असारे विकास, बेसारे हामी

असारे विकास, बेसारे हामी


■ विनोद त्रिपाठी

गत वर्षायाममा मुस्ताङको कागबेनीदेखि मुक्तिनाथ मन्दिरसम्मको सडक कालोपत्रे भयो । उच्च हिमाली क्षेत्रमा वर्षायाम नै विकास गर्ने मौसम हो । जोमसोममाथि खासै पानी पर्दैन । जलवायु परिवर्तनले होला, पछिल्ला वर्षमा अलिअलि वर्षा हुन थालेको छ । हिउँदमा चिसोले निर्माण हुँदैन । त्यसैले, मुक्तिनाथ सडकलाई गर्मी मौसम पारेर साउनमा कालापत्रे सकिएको थियो । तर, पहाडी र तराई क्षेत्रमा मौसम यसको ठीक विपरीत छ । स्थायी संरचनाका विकासलाई प्रकृतिअनुसार पछ्याउनुपर्छ । नत्र विकास होइन, विनाश मात्र निम्तनेछ ।

आर्थिक वर्षको अन्तसम्म सरकारले ठेकेदारहरूको बिल भुक्तानी दिन्छ । ठेकेदारले यो अवधिमा रिपोर्टसहित बिल पेस गर्छ । बिल पेस गर्न सकेनन् भने भुक्तानी पाउन वर्षदिन कुर्नुपर्छ । त्यसैले, प्रायः ठेकेदारहरू यही असारमा काम गरेको नाटक गर्छन् । पुरानो रिपोर्टहरू खोतल्दा पञ्चायतकालमा यस्तो प्रवृत्ति थिएन । त्यतिबेला सोर्सफोर्स त निकै चल्थ्यो । तर, जिम्मा पाएको काम फत्ते गर्न कडाइ हुन्थ्यो । फलस्वरूप पञ्चायतकालमा विकासका काम धेरै भए । राजधानी सफा थियो । कलाकारले गीत बनाए, नाचे, ‘कान्छीलाई घुमाउने काठमाडौं शहर ।’ अहिले काठमाडौं अनेक विकृत नामले चित्रित छ ।

बहुदल आएपछि सोर्स मात्र होइन, काम नगर्ने ठेकेदारको फोर्स नै चल्न थाल्यो । गणतन्त्र आएपछि त झन् यो प्रवृत्ति मजबुत भयो । अहिले काम नगर्ने ठग ठेकेदारको संरक्षणमा नेताहरूले ठेकेदारी गर्न थाले । शक्तिशाली नेताहरू बस्ने ठाउँ हो काठमाडौं । सिंहदरबारमा सबै मन्त्रालय र प्रमुख प्रशासकीय केन्द्र छ । तर, यहीवरिपरि अहिले धमाधम असारे विकास चलिरहेको छ । यहाँको ठेक्का पाउने ठेकेदारलाई बहालवाला प्रधानमन्त्री, मन्त्रीदेखि पूर्वमन्त्रीहरूको संरक्षण छ ।

बहुदलपछि काङ्ग्रेसले धेरै सरकार चलायो । नेताहरूले गल्ती गरे पनि कार्यकर्ता चुपचाप बस्थे । भ्रष्ट नेताहरूलाई झन् हौसला मिल्यो । भ्रष्टको त्यो दाग काङ्ग्रेसले अझै मेटाउन सकेको छैन । यो अवधिमा कम्युनिस्टका केही आंशिक सरकार बने । कम्युनिस्टले बहुमत नभएकोले भ्रष्टाचार हटाउन सकिएन भन्ने सौदाबाजी खेल्यो । जनता काङ्ग्रेसबाट हार खाइसकेका थिए । स्वयम् काङ्ग्रेस कार्यकर्ताहरूले पनि आफ्ना नेताबाट आस मारेका थिए । यसैमा कम्युनिस्टले मजाले खेल्ने मौका पायो । फलस्वरूप, गणतन्त्र आएको १० वर्षपछि बहुमत होइन, दुईतिहाइ नै सिट प्राप्त गऱ्यो ।

