तेक्वान्दोको सिन्डिकेट तोड्ने गृहमन्त्रीको प्रतिबद्धता

तेक्वान्दोको सिन्डिकेट तोड्ने गृहमन्त्रीको प्रतिबद्धता


दक्षिण कोरियामा १२ देखि १७ जुलाईसम्म सञ्चालन हुने ‘१२औँ वल्र्ड तेक्वान्दो कल्चर एक्स्पो २०१८’ मा राष्ट्रिय तेक्वान्दो सङ्घ नेपालका खेलाडीले सहभागिता जनाउने भएका छन् । उक्त एक्स्पोमा राष्ट्रिय तेक्वान्दोका ९ खेलाडीले सहभागिता जनाउने संघका महासचिव राजकुमार कार्कीले जनाएका छन् ।

उक्त एक्स्पोमा सहभागिता जनाउने खेलाडीलाई गृहमन्त्री रामबहादुर थापा (बादल)ले बिदाइ गरेका छन् । बिदाइ कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष एकनाथ थापालगायत संघका पदाधिकारी र खेलाडीहरूको उपस्थिति रहेको थियो । सो अवसरमा गृहमन्त्री बादलले खेलाडीलाई उच्च मनोबलका साथ राष्ट्रका लागि खेल्न शुभकामना दिएका थिए ।

साथै गृहमन्त्री थापाले मार्सल आर्टस् खेलमा नेपालले राम्रो गर्न सक्ने सम्भावना भएकाले समयअनुरूप परिवर्तन गर्दै तेक्वान्दोमा देखिएको सिन्डिकेट अन्त्य गर्न आवश्यक भूमिका निर्वाह गर्नेसमेत प्रतिबद्धता जाहेर गरेका थिए ।

सो एक्स्पोमा क्योगुरी ३२ केजी पुरुषतर्फ जितबहादुर कामी, ४८ केजीमा विशाल पौडेल उपाध्यय, ५४ केजीतर्फ विनोद श्रेष्ठ, ६५ केजीमा राधाबहादुर तामाङ र पुम्सेतर्फ हरि थापा रहेका छन् । त्यस्तै प्रमुख प्रशिक्षकमा रमेश तामाङ, टिम म्यानेजर धर्मेन्द्र बानियाँ अग्रहरि र कोचमा मनीष बसेल रहेका छन् ।

त्यस्तै सोही टिम कोरियाको जेजु टापुमा १८ देखि २४ जुलाईसम्म सञ्चालन हुने जेजु कोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा २०१८ मा पनि सहभागी हुने महासचिव कार्कीले जनाएका छन् । उक्त टोलीको नेतृत्व वरिष्ठ उपाध्यक्ष एकनाथ थापाले गर्नेछन् ।