पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा भएको बक्सिङ र टेबुलटेनिस प्रतियोगितामा कास्की र रूपन्देही टिम च्याम्पियन बनेका छन् ।
पश्चिमाञ्चल क्षेत्रीयस्तरीय बक्सिङमा कास्की जिल्लाले कुल ६ स्वर्ण र १ रजतसहित टिम च्याम्पियन बनेको हो भने टेबुलटेनिसमा ४ स्वर्ण र २ रजतसहित रुपन्देही टिम च्याम्पियन बनेको हो । बक्सिङ प्रतियोगितामा नवलपरासीले १ स्वर्ण प्राप्त गरी दोस्रो भयो भने टेबुलटेनिसमा कास्कीले १ रजत र ६ कांस्यसहित दोस्रो भएको थियो ।
बक्सिङमा महिलातर्फ कास्कीकी सिसम थापामगर उत्कृष्ट खेलाडी घोषित भइन् । ६० केजी तौल समूहकी थापाले रूपन्देहीकी संगीता दंगाललाई पराजित गरेकी थिइन् । यसैगरी पुरुष बक्सिङमा कास्कीका केशरबहादुर नेपाली उत्कृष्ट खेलाडी घोषित भए । महिला टेबुलटेनिसमा नवलपरासीकी प्रमिशा न्यौपाने र पुरुषतर्फ स्याङजाका नवीन गुरुङ उत्कृष्ट खेलाडी घोषित भए ।
विजेता खेलाडी तथा टिमलाई पदक, प्रमाणपत्र तथा ट्रफी वितरण गर्दै पोखरा लेखनाथ महानगरपालिका मेयर मानबहादुर जीसीले पोखरालाई खेलकुदको सहरको रूपमा विकास गर्न योजनाका साथ अगाडि बढने प्रतिबद्धता जाहेर गरेका थिए ।
सो अवसरमा मेयर जीसीले महानगरले अबका दिनमा खेलकुदमा परिणाममुखी नतिजा ल्याउन केही खेलहरूलाई प्राथमिकतामा राखेर अगाडि बढने बताउँदै भने, ‘अब निर्वाहमुखी खेल मात्र होइन महानगरले राष्ट्रकै लागि उत्कृष्ट खेलाडी उत्पादनमा योजनाका साथ अगाडि बढ्न चाहन्छ ।’
महानगरले अब केही दिनमा नै आफ्नो खेलकुद विधि ल्याउने तयारी गरिरहेको जानकारी गराउँदै मेयर जीसीले पोखरा सहरलाई सम्पूर्ण खेलहरूको प्रशिक्षण केन्द्रको रूपमा विकास गर्न चाहेको बताए ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कावा अध्यक्ष सम्पन्न श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष याम गुरुङ, कोषाध्यक्ष दीपक गोदार, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले समेत विजेता खेलाडीलाई पदक तथा प्रमाणपत्र वितरण गरेका थिए ।
प्रतिक्रिया