काङ्ग्रेसका नेताले गरेको गल्तीमा त्यतिबेला कार्यकर्ताले खबरदार गरिदिएको भए सायद अहिलेको दुर्गति काङ्ग्रेसले भोग्नुपर्दैन थियो होला । यी भूलहरू काङ्ग्रेस कार्यकर्ताबाट नेताहरूलाई गलत बाटोमा जान प्रेरित थियो । यो परिणाम देख्दादेख्दै अहिले कम्युनिस्ट कार्यकर्ताहरू उस्तै शैलीमा नेताहरूलाई गलत काममा साथ दिइरहेका छन् । हिजो काङ्ग्रेसले गरेको गल्तीलाई अझै उछिनेर कम्युनिस्ट कार्यकर्ताहरू नेताहरूलाई भ्रष्टाचार गर्न उक्साइरहेका छन् ।

काङ्ग्रेसका नेताले गरेको गल्तीमा त्यतिबेला कार्यकर्ताले खबरदार गरिदिएको भए सायद अहिलेको दुर्गति काङ्ग्रेसले भोग्नुपर्दैन थियो होला । यी भूलहरू काङ्ग्रेस कार्यकर्ताबाट नेताहरूलाई गलत बाटोमा जान प्रेरित थियो । यो परिणाम देख्दादेख्दै अहिले कम्युनिस्ट कार्यकर्ताहरू उस्तै शैलीमा नेताहरूलाई गलत काममा साथ दिइरहेका छन् । हिजो काङ्ग्रेसले गरेको गल्तीलाई अझै उछिनेर कम्युनिस्ट कार्यकर्ताहरू नेताहरूलाई भ्रष्टाचार गर्न उक्साइरहेका छन् । यो ‘बेसारे प्रवृत्ति’ राजनीतिमा यसरी हाबी भयो कि आलोचना सुन्नै नसक्ने संस्कार बस्यो । खासगरी, कम्युनिस्ट कार्यकर्ताले ‘बेसारे संस्कार’ मज्जाले सिके । अहिले सरकारले कुनै गल्ती गऱ्यो भने कम्युनिस्ट नेताले भन्दा उनका कार्यकर्ताहरू बचाउमा उत्रन्छन् । समर्थकहरू झन् बढी सरकारको ढाकछोपमा खनिन्छन् । यसले भोलिका चुनावमा पार्टीलाई दूरगामी असर त पार्ने नै छ, त्यो बेलासम्म देशले ठूलो मूल्य चुकाउनेछ ।

सरकारले विभिन्न राजनीतिक नियुक्तिमा रहेकाहरूलाई हटायो । अघिल्लो सरकारले गरेका नियुक्तिहरू मात्र हटाएन, अधिकांश नीतिगत निर्णयहरू नै उल्ट्याइदियो । जुन चलन ०४६ सालपछि निरन्तर चल्दै आएको थियो । तर, पञ्चायतकालमा अघिल्लो सरकारका कार्यक्रमहरूले पछिसम्म नै निरन्तरता पाउँथे । विकसित मुलुकमा पनि हुने करिबकरिब यही हो ।

अब लागौँ, परिणामतर्फ । सरकारले सहज रूपमा काम गर्न राजनीतिक नियुक्ति पाएकाहरूलाई फेरबदल गर्ने अधिकार रहन्छ । राजनीतिक नियुक्तिका पदमा सरकारले अनुकूलका व्यक्ति राख्ने चलन छ । यो नियुक्ति र बर्खास्त निकै आक्रामक बन्न थाल्यो । झन् कम्युनिस्ट सरकारले छानीछानी बर्खास्त गरिदिएको छ । बरु देउवा सरकारले महान्यायाधिवक्तामा रमण श्रेष्ठलाई राखेर निष्पक्षता देखाउने प्रयास गरेको थियो । कम्युनिस्ट सरकारले त राजनीतिक आस्था ज्यादा हेर्न थाल्यो । क्षमता र विज्ञतालाई कम्युनिस्ट सरकारले मतलब नै गरेको छैन ।

