धर्मश्री शारीरिक सुगठन प्रतियोगिता असोजमा

धर्मश्री शारीरिक सुगठन प्रतियोगिता असोजमा


नेपालकै पहिलो शारीरिक सुगठन संस्था नेपाल व्यायाम मन्दिरको आयोजनामा हुँदै आएको सर्वाधिक सम्मानित प्रतियोगिता धर्मश्री असोज १९ र २० गते काठमाडौंमा आयोजना हुने भएको छ ।

राष्ट्र, राष्ट्रियता तथा प्रजातन्त्रप्रति अमूल्य जीवनको आहूती दिनुहुने अमर शहीद तथा व्यायामका प्रणेता धर्मभक्त माथेमाको स्मृतिमा २०४२ सालबाट शुरु गरिएको सर्वाधिक सम्मानित तथा सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताको १५औँ संस्करण असोज तेस्रो साता हुने मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी गराएका छन् ।

राष्ट्रव्यापी खुला प्रतियोगिताको रूपमा रहेको प्रतियोगितामा करिब ४०० खेलाडीले विभिन्न ७ तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी र ८० केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा गराइने र प्रत्येक तौल समूहका पहिलो स्थान हात पार्ने खेलाडीले ओभरअल राउण्डमा धर्मश्री उपाधिका लागि प्रतिस्पर्धा गर्ने मन्दिरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

१५ हजार पुरस्कार राशिबाट शुरु गरिएको धर्मश्री प्रतियोगिता १५औँ संस्करणसम्म आइपुग्दा शारीरिक सुगठनमा सर्वाधिक धनराशि पुरस्कार रहेको प्रतियोगिता भएको छ । धर्मश्री विजेतालाई नगद ५ लाखसहित ट्रफी र ब्यानेटबाट सुसज्जित गरिनेछ ।

यस्तै प्रतियोगितामा दोस्रो हुनेले २ लाख ५० हजार, तेस्रोले १ लाख ५० हजार, चौथोले १ लाख, पाँचौँले ८० हजार, छैटौँले ७५ हजार र सातौँ स्थान हात पार्नेले ६० हजार नगद तथा मेडल तथा अन्य पुरस्कार प्राप्त गर्नेछन् । यस्तै तौल समूहमा दोस्रो र तेस्रो हुनेले क्रमशः नगद ३० हजार र २० हजारका साथै मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् ।
विगतमा विभिन्न संस्थाहरूले प्रायोजन गर्दै आएकोमा प्रायोजक संस्थाहरूलाई धन्यवाद प्रदान गर्दै आगामी दिनमा धर्मश्रीलाई लगातार ५ वर्षको प्रायोजन सम्झौता गर्ने संस्थाको नाममा प्रतियोगिता आयोजना गरिने मन्दिरका अध्यक्ष प्रधानले बताए । अध्यक्ष प्रधानले प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने उद्देश्य रहे तापनि अध्यधिक धनराशिको प्रतियोगिता भएकाले आर्थिक अभावका कारण र प्रायोजकका कारण लगातार आयोजना गर्न नसकिएको जानकारीसमेत गराएका छन् ।