एनओसी विवादको समाधान विधान संशोधन

एनओसी विवादको समाधान विधान संशोधन


sportनेपाल ओलम्पिक कमिटीको विवादले शिखर चुमेपछि समाधानका लागि एउटा ‘रोडम्याप’ तयार पारिएको थियो । उक्त ‘रोडम्याप’ अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)का प्रतिनिधि मिसेल फिलिक र ओलम्पिक कमिटी अफ एसिया (ओसीए) प्रतिनिधि हैदर फरमानको उपस्थितिमा बनेको थियो । जसअन्तर्गत उक्त रोडम्यापमा पहिलो बुँदामा सङ्घहरूको विधान बनाउने र अनुमोदन गर्ने, दोस्रो बुँदामा विधानसम्मत सङ्घहरूको निर्वाचन गर्ने र तेस्रो बुँदामा निर्वाचित सङ्घहरूको प्रतिनिधिबाट एनओसीको निर्वाचन गर्ने उल्लेख गरिएको थियो । जसमा तत्कालीन एनओसीका अध्यक्ष रुक्मशमशेर राणा, उपाध्यक्ष किशोरबहादुर सिंह र महासचिव ध्रुवबहादुर प्रधानकोे सहमति रहेको थियो ।
०५४ मा नेपाल ओलम्पिक कमिटीको विधान राष्ट्रिय निर्देशन ऐनअन्तर्गत गृह मन्त्रालयमा दर्ता गरिएको थियो । त्यस्तै सङ्घसंस्था ऐनअन्तर्गत राखेपमा ५३ नम्बरमा दर्ता गरिएको छ । रुक्मशमशेर राणाको नाममा दुवै ठाउँमा दर्ता भएको एनओसीको विधानमा देखिएका कमी–कमजोरीलाई हटाउन पछि यसलाई परिमार्जित गर्ने निर्णय गरिएको थियो । त्यसपछि एनओसीको विधान आईओसी र ओसीएलाई मान्य हुनेगरी संशोधनका लागि आईओसीमा पठाइएको थियो । आईओसीले एनओसीको विवादलाई मध्यनजर राख्दै तीन रङमा विधान संशोधन गरेर पठाएको थियो । जसमा रातो, पहेँलो र हरियो रंगको प्रयोग गरिएको थियो । जसमा रातो रङले मार्क गरिएकोमा अनिवार्य संशोधन हुनुपर्ने, पहेँलो रङले मार्क गरिएकोमा आईओसी र एनओसी अर्थात् दुवैले संशोधन गर्न पाउने र हरियो रङले मार्क गरिएकोेमा तिमीहरू जस्तो चाहन्छौ त्यस्तै गर भन्ने थियो । आईओसीले संशोधन गरेर पठाएको विधान कार्यसमितिमा छलफल भए पनि व्यवहारमा लागू नभई निर्वाचनमा गएपछि एनओसीमा विवादको विजारोपण भएको थियो ।
एनओसीको निर्वाचनको केही साता पहिले नै आईओसीले २४ वटा सङ्घको नाम जनरल एसेम्बीमा भोटर्सको रूपमा पठाएको थियो । स्मरण छ, आईओसीले भोटर्सको नाम पठाएपछि त्यसलाई हटाउन र काँटछाँट गर्न मिल्दैन । तर विडम्बना, भयो त्यस्तै । अध्यक्ष प्रधानले टेबुलटेनिसका महासचिव कमल चित्रकारको नाम काटेर भोटर्स लिस्टमा अर्कैको नाम राखिदिए । जुन ओलम्पिकको विधानविपरीत थियो । त्यतिबेला निर्वाचनका लागि सबै सङ्घहरूलाई पत्राचार गरिए पनि चित्रकारलाई भने बहिस्कार गरिएको थियो । यसपछि प्रधानको यो कार्य विधानविपरीत भएको भन्दै चित्रकारले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । जुन यद्यपि कायमै छ । योभन्दा अगाडि तत्कालीन सुटिङ सङ्घका अध्यक्ष किशोरबहादुर कार्कीले पुनरावेदन अदालतमा अवैधानिक निर्वाचनको
