नेपालमा उच्च रक्तचापको अवस्था र नियन्त्रणका उपाय

नेपालमा उच्च रक्तचापको अवस्था र नियन्त्रणका उपाय


नेपालमा उच्च रक्तचापको अवस्था-सम्झना शाक्य
नेपालमा उच्च रक्तचाप, हृदयाघात, मधुमेह, उच्च कोलेस्टेरोलजस्ता नसर्ने खालका रोगहरू दिनानुदिन बढ्दै गइरहेका छन् । यस्ता रोगहरूले बिरामीलाई तत्कालै शिथिल नपारे पनि बिस्तारै नकारात्मक असरहरू गराउँछन् । यी रोगका असरहरू शारीरिक रूपमा मात्र सीमित नभई मानसिक, आर्थिक र सामाजिक रूपमा पनि जटिल हुन्छन् । जस्तो हामी कल्पना गर्न सक्दछौँ कि उच्च रक्तचापको कारणले ४० वर्षको कुनै व्यक्तिलाई पक्षाघात भयो भने के-के असर होला? पक्कै पनि शारीरिक र मानसिक व्यथाका साथसाथै ऊ रोजगारी गर्न असक्त हुनेछ । ऊसँग आश्रति परिवारको समेत बिचल्ली हुनेछ । यसलाई बृहत् रूपमा बुझ्ने हो भने यसले सिङ्गो राष्ट्रलाई नै अशक्त पार्छ । तर, समयमा नै उपचार गराउने हो भने त्यस्ता नकारात्मक अवस्थाहरूको रोकथाम सम्भव छ ।
मुटु तथा रक्तनलीका विभिन्न रोगहरूमध्ये उच्च रक्तचाप संसारमा नै सबैभन्दा बढी देखिएको समस्या हो । नेपालमा सन् १९८१ मा काठमाडौंमा गरिएको एक अध्ययनमा उच्च रक्तचाप ६ प्रतिशतमा देखिएको थियो (पाण्डे, सन् १९८१) । हालका वर्षहरूमा गरिएका उच्च रक्तचापसम्बन्धी अध्ययनहरूअनुसार हाम्रो देशमा १८ वर्षभन्दा माथिका वयस्कहरूमा २० प्रतिशतभन्दा बढीलाई उच्च रक्तचापको समस्या देखिएको छ । सन् २००६ मा भएको एक अध्ययनअनुसार १९.७ प्रतिशतमा उच्च रक्तचाप भेटिएको थियो, तर तीमध्ये ४१ प्रतिशतलाई मात्र आफू रक्तचापको रोगी भएको कुरा थाहा भएको, ती थाहा भएकाहरूमध्ये पनि २६ प्रतिशतले मात्र उपचार गराइराखेका र केवल ६ प्रतिशतको मात्र उच्च रक्तचाप नियन्त्रणमा रहेको पाइयो (शर्मा, सन् २००६) । यस्तैगरी भर्खरै एक कार्यालयमा गरिएको अध्ययनअनुसार ३४ प्रतिशतमा उच्च रक्तचाप भेटियो (शाक्य, सन् २०१०) । यी माथिका अध्ययनहरूबाट निम्न कुराहरू पुष्टि हुन्छ । पहिलो, नेपालमा उच्च रक्तचाप बढ्दै गइरहेको छ । दोस्रो, आधाभन्दा बढी मानिसलाई आफू उच्च रक्तचापको बिरामी हुँ भन्ने कुराको ज्ञान छैन । तेस्रो, थाहा भईकन पनि धेरै व्यक्तिमा उपचारको महत्त्वको बारेमा ज्ञान नभएको र उपचार गर्नमा हेलचेक्र्याइँ भएको देखिन्छ । यसबाट समग्रमा हामी भन्न सक्दछौँ कि नेपालको उत्पादनमूलक जनसङ्ख्या यस रोगको चपेटामा परेका छन् । समयमा नै आवश्यक पहल नगर्ने हो भने निकट भविष्यमा नै यसले ठूलो स्वास्थ्य सङ्कट निम्त्याउनेछ ।
