भ्रष्टाचारको अभियोग लागेका पाकिस्तानका पुर्वप्रधानमन्त्री नवाज शरिफलाई दश बर्षको जेल सजायको फैसला गरिएको छ । इस्लामावादमा रहेको एक अदालतले पूर्व प्रधानमन्त्री शरिफलाई कारावासको फैसला गरेको हो ।
लामो समयदेखि चर्चामा रहेको पानामा पेपर्समा सार्वजनिक भएको सूचनाअनुसार लाभप्रद व्यवसायमा देशबाहिर परिवारको संलग्नतामा लगानी गरेको र त्यसको विवरण आफ्नो सम्पत्ति विवरणमा नदेखाएको आरोप शरिफमाथि थियो ।
सरिफलाई दशवर्षे जेल सजायसँगै एक करोड अमेरिकी डलर जरिवाना पनि तोकिएको अदालतले जनाएको छ । यही जुलाई २५ मा हुन लागेको निर्वाचनको पुर्वसन्ध्यामा भएको यो फैसला अर्थपूर्ण भएको वकीलहरूले बताएका छन् ।
श्रीमतीको उपचारका लागि पुर्वप्रधानमन्त्री शरिफ अहिले बेलायतको लण्डनमा छन् । उनकी श्रीमती क्यान्सर रोगबाट पीडित छिन् । शरिफ गत वर्ष सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्री पदबाट अपदस्त भएका थिए । उनलाई आगामी दिनमा राजनीतिक गतिविधि गर्न पनि प्रतिबन्ध लगाइएको छ ।
सरिफमाथि लागेको आरोपको शरिफ र उनका समर्थकहरुले अस्वीकार गर्दै आइरहेका छन् । उनीहरूले राजनीतिक प्रतिशोधका आधारमा शरिफमाथि गलत अभियोग लगाइएको दावी गर्दै आएका छन् ।
पाकिस्तानमा अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले आफ्नो पाँचवर्षे कार्यकाल पूरा गर्न सकेका छैनन् । धेरैजसो प्रधानमन्त्रीका कार्यकाल पूरा हुनुपूर्व नै सेना वा अदालतको हस्तक्षेपमा बाहिरिनुपरेको पाकिस्तानी इतिहास छ ।
प्रतिक्रिया