खारेजीका लागि मुद्दा दायर गरेका थिए । प्रधानले कार्कीलाई पाखा लगाउँदै पुष्पदास श्रेष्ठलाई भोटिङ राइट्स दिएपछि अदालतले चुनाव रोक्न अन्तरिम आदेश जारी गरेको थियो । अदालतको आदेशको समेत अपहेलना गर्दै गरिएको उक्त निर्वाचनमा पछि दुवैलाई सहभागिता गराइएको थिएन । कशोरको मुद्दा अहिले पनि यथावत् रहेको छ ।
ओलम्पिकको विवादको आगो चुलिँदै जाँदा त्यसमा घ्यू थप्ने काम तत्कालीन सदस्यसचिव जीवनराम श्रेष्ठले गरेका थिए । श्रेष्ठले विधानविपरीत थुप्रै राष्ट्रिय सङ्घको विघटन गरेर नयाँ खेलको शुभारम्भ गरेका थिए । श्रेष्ठले सङ्घ विघटन गर्ने क्रममा काङ्ग्रेसका पदाधिकारीलाई पाखा लगाउँदै एमालेनिकटका व्यक्तिलाई सङ्घमा भिœयाएका थिए । यसरी श्रेष्ठ विघटन गर्ने र प्रधानले नयाँलाई मान्यता दिने कार्यले ओलम्पिक विवाद पराकाष्टामा पुगेको थियो । एनओसीमा राज गर्न उनीहरूले चालेको यो कदम समग्र नेपाली खेलकुदका लागि दुर्भाग्य बने पनि श्रेष्ठ र प्रधानका लागि भने निकै उपलब्धिमूलक बनेको छ । जसको साहारामा उनीहरू अहिले पनि सङ्घहरूको काँधमा बन्दुक राखेर पड्काइरहेका छन । उनीहरूको यो अवैधानिक हर्कत राज्यदेखि खेलकुदका सम्पूर्ण निकाय मूकदर्शक बनेर हेर्न बाध्य भएका छन् ।
ओलम्पिक कमिटीमा अहिले थुप्रै विवादित प्रसङ्ग भए पनि समाधानको हलभन्दा व्यक्तिगत स्वार्थपूर्ति गर्न अन्य विवादित प्रसङ्गलाई जन्माइएको प्रस्ट देखिएको छ । निर्वाचन हुनुपूर्व नै सहमति भइसकेका कुरालाई समेत पालना गरिएको छैन । निर्वाचनमा जानु पहिले पाँच विकास समितिका पाँचजना, पूर्वखेलाडी, उद्योगपति (खेलकुदलाई प्रायोजित गर्ने) व्यक्ति राख्ने थियो । तर, यसलाई पूर्णरूपमा बेवास्ता गर्दै प्रधान चुनावमा जानुले पनि ठूलो बखेडा खडा गरेको थियो । अर्को कुरा आईओसीले संशोधन गरेको विधानलाई तोडमोड गरेर आफ्नो सुविधा र अनुकूल बनाइनुले पनि प्रधानको उद्देश्यमाथि थुप्रै प्रश्न तेस्र्याएका छन् । जुन विधान एनओसीको कार्यसमितिको बैठकबाट पास हुनुपथ्र्यो तर त्यस्तो भएन । बरु उल्टै निर्वाचन हलमै सङ्घहरूका प्रतिनिधिहरूबीच हात उठाएर पास गरिएको थियो । यही गैरकानुनी र अवैधानिक कदमले गर्दा नेपालमा अर्को एनओसीको जन्म भएको थियो । पछि यिनै कुरालाई मध्यनजर गर्दै अर्थात् हतियार बनाउँदै रुक्मशमशेर राणाले प्रधान ओलम्पिक कमिटीको विरुद्धमा सर्वोच्चमा मुद्दा दायर गरेका थिए । अहिले सर्वोच्चले राणालाई वैधानिक र प्रधानलाई अवैधानिक भएको फैसला सुनाइसकेको छ । तर, समस्या भने ज्युँका त्युँ रूपमा रहेको छ ।
ओलम्पिक विवादको समाधानका लागि विभिन्न उपायको अवलम्बन नगरिएको पक्कै होइन । राज्यदेखि राखेपका पदाधिकारीहरूले बेलाबेलामा पहल गरेकै हुन् । तर, विडम्बना, अन्तर्राष्ट्रिय मान्यता र कानुनका अगाडि नेपालको कानुन र राज्यको केही सीप नलागेको सबैले जाने–बुझेकै कुरा हो । तसर्थ ओलम्पिक विवादका कारणले अन्तराष्ट्रमा नराम्रोसँग पछारिन पुगेको नेपालको खेलकुदको छविलाई