‘फिफा वल्र्ड कप टुर ट्रफी’ अभियानअन्तर्गत एक दशक पहिले नेपालमा पनि पहिलोपटक विश्वकप ट्रफी नेपालमा भित्रिएको थियो । खेलकुदको माध्यमद्वारा विश्वशान्ति र आपसी भाइचारा वृद्धि गर्ने उद्देश्यअनुरूप विश्वकप ट्रफीको विश्वभरि प्रदर्शन गरिएको थियो । ट्रफी नेपाल भित्रिएपछि एक विशेष कार्यक्रममार्फत विश्वकप ट्रफीको नेपालमा पनि प्रदर्शन गरिएको थियो । उक्त विश्वकप ट्रफीको तत्कालीन नेपालका राष्ट्रपति रामबरण यादवले सार्वजनिक रूपमा प्रदर्शन गरेका थिए ।

राष्ट्रपति रामबरण यादवले हातमा उठाएर सार्वजनिक रूपमा प्रदर्शन गरेको यो ट्रफी यतिबेला कसले जित्ला त्यो निकै उत्सुकताको विषय बनेको छ । आगामी असार ३१ गते आइतबार फिफा विश्वकप २०१८ को फाइनल हुँदै छ । उक्त फाइनलमा फ्रान्स र क्रोएसियाले प्रतिस्पर्धा गर्दै छन् । दुवै टिम रसिया विश्वकप फुटबलमा अपराजित टिम हुन् । फाइनल खेल फ्रान्सले जिते दोस्रोपटक विश्वकपको उपाधि जित्नेछ भने क्रोएसियाले जिते पहिलोपटक ।
तत्कालीन समयमा नेपालका राष्ट्रपति रामबरण यादव, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, पर्यटन तथा खेलकुदमन्त्री रामकुमार श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामा र अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष गणेश थापा थिए ।
प्रतिक्रिया