उच्च रक्तचापको परिचय
मुटुबाट रगत पम्प भएर शरीरका सम्पूर्ण भागहरूमा सञ्चालन हुने क्रममा रगतले रक्तनलीहरूमा एक प्रकारको चाप पैदा गर्छ, यसलाई नै रक्तचाप भनिन्छ । १२० कामुनि ८० भन्दा कमको रक्तचापलाई सामान्य रक्तचाप भनिन्छ ।
सामान्य रक्तचाप १२० को मुनि ८० भन्दा कमको रक्तचापलाई सामान्य रक्तचाप भनिन्छ ।
उच्च रक्तचापको पूर्वावस्था १२० देखि १३९ को मुनि ८० देखि ८९ सम्मको रक्तचापलाई रक्तचापको पूर्वावस्था भनिन्छ ।
उच्च रक्तचाप १४० का मुनि ९० वा सोभन्दा बढी भएको रक्तचापलाई उच्च रक्तचाप भनिन्छ ।
आधाभन्दा बढी उच्च रक्तचापका बिरामीहरूमा यसको कुनै लक्षण नदेखिन सक्छ । लक्षण भए पनि वा नभए पनि यसको उपचार तथा नियन्त्रण गर्नुपर्छ । अन्यथा, मस्तिष्क, मुटु, मिर्गौला तथा आँखाजस्ता महत्त्वपूर्ण अङ्गहरूमा क्षति पुग्न गई मानिस अपाङ्ग हुने तथा ज्यानैसमेत जान सक्छ । टाउको दुख्ने, आँखा धमिलो हुने, चक्कर लाग्ने, मुटु ढुकढुकी बढ्ने आदि उच्च रक्तचापका केही प्रमुख लक्षणहरू हुन् ।
उच्च रक्तचाप नियन्त्रणका उपायहरू
ड्ड नुन कम खाने
उच्च रक्तचाप भएका बिरामीहरूले सकेसम्म कम मात्रामा नुनको सेवन गर्नुपर्छ । नुन कम खाने भन्ने कुरा सरल सुनिए पनि यसका लागि बिरामी चनाखो हुनु जरुरी छ । नुन कम भन्नाले अत्यधिक मात्रामा नुन प्रयोग गरिएका खानेकुराहरू जस्तै, सिसीको अचार, चीज, पापड, ससेजजस्ता खानेकुराहरू सकेसम्म खानुहुँदैन । त्यस्तैगरी नुन र्छर्केर वा थपेर खाने बानी गर्नुहुँदैन । हरिया सागसब्जीमा आपैमा लवण तत्त्वहरू हुने हुँदा नुन नहालीकन पकाएर खान पनि सकिन्छ । यसका अलावा सबै नुन नुनिलो नै हुन्छन् भन्ने छैन, जस्तै पिँजयुक्त पेय पदार्थहरू, सोडा प्रयोग गरेर बनाएका खानेकुराहरू, प्रिजरभेटिभ्स प्रयोग गरिएका खानेकुराहरूमा पनि नुनिलो नभए तापनि नुनको मात्रा रहने हुँदा यस्ता खानेकुराहरू पनि सकेसम्म कम खानुपर्छ ।
ड्ड चिल्लो कम खाने
चिल्लो कम भन्नाले तेलमा डुबाएर पकाएका, तारेका खानेकुराहरू खानुहुँदैन । साथै जनावर जन्य चिल्लो पदार्थहरू जस्तै घ्यू, बोसो, छाला, चीज, बटरजस्ता खाद्यपदार्थहरू सकेसम्म कम खानुपर्छ ।
ड्ड नियमित व्यायाम गर्ने