पुनस्र्थापित गर्न दुवै ओलम्पिक कमिटीका पदाधिकारी जबसम्म मेलमिलापको वातावरणलाई अगाडि बढाउँदैनन् तबसम्म यो समस्या समाधान हुने देखिँदैन । यसका लागि को लचकताका साथ प्रस्तुत हुने त्यो अहिले अहम् विषय बनेको छ । राखेपले ओलम्पिक विवाद समाधानका लागि एन्फा अध्यक्ष गणेश थापाको संयोजकत्वमा एक कमिटी गठन गरे पनि त्यसले अहिलेसम्म उल्लेख्य सफलता पाउन सकेको छैन । न थापाले औपचारिक रूपमा प्रधानलाई भेट्न सकेका छन् भने न राणालाई । यस्तो अवस्थामा थापाको पहल बीचैमा तुहिने प्राय: निश्चित छ ।
तसर्थ जुँगाको लडाइँभन्दा आफ्नो घरमा सल्केको आगोलाई निभाउन आफैँले पहल गर्नु दुवै एनओसीका लागि बुद्धिमानी ठहरिनेछ । जसका लागि राष्ट्रिय निर्देशनालयमा दर्ता भएको विधानलाई दुवैले मान्नुपर्छ । अनि पुन: परिमार्जित र संशोधन गर्न एनओसीको विधानलाई आईओसी र ओसीएमा पठाउनुपर्छ । यसरी आईओसी र ओसीएले संशोधन गरेर पठाएको विधानलाई दुवै पक्षले मान्नुपर्छ । त्यसपछि सर्वोच्चमा गएर हामी यो विधानसम्मत चल्छौँ, हामीलाई मान्य छ भन्दा ओलम्पिकको विवाद सदाका लागि समाप्त हुने देखिन्छ । त्यसका लागि दुवै पक्षको त्यागको जरुरी छ । अर्को कुरा विवादको समाधान दुवै पक्षले साँच्चिकै खोजेको हो भने कार्यसमिति बढाएर गर्न पनि सकिन्छ । जत्रो अकारको कार्यसमिति बनाए पनि त्यो उक्त देशको अधिकारको कुरा भएकाले यसमा आईओसी र ओसीएले कुनै हस्तक्षेप गर्दैन । ओलम्पिक कमिटीमाथि सरकारी हस्तक्षेप भए मात्र आईओसीले नियन्त्रण र प्रतिबन्ध लगाउन सक्छ । तसर्थ अहिले पनि केही बिग्रेको छैन, विवेक प्रयोग गरी ओलम्पिकको विवाद समाधान गर्नेपट्टि लागे दुवैको हातमा माछा नै पर्नेछ ।

राष्ट्रिय विशेष खेलकुद प्रतियोगिता सम्पन्न
लेबोरेटरी उमावि, कीर्तिपुरका श्यामलाल ढुङ्गानाले १८औँ विद्यालयस्तरीय राष्ट्रिय विशेष खेलकुद प्रतियोगिताको अन्तिम दिन दुई स्वर्ण जितेका थिए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा श्यामले १४ वर्षमुनि आंशिक दृष्टिविहीनतर्फ छात्र लङजम्प र सटपुटमा स्वर्ण जितेका थिए । लङजम्पमा आदर्श उमावि, भक्तपुरका सुशील थापामगर दोस्रो र नारायणी उमावि, चितवनका सिद्धान्त न्यौपाने तेस्रो भए । सटपुटमा अमरसिंह उमाविका जीवन गुरुङ दोस्रो र नारायणीका सिद्धान्त न्यौपाने तेस्रो भए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको सुस्त श्रवणतर्फ छात्राको चार सय मिटर दौडमा सिर्जना उमावि, पोखराकी रमाकुमारी आचार्य पहिलो, केन्द्रीय बहिरा उमावि, काठमाडौंकी रिंकीकुमारी महतो दोस्रो र सिर्जनाकी डासीमाया खनाल तेस्रो भए । पूर्णदृष्टिविहीनको छात्रा लङजम्पमा शिखर उमावि, सुर्खेतकी धना दर्लामी प्रथम, अमरसिंहकी रिता थापा दोस्रो र नेराउकी रूपमती राय तेस्रो भएकी थिइन् ।
