ह्याण्डबल प्रशिक्षक विराटको बिदाइ

ह्याण्डबल प्रशिक्षक विराटको बिदाइ


ह्याण्डबलका प्रशिक्षक विराटमान बज्राचार्यलाई तालिम तथा प्रशिक्षण विभागले शुभकामनासहित बिदाइ गरेको छ । बज्राचार्यले उमेरहदका कारण परिषद्बाट असार ३१ गतेदेखि अवकाश भएका हुन् ।

धनुषा जिल्लानिवासी बज्राचार्य ०५० प्स २१ गते सहायक प्रशिक्षकको रूपमा करारमा राष्ट्रिय खेलकुद परिषदमा सेवा प्रवेश गरेका थिए । ०५२ असोज १ देखि स्थायी भई ह्याण्डबलमा सेवा प्रदान गर्दै आएका प्रशिक्षक बज्राचार्य काठमाडौं जिल्ला खेलकुद विकास समितिमा कार्यरत थिए ।

२०३८ सालमा पौडी खेलाडीको रूपमा खेलकुदमा उदाएका बज्राचार्य एथलेटिक्सका खेलाडी हुँदै ह्याण्डबलका खेलाडीपछि प्रशिक्षक भएका थिए । बज्राचार्यलाई तालिम तथा प्रशिक्षण विभागका निर्देशक रिमबहादुर रानाभाट, राष्ट्रिय टिम तयारीका निर्देशक अर्जुन विकलगायत उपनिर्देशक, प्रमुख प्रशिक्षक तथा कर्मचारीहरूले खादा तथा टीका लगाउँदै बिदाइ गरेका हुन् । यसका साथै तालिमका प्रमुख रानाभाटले प्रशिक्षक बज्राचार्यलाई सबैका तर्फबाट मायाको चिनो प्रदान गरेका थिए ।