खासगरी, पछिल्ला सरकारहरूले पूर्वाग्रह रूपमा करारका नियुक्ति हटाउने राख्ने प्रवृत्तिलाई तीव्रता दिँदै गए । यो आग्रह–पूर्वाग्रह शैली निकै चल्यो । तर, के ती सरकारहरूले कुनै उपलब्धि हासिल गर्न सफल भए त ? हिजोका सरकारले गरेका शैलीबाट देशले कस्तो परिणाम भोग्यो ? त्यो मूल्याङ्कन गर्नुपर्दैन ? झन् बढी हिजोका दुर्गतिहरूलाई पछ्याउने काम कम्युनिस्ट सरकारले गरेको छ, यसले झन् बढी अधोगति निम्त्याउने निश्चित छ ।

दुईतिहाइको सरकारले विपक्षीको आलोचना ढुक्कले सुन्न सक्नुपर्छ । सङ्क्रमणकालको जस्तो गरी विपक्षीको आलोचनाप्रति सरकार नै प्रतिआलोचनाको प्रतिक्रियामा उत्रनु झन् लाजमर्दो विषय हो । यदि सरकारले राम्रो काम गरेको भए उनका प्रवक्ताले यो गऱ्यो वा ऊ गरेम् भन्नै पर्दैन । प्रविधिको जमाना छ, सेकेन्डमै जनताले आफैँ थाहा पाउनेछन् । तर, यस्तै ‘बेसारे प्रवृत्ति’का कार्यकर्ता रहेसम्म कम्युनिस्टले देश र जनताका लागि राम्रो गर्ने त सम्भावनै हुँदैन ।

यो असारमा देशभरि झरी परिरहेको छ । यही बेला सडक बनिरहेका छन् । यो चरम ठगी र कामचोर प्रवृत्तिलाई खबरदारी खोइ ? के हरेक टोलमा कम्युनिस्ट छैनन् ? हरेक गाउँ र शहरबाट कम्युनिस्ट कार्यकर्ता गायब भए ? यदि सच्चा कार्यकर्ता हुन् भने नेताहरूलाई लगाम लगाएका खोइ ? कामचोर ठेकेदारलाई नबचाउ भनेर चेतावनी दिएको खोइ ? यसरी चुपचाप बस्नु कम्युनिस्ट कार्यकर्ताको खतरनाक ‘बेसारे प्रवृत्ति’ हो ।

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई विमानस्थलबाट अपराधी जसरी पक्राउ गरेपछि सरकारले सर्लक्कै साख गिराइसकेको छ । क्यानडामा हुन लागेको विश्व संस्कृत सम्मेलनले नेपालको सन्दर्भमा ऐतिहासिक महत्व राख्छ । संस्कृतको उद्गमस्थल नेपाल भएकोले अनिवार्य उपस्थित हुनुपर्ने आयोजकले नेपाल सरकारलाई जानकारी गराइसकेको हो । सरकारले रिस साँध्ने शैली देखाउँदै गर्दा यसले नेपालको कम्युनिस्ट पार्टीलाई विश्व मञ्चहरूमा कमजोर साबित गर्दै छ । यसमा पार्टीका कार्यकर्ताले खबरदारी गर्न सक्नुपथ्र्यो, तर कम्युनिस्ट कार्यकर्ताले लगातार ‘बेसारे प्रवृत्ति’ देखाउँदै गएको यो पछिल्लो नतिजा हो ।

दुईतिहाइको सरकारले विपक्षीको आलोचना ढुक्कले सुन्न सक्नुपर्छ । सङ्क्रमणकालको जस्तो गरी विपक्षीको आलोचनाप्रति सरकार नै प्रतिआलोचनाको प्रतिक्रियामा उत्रनु झन् लाजमर्दो विषय हो । यदि सरकारले राम्रो काम गरेको भए उनका प्रवक्ताले यो गऱ्यो वा ऊ गरेम् भन्नै पर्दैन । प्रविधिको जमाना छ, सेकेन्डमै जनताले आफैँ थाहा पाउनेछन् । तर, यस्तै ‘बेसारे प्रवृत्ति’का कार्यकर्ता रहेसम्म कम्युनिस्टले देश र जनताका लागि राम्रो गर्ने त सम्भावनै हुँदैन । किनकि जस्ता कार्यकर्ताहरूको भिड हुन्छ, नेता जन्मने त्यस्तै हो । यिनै कम्युनिस्ट कार्यकर्ताको हुलबाट दैनिक भ्रष्ट र अनैतिक नेताहरू जन्मिरहेका छन् ।