बहिराको चार सय मिटर दौड छात्रमा बहिरा बालक उमावि, भैरहवाका दयानारायण चौधरीले स्वर्ण, केन्द्रीय विद्यालयका अजय कर्णले रजत र काभ्रे बहिरा विद्यालय, बनेपाका गोविन्द प्रधानले कास्य हात पारे । आंशिक दृष्टिविहीनको छात्रा लङजम्पमा मंगलप्रसाद उमावि, बाँकेकी साना चौधरी पहिलो, पञ्चोदय उमाविकी सुनिता चौधरी दोस्रो तथा अमरसिंहकी हिता गुरुङ तेस्रो भएका थिए । पूर्णदृष्टिविहीनको छात्र सटपुटमा अमरसिंहका आशिष खड्गी पहिलो, पूर्वाञ्चल ज्ञानचक्षुका अमरदीप राई दोस्रो र पूर्वाञ्चलकै उमेश धिमाल तेस्रो स्थान प्राप्त गरेका थिए ।
विजेतालाई प्रतियोगिता संयोजक इन्द्रबहादुर थिङ, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख कमल खनाललगायतले पुरस्कृत गरेका थिए । दुईदिने प्रतियोगिताअन्तर्गत दृष्टिविहीनमा ९३, शारीरिक अपाङ्गमा एक सय सात र बहिरातर्फ एक सय दुई गरी कुल तीन सय दुई खेलाडीले प्रतिस्पर्धा गरेको आयोजक समितिका सदस्य एवम् जनसम्पर्क अधिकृत मीनकुमार शर्माले जनाएका छन् ।

पूर्व तेक्वान्दो खेलाडीको स्वागत
राष्ट्रिय टिमका तेक्वान्दो खेलाडीले पूर्व तेक्वान्दो खेलाडीलाई स्वागत गरेको छन् । पूर्वखेलाडी प्रेम भुजेल, महेन्द्र तामाङ
(शङ्कर) र वसन्त पाण्डेलाई स्वागत गरिएको हो । ०४१ सालमा तेक्वान्दोमा प्रवेश गरेका प्रेमले तेक्वान्दो खेलको विकासमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए । ०४३ देखि ०५२ सम्म राष्ट्रिय च्याम्पियन रहेका शङ्करले राष्ट्रिय प्रतियोगिता खेल्दा आफूले कहिल्यै हारको सामना गर्न नपरेको बताउँदै मिहिनेत गरे फल पाइने विचार व्यक्त गरेका थिए । तेक्वान्दोसँगको सम्बन्ध गाडा भएकाले तेक्वान्दोसँगको नाता कहिले नटुट्ने शङ्करले बताए । वसन्त पाण्डेले तेक्वान्दो ठूलो परिवार भएकाले सबैको स–साना सहयोगले पनि तेक्वान्दो खेलको विकास र विस्तारमा ठूलो योगदान पुग्ने बताए । सो अवसरमा राष्ट्रिय टिमका प्रशिक्षक दीपक विष्टले स्वागत गर्दै अग्रजहरूले तेक्वान्दो खेलको विकासका लागि सक्दो सहयोग गरिरहेको र आगामी दिनमा पनि यसले निरन्तरता पाउने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा तेक्वान्दो कार्यालय सचिव हेमन्त डाँगी, प्रशिक्षक अर्जुन विकलगायतको उपस्थिति रहेको थियो ।

कर्मचारी सङ्घमा सल्लाहकार र सदस्य मनोनीत
राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी सङ्घले केन्द्रीय कार्यसमितिमा मनोनीत सदस्य र सल्लाहकारलाई हालै स्वागत गरेको छ । राजधानीमा उपलब्ध सदस्य र सल्लाहकारलाई त्रिपुरेश्वरस्थित सङ्घको कार्यालयमा स्वागत गरिएको थियो । सदस्य भोजानन्द राई र एन्जुदेवी दाहाल तथा सल्लाहकारमा सङ्घका पूर्वअध्यक्ष नारायणदेव राणा र वृजेन्द्र हमाललाई सङ्घका पदाधिकारीले स्वागत गरेको सङ्घका महासचिव फणीन्द्र पौडेलले जनाएका छन् ।

चितवनको माडीमा जिमहलको शिलान्यास
