सहमतिको सरकारले संविधान निर्माणको हलो अड्कायो

सहमतिको सरकारले संविधान निर्माणको हलो अड्कायो


नयाँ संविधान निर्माण सम्पन्न गर्ने सवालमा संवैधानिक उपसमितिलाई पङ्गु बनाउने, विगतमा भएका शान्तिसम्झौता र सहमतिहरूको कार्यान्वयन नगर्ने तथा शान्तिप्रक्रिया टुङ्गिन नदिने खेल एकीकृत नेकपा माओवादीले खेलेको आरोप नेपाली काङ्ग्रेसले लगाएको छ । गत सोमबार बसेको काङ्ग्रेस संसदीय दलको बैठकले सरकारमा आफ्नो संलग्नताबिना शान्ति र संविधानको काम अघि बढ्न नदिने माओवादी अडानले संविधान निर्माणको पहिलो कार्यकाल त्यसै खेर गएको निष्कर्ष निकाल्दै थपिएको एक वर्षको कार्यकाल पनि सहमतिको सरकारको नाममा हलो अड्काएर निर्रथक तुल्याइएको ठहर गरेको छ ।
शान्ति र संविधान निर्माणमा माओवादी सबभन्दा ठूलो बाधक बनेर उभिएको कुराले काङ्ग्रेसलाई गम्भीर तुल्याएको भन्दै काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले सरकारको नेतृत्व गरिरहेको एमाले पार्टी पनि माओवादी एजेण्डाकै पछि दौडिरहेको भन्दै आगामी जेठ १४ गते संविधान निर्माण सम्पन्न गर्ने दिशामा देखापरेका अवरोधहरू हटाउँदै निर्धारित समयमै शान्तिप्रक्रिया टुङ्गोमा पुर्‍याई संविधान निर्माण सम्पन्न गर्न आह्वान गरेको छ ।
सरकारबाट अर्बौंको राजस्व ठगी प्रकरणमा ढाकछोप गर्ने प्रपञ्च भइरहेको र व्यवस्थापीका संसद्ले पारित गरेको विनियोजन विधेयकअनुसारका विकासनिर्माणका कार्यक्रम रोक्न अर्थ मन्त्रालयले अन्य मन्त्रालयलाई गरेको परिपत्रले देश गम्भीर आर्थिक अनुशानहीनतातर्फ अघिबढेको पनि काङ्ग्रेस संसदीय दलको बैठकले ठहर गरेको प्रवक्ता नवीन्द्रराज जोशीले बताउनुभयो ।