उच्च रक्तचापका रोगीहरूले हरेक दिन कम्तीमा आधा घन्टा चलायमान खालका कुनै व्यायामहरू गर्ने गर्नुपर्छ । चलायमान खालका व्यायाम भन्नाले हिँड्ने, दगुर्ने, पौडी खेल्ने, डोरी खेल्नेजस्ता क्रियाकलापहरू पर्छन् । नियमित व्यायामले रक्तचापलाई सन्तुलित राख्न मद्दत गर्छ । यसले मानसिक तनाव कम गर्नुका साथै वजन नियन्त्रण गर्न पनि मद्दत गर्दछ । यस अलावा विभिन्न अध्ययनहरूले नियमित व्यायाम गर्ने उच्च रक्तचापका रोगीहरूमा औषधिले समेत राम्ररी काम गरेको तथ्य प्रमाणित गरेका छन् । यसैले उच्च रक्तचाप भएका बिरामीहरूले नियमित व्यायाम गर्नु अत्यन्तै महत्त्वपूर्ण छ ।
ड्ड वजन कम गर्ने
मोटोपना भएका मानिसहरूमा उच्च रक्तचाप हुने सम्भावना धेरै हुन्छ । आफ्नो बढी भएको वजन कम गर्दा बढी भएको रक्तचाप पनि कम हुन जान्छ । यसैले उच्च रक्तचाप भएका बिरामीहरूले बढी भएको वजन घटाएर वाञ्छनीय वजन कायम राख्नुपर्छ । खानपानको पथ-परहेज र नियमित व्यायामद्वारा वजन कम गर्न सकिन्छ ।
ड्ड नियमित औषधिको सेवन
उच्च रक्तचापको उपचारमा नियमित औषधिको सेवन अत्यन्तै महत्त्वपूर्ण हुन्छ । तर, यो विषय आज सबैभन्दा ठूलो चुनौतीको रूपमा रहेको छ । धेरैजसो बिरामीहरू नियमित औषधि खान हिचकिचाउने तथा बीचैमा औषधि छोडिदिने गर्छन्, जुन कुरा आफूले आपै+mलाई धोका दिनुसिवाय अरू केही होइन ।
जनमानसमा नियमित औषधि सेवनसम्बन्धी केही गलत अवधारणाहरू रहेको पाइन्छ । पहिलो, औषधि खाएमा बानी पर्छ भन्ने धारणा । तर, यसमा हामीले बु झ् नुपर्ने कुरा के हो त भन्दा औषधि नखाएमा उच्च रक्तचापको कारणले विभिन्न समस्याहरू जस्तै मिर्गौलाले काम नगर्ने, पक्षाघात हुने आदि हुन सक्दछ । एक चक्की औषधिले यस्ता सबै नकारात्मक असरहरूबाट बचाउँछ भने के त्यो ठीक होइन त? दोस्रो शङ्का औषधिको साइडइफेक्ट हुन सक्दछ भन्ने विषयमा हो । पक्कै पनि हरेक औषधिको सकारात्मक र नकारात्मक असर हुन सक्छन्, जुन व्यक्तिपिच्छे फरक हुन सक्दछ । त्यसैले फाइदा र बेफाइदा केले जित्छ भनी चिकित्सकसँग सल्लाह गरी आपना लागि कुन औषधि सुहाउँछ त्यही औषधि खान सकिन्छ ।
अर्को कुरा, उच्च रक्तचाप नियन्त्रण गर्न प्रयोग गरिने औषधिहरू विभिन्न अध्ययन-अनुसन्धानबाट लाभप्रद छन् भनी प्रमाणित गरिएका औषधिहरू हुन् । यसबाहेक एलोप्याथीबाहेकका अन्य चिकित्सा विधिबाट उपचार गर्दा साइडइफेक्ट हुँदैन र रोग चटक्कै निको हुन्छ भन्ने धारणा पनि पाइन्छ । यसमा हामीले बुझ्नुपर्ने कुरा के हो भने यो रोग चटक्कै निको हुने रोग होइन । साथै जुनसुकै तरिकाबाट उपचार गरे पनि नियमित अनुगमन गरी आफ्नो रक्तचाप सामान्यमा राख्नु पहिलो प्राथमिकता हो । त्यस अलावा आफूले प्रयोग गरिरहेको उपचार विधिबारेमा राम्ररी अध्ययन-अनुसन्धान भई फाइदाजनक भनी पुष्टि भएको विधि हुनु जरुरी छ ।