गत साता चितवनको माडीमा भारोत्तोलन जिमहलको शिलान्यास गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष इन्द्रबहादुर थिङले हलको शिलान्यास गरेका थिए । गत महिना ललित चौधरीको अध्यक्षतामा पुनर्गठित चितवन जिल्ला भारोत्तोलन सङ्घको पहलमा हल निर्माण गर्न लागिएको नेपाल भारोत्तोलन सङ्घका महासचिव पार्थसारथी सेन गुप्ताले जनाएका छन् । हल बनाउनका लागि स्थानीयले करिब तीन कठ्ठा जग्गा चितवन जिल्ला भारोत्तोलन सङ्घलाई उपलब्ध गराएका छन् । निर्माण लागत करिब ४० लाख रुपैयाँ रहेको छ । ३० प्रतिशत खर्च स्थानीयस्तरबाटै सङ्कलन गर्ने लक्ष्य रहेको छ । बाँकी खर्च विभिन्न निकायबाट जुटाइने बताइएको छ ।

आमाघरद्वारा कुँवर सम्मानित
स्विट्जरल्यान्डको लाउसेनमा भएको चौथो डब्लूटीएफ विश्व पारा तेक्वान्दो
च्याम्पियनसिपका कास्य विजेता नेपाली खेलाडी यादव कुँवर सम्मानित भएका छन् । मीनभवनस्थित द्वन्द्वपीडित बालबालिकाको संरक्षण गर्ने संस्था आमाघरले कुँवरलाई सम्मान गरेको हो । च्याम्पियनसिपमा प्रशिक्षकको भूमिका निर्वाह गरेका जनार्जन केसीलाई पनि सम्मान गरिएको थियो । संस्थाकी अध्यक्ष दिलशोभा श्रेष्ठले दुवैलाई खादा तथा फूलमालाले सम्मान गरेकी थिइन् । सो अवसरमा आमाघरमा तेक्वान्दो प्रशिक्षणमा रहेका खेलाडीलाई तेक्वान्दो पोसाक प्रदान गरिएको थियो । दक्षिण कोरियामा होटल व्यवसायी गर्ने यशोदा श्रेष्ठले उपलब्ध गराएको २४ थान पोसाक ओलम्पियन संगीना वैद्यले सम्बन्धितलाई हस्तान्तरण गरेकी थिइन् ।
अन्तरएयरलाइन्स टेटे हुने
नेपाल वायुसेवा निगमको आयोजनामा अन्तरएयरलाइन्स टेबलटेनिस प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सोमबारदेखि सुरु भएको छ । प्रतियोगितामा पुरुष/महिला सिंगल्स र डबल्स तथा मिक्स डबल्स गरी पाँच स्पर्धामा प्रतिस्पर्धा हुने निगमका नवीनबहादुर शाक्यले जनाएका छन् । अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्सले मात्र प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । १४ एयरलाइन्सको सहभागिता रहने बताइएको छ । सिंगल्सको दुवै समूहमा पहिलो हुनेले काठमाडौं–हङकङ–काठमाडौं, दोस्रोले काठमाडौं–क्वालालम्पुर काठमाडौं र तेस्रोले काठमाडौं–थाइल्यान्ड–काठमाडौंको हवाई टिकट पुरस्कारस्वरूप प्राप्त गर्नेछन् । एकल स्पर्धाको पुरुषमा निगमका नवीन र महिलामा कस्मिककी कामना कक्षपति साविक विजेता हुन् । प्रतियोगिता निगमको ५५औँ वार्षिकोत्सवको उपलक्ष्यमा हुन लागेको हो । प्रतियोगिता शुक्रबारसम्म चल्नेछ ।

च्याम्पियन्स ट्रफीमा भारतको दबदबा
