमान निर्माता कम्पनी बोइङले । बोइङ कम्पनीले आवाजको गतिभन्दा पाँच गुणा तीव्र गतिमा उड्ने हाइपरसोनिक विमान निर्माणको तयारी गरेको छ । आगामी केही वर्षमा यस कार्यले सार्थकता पाउने बताइएको छ ।

एटलान्टामा आयोजित ‘अमेरिकन इन्स्टिच्युट अफ एयरोनाटिक्स एभिएसन २०१८’ सम्मेलनमा उक्त विमानको सङ्कल्पना सार्वजनिक गरिएको हो । बोइङ कम्पनीले यस सपनालाई यथार्थमा बदल्न रातदिन एक गरेर काम गरिरहेको छ । प्रशान्त महासागरलाई जम्मा तीन घन्टामै छिचोल्न सक्ने उक्त विमान आजसम्मकै तेज मानिएको कङ्कर्ड विमानभन्दा कैयन गुणा तीव्र गतिको हुनेछ ।

प्रतिघन्टा चार हजार माइलको गति क्षमताको उक्त सुपर हाइपरसोनिक प्लेन आकाशमा ९५ हजार फिट माथि उड्नेछ, किनकि सो उचाइमा हावाको दबाब अत्यन्त कम हुन्छ भने त्यति उचाइमा अन्य विमान नपुग्ने भएकोले ढुक्कले उडान भर्न पनि सकिन्छ । सामान्यतया विमानहरू ३० हजार फिटको उचाइमा उड्दछन् ।