ड्ड नियमित फलोअप जाँच
उच्च रक्तचाप भएका बिरामीहरूमा रोगको व्यवस्थापनका हिसाबले देखिएको अर्को समस्या भनेको फलोअप जाँचको कमी हो । उच्च रक्तचाप भएका बिरामीहरूले चिकित्सकले भनेबमोजिम नियमित रक्तचाप जाँच गर्ने र फलोअप गर्ने गर्नुपर्छ । घरीघरी चिकित्सक परिवर्तन गर्ने गर्नु हुँदैन । आफूले विश्वास गरेको चिकित्सकसँग नियमित फलोअपमा बस्नुपर्छ । यसका साथै यस्ता बिरामीहरूले नियमित रूपमा कोलेस्टेरोलको जाँच गर्ने, आँखाको जाँच गर्ने, पिसाबमा माइक्रोअल्बुमिनको जाँच गर्ने आदि गर्नु पनि महत्त्वपूर्ण हुन्छ ।
ड्ड राज्यको दायित्व
उच्च रक्तचाप कुनै व्यक्ति वा उसको परिवारको मात्र समस्या होइन । यो र यस्तै खालका रोगहरू आज स्वास्थ्य क्षेत्रमा देखिएको जल्दोबल्दो चुनौती हो । राष्ट्रबाट पनि जनचेतना बढाउने खालका कार्यक्रमहरू लागू गरिनुपर्छ । त्यस्तै गरी उच्च रक्तचाप नियन्त्रण गर्नका लागि प्रयोग गरिने औषधिहरू बिरामीले जीवनपर्यन्त खाइरहनुपर्ने र यस्ता औषधिहरूले भविष्यमा हुन सक्ने नकारात्मक असरहरूबाट जोगाउने हुँदा यस्ता औषधिहरूमा विशेष छुटको व्यवस्था गरी सम्पूर्ण उच्च रक्तचाप भएका बिरामीहरूको पहुँच सुनिश्चित गर्नुपर्छ । त्यति मात्र नभई राज्यले स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने र बिरामीहरूलाई यस्ता रोगहरूसम्बन्धी स्वास्थ्य सेवा छरितो रूपमा उपलब्ध गराउन सकेमा यो रोगको नियन्त्रण सहज र सम्भव हुन्छ ।
अन्तमा, नेपालमा उच्च रक्तचाप बढ्दै गइरहेको छ । त्यसमाथि पनि यस रोगसम्बन्धी जनचेतनाको कमी छ । उच्च रक्तचापको असर व्यक्तिमा मात्र सीमित रहन सक्दैन । यसले सिङ्गो राष्ट्रलाई नै असर गर्छ । यसको सम्बन्ध शारीरिक र मानसिक असरमा मात्र नरही सिङ्गो राष्ट्रको अर्थतन्त्रसँग समेत जोडिएको छ । समाजमा व्याप्त रहेका गलत धारणाहरूलाई जनचेतनामूलक कार्यक्रमको उज्यालोमार्फत सत्यतथ्य कुरालाई जनमानस समक्ष र्छलङ्ग पार्नु आजको प्रमुख आवश्यकता हो । हरेक नागरिक आफ्नो स्वास्थ्यप्रति सचेत हुनु नै यस्ता रोगहरूको नियन्त्रणका लागि मूल कडी हो ।