आईसीसी च्याम्पियन्स क्रिकेट २०१३ को उपाधि विश्वच्याम्पियन भारतले जितेको छ । फाइनलमा भारतले इंग्ल्यान्डलाई पाँच रनले पराजित गर्दै पहिलोपल्ट च्याम्पियन्स ट्रफी जितेको हो । फाइनलमा टस हारेर भारतले पहिलो ब्याटिङको निम्तो पाएको थियो । भारी वर्षाका कारण लामो समय खेल अवरुद्ध हुँदा फाइनल खेल २० ओभरमा छोट्याइएको थियो । त्यसपछि पहिलो ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय २९ रन बनाएको थियो । भारतका लागि ओपनर शिखर धवन, विराट कोहली र रवीन्द्र जडेजाले उत्कृष्ट पारी खेलेका थिए । कप्तान धोनी शून्यमा आउट भएका थिए भने सुरेश रैनाले पनि कुनै कमाल देखाउन सकेनन् ।
प्रतियोगितामा निकै राम्रो फर्ममा देखिएका शिखर धवन व्यक्तिगत ३१ रनमा आउट भएपछि भारतको विकेट पतनको शुभारम्भ भएको थियो । एक समय एक विकेटको नोक्सानीमा ६१ रनमा रहेको भारत धवन पेवेलियन फर्केपछि आफ्ना अन्य दुई विकेट ६४ रनमै गुमाउन पुगेको थियो । यसरी दबाबमा परेको भारतलाई विराट कोहली र रवीन्द्र जडेजाले सम्हालेका थिए ।
एक सय ३० रनको चुनौती पाएको इंग्ल्यान्डको शुभारम्भ त्यति राम्रो हुन सकेन । कप्तान कुक दोस्रो ओभरमै व्यक्तिगत तीन रनमा आउट भएपछि इंग्ल्यान्ड दबाबमा परेको थियो । तर, जोथानन ट्रटले आक्रामक पारी खेल्दै जितको सम्भावना देखाए पनि उनी स्टम्पिङ भएपछि इंग्ल्यान्ड धरायशी बन्न पुगेको थियो ।
मध्यक्रमका ब्याट्सम्यान मोर्गन र बोपाराले उत्कृष्ट साझेदारी गर्दै इंग्ल्यान्डलाई विजयको नजिक पु-याए पनि यी दुवै खेलाडी इशान शर्माको बलमा लगातार आउट भएपछि खेलले टर्निङ लिएको थियो । अन्त्यमा १६ बलमा २० रनको चुनौती पाएको इंग्ल्यान्ड लगातार विकेट पतनका कारणले अन्तिम ओभरमा जितका लागि १५ रन बनाउने अवस्थामा पुगेको थियो । तर, भाग्यमानी भारतले इंग्ल्यान्डलाई एक सय २४ रनमै समेट्दै पाँच रनले बाजी
मारेको थियो । अन्तिम बलमा विजयका लागि ६ रन बनाउनुपर्नेमा आश्विनले कुनै रन नदिई भारतलाई विजयी बनाएका थिए । प्रतियोगितामा भारतका शिखर धवन र रवीन्द्र जडेजाले क्रमश: गोल्डन ब्याट र बलको उपाधि जितेका थिए । यी दुवै खेलाडीले सबैभन्दा बढी रन र विकेट लिएका थिए ।

तारकेश्वरले जगाएको धुनी ४६ वर्षदेखि जागै– मुक्तिनाथ भुसाल
अर्घाखाँचीको सिमानामा पर्ने कपिलवस्तुको महेन्द्रकोट–७ पत्थरकोटमा रहेको तारकेश्वर धाम अपेक्षाकृत चर्चामा आउन सकेको छैन, तर यसको धार्मिक एवम् पौराणिक महत्व भने रहेको बूढापाका र विज्ञहरूको कथन छ । करिब चार बिघामा फैलिएको धाम र बगैँचा आफैँमा शोभायमान भए पनि राज्यका तर्फबाट ध्यान
नपुगेका कारण यो धाम सहाराविहीन बनेको महसुस हुन्छ ।
०२४ असार २६ गते तारकेश्वर बाबा यस स्थानमा आई बसेका थिए भने ०३७ सालमा यसै स्थानमा उनको देहान्त भएको जान्नेसुन्नेहरू बताउँछन् । उनको देहान्तपश्चात् उनैका चेला ब्रह्म गिरीलाई यहाँको समाजले उनको आसन हस्तान्तरण गरे पनि एकै वर्षमा उनी यो स्थान छोडी हिँडेका थिए । उनको पलायनपछि श्यामानन्द न्यौपाने आई यो क्षेत्रको संरक्षणमा कटिबद्ध बने । ०४५ मा योगी नरहरि नाथद्वारा विश्वशान्ति महायज्ञ सम्पन्न भएको थियो । त्यसै समयमा न्यौपानेले घरगृहस्थी बसालेका कारण साधु रामानन्द स्वामीलाई यो क्षेत्र हस्तान्तरण गरियो । तथापि, पछि ०५३ मा आएर हालसम्म न्यौपाने नै यो क्षेत्रको संरक्षक र पुजारीका रुपमा रहेका छन् ।
तारकेश्वर नामका शक्तिशाली महापुरुष अर्घाखाँचीमा जन्मिएर भारतीय फौजमा भर्ती हुन पुगेका र चाइनासँगको युद्धमा एकले अर्को मानिसलाई छपाछप मारेको देखेपछि उनी नागासाधु बनेको बताइन्छ । आफू साधु बनिसकेपछि नेपालगन्जमा कुटी–बगँैचा निर्माणको व्यवस्था मिलाई आफ्ना अनुयायीलाई हस्तान्तरण गरी उनी अर्घाखाँचीको ठाडा पुगेका थिए । ठाडामा पनि मन्दिर र बगँैचा निर्माण गरेपछि उनी हरिद्वार पुगे । हरिद्वारबाट अग्नि साथमा लिई ०२४ सालमा यस स्थानमा उनी आएका र उक्त अग्नि त्यसैबेलादेखि हालसम्म पनि प्रज्ज्वलित रहेकोले यो स्थानको महत्व बढेको हो ।
सुन्दर बगैँचाको माझमा रहेको मन्दिरभित्र शिव, पार्वती, गणेश, कुमार, नवदुर्गा, कालिका, शिवलिङ्गको मूर्तिका साथै समाधिलगायतका चिजहरु रहेका छन् । अत्यन्तै रिसाहा स्वभावका ती महापुरुषले बगैँचामा पोखरी खन्ने क्रममा पानी देखापरेको र फेरि तत्काल पानी हराएको अनि पुन: जमिन खन्ने क्रममा पानी फेला नपरेपछि चार वर्षसम्म अग्निमा पाकेको चिज नखाएको र पानी पनि मुखमा
नपारेको यथार्थ स्थानीयले भुलेका छैनन् । ०३२ सालमा उनको भण्डारमा जम्मा चार पाथी चामल थियो, तर त्यति चामलकै भरमा उनले पुरुषचरण यज्ञ गर्ने सोचका साथ सबैलाई निम्ता पठाए र यज्ञको सुरुवात गरे ।
स्थानीयहरूको सल्लाहबिना १ सय एक जना ब्राह्मणसहित हजारौँको सङ्ख्यामा ब्राह्मण, योगी, नागा र भक्तजनको ओइरो लाग्ने क्रममा २४सै घन्टाको भण्डारा र अग्निमा घ्यूको जल ११ दिनसम्म चलेको यथार्थले उनी महापुरुष नभई भगवान्कै अवतार भएको जनविश्वास पनि रहेको छ । घरको अशान्ति वा आफ्ना मनोकाङ्क्षा पूरा गर्नु छ भने यस धामको दर्शन गरेमा सफलता हासिल हुने कुरा धाम संरक्षण समितिका सचिव इन्द्र बेल्वासे बताउँछन् । प्रचारप्रसारको अभावका कारण आफैँमा शोभायमान र पर्यटकीय स्थल बन्न सक्ने यो स्थान ओझेलमा परेको समितिका अध्यक्ष हुमलाल गैरेको गुनासो छ । गर्मीको धुपमा शीतल आनन्द लिन सकिने यो स्थानलाई राज्यपक्षले बेवास्ता गरेको कारण चार बिघामा फैलिएको धाम ओझेलमा परेको समितिका सल्लाहकार कमला गौतमको पनि भनाइ छ ।
शिवरात्रि, नवदुर्गा, कृष्णाष्टमीमा भव्य मेला लाग्नुका साथै माघमा यहाँ ‘भण्डारा’ हुने गर्छ । दैनिक दुईपटक पूजा गरिने यो मन्दिरमा ब्रतबन्ध, विवाह, रुद्रीलगायतका पूजा गरिन्छ । आँप, कटहर, अम्बा, अमला, नरिवल, सुपारी, जाइफल, खिर, अम्रक, गुलाव, जामुन, केरालगायतका अनेक वनस्पति रहेको यस सुन्दर बगैँचालाई सरोकारवालाहरूले थोरै मात्र पनि ध्यान दिने हो भने कपिलवस्तु र अर्घाखाँचीवासीका लागि यो क्षेत्र कोसेढुङ्गा सावित हुनेछ ।