भोकभोकैको पीडा
राष्ट्रिय खेलकुद परिषद्को दूरगामी सोचअनुरूप राष्ट्रिय खेलाडीको प्रशिक्षण शुभारम्भ भएको थियो । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीको कमजोर प्रदर्शनलाई आत्मसात् गर्दै राखेपले त्यसमा सुधार ल्याउन राष्ट्रिय प्रशिक्षणको परिकल्पना गरेको थियो । ‘मिसन साग’ बाट सुरु भएको प्रशिक्षण अहिले ‘राष्ट्रिय टिम तयारी’को नामबाट सञ्चालन भइरहेको छ । खेलाडी र राष्ट्र हितका लागि तत्कालीन समयमा राखेपले चालेको यो कदम सकारात्मक र स्वागतयोग्य थियो । तर, राखेपको अदूरदर्शिताका कारणले अहिले यो मिसन ‘मिसन’मै सीमित हुने त होइन प्रश्नचिह्न खडा भएको छ । लक्ष्य स्पष्ट भए पनि देश, काल र परिस्थितिअनुकूल आफ्नो योजनालाई ढाल्न नसक्नु राखेपको कमजोरी भएको छ । जुन उत्साहका साथ समयानुकूल चल्ने कोसिस गरिएको थियो त्यो आफैँमा उत्कृष्ट थियो, यसमा खोट लगाउने कसैको आँट थिएन । तर, पछिल्लो समयमा जुन समस्या आवरणमा देखियो त्यसको समाधानका लागि राखेपले किन मौनता साँध्यो त्यो समयानुकूल नहुँदा सोचनीय बनेको छ । जसलाई अहिले हरेक कोणबाट नाप्न थालिएको छ । त्यो बेला राखेपले उठाएको कदम ठीक थियो कि थिएन भनेर ।
‘राष्ट्रिय टिम तयारी’अन्तर्गत अहिले सम्भावित पदक जित्ने दशवटा खेलको विगत एक वर्षदेखि निरन्तर प्रशिक्षण सञ्चालन हुँदै आएको छ । जसमा तेक्वान्दो, कराते, उसु, बक्सिङ, भारोत्तोलन, एथलेटिक्स, जुडोेका गरी एक सय २४ खेलाडी रहेका छन् । मासिक चार हजार पाँच सय भत्ता दिएर राखेपले खेलाडीलाई प्रशिक्षण गराउँदै आए पनि त्यो रकम अहिले हात्तीको मुखमा जिरा मात्रै सावित भएको छ । प्रत्येक दिन तीन सिफ्टमा अर्थात् बिहान, दिउँसो र बेलुका प्रशिक्षण गर्दै आएका खेलाडीलाई उक्त रकमले डाइडको कुरै छोडौँ पानी पिउनसमेत गाह्रो भएको छ । प्रशिक्षणबापत प्रत्येक दिन एक सय ५० रुपैयाँ पाउने खेलाडीले एक छाकसमेत राम्रोसँग खान नपाएको गुनासो गरेका छन् । मासुसमेतको एक छाक खाना खाँदा दुई सयभन्दा बढी पर्ने भएकोले खेलाडीले खानाको साटो चाउचाउ र अन्डा खाएर प्रशिक्षण गरिरहेको थाहा भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले कसैले गर्न नसकेको कार्य आफूले गरेको भन्दै नाक फुलाए पनि त्यो उपलब्धिमूलक बन्ने कुरामा अहिले शङ्का पैदा भएको छ । खुद राष्ट्रिय प्रशिक्षणमा रहेका प्रायजसो सबै खेलाडीले आफूहरू राखेपले प्रदान गरेको भत्तामा प्रशिक्षण गर्न नसक्ने बताएका छन् । ती खेलाडीले आफूहरू दैनिक सात–आठ घन्टा प्रशिक्षण गर्ने बताउँदै उक्त रकम आफूहरूका लागि अपुग भएको सुनाए । कम्तीमा पनि दिनको पाँच सय हुनुपर्ने अन्यथा प्रशिक्षण छोड्नुपर्ने बाध्यता भइसकेको कुरा प्रस्ट पारेका थिए । यसबारे राखेपले समयमै उचित कदम नचाले प्रशिक्षण बीचैमा रोकिने र यसको जिम्मेवार राखेप हुने बताएका थिए । राखेपले एउटा रोटी फाल्दै मिलिजुली खाऊ, चित्त बुझाऊ भन्न कदापी मिल्दैन भन्दै अन्यथा आफ्नो हकअधिकारका लागि आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका थिए । राखेपले ‘खाए खा, नखाए हिच’को अवस्थामा पु-याएकोमा दुःख प्रकट गर्दै एक खेलाडीले भने यस्तो महँगीमा एक सय पचास रुपैयाँमा तीन सिफ्टमा कसरी प्रशिक्षण गर्न सकिन्छ ? प्रतिप्रश्न गरेका थिए ।
राखेपले विभिन्न खेलका उत्कृष्ट खेलाडी छानेर ‘राष्ट्रिय टिम तयारी’ प्रशिक्षणको थालनी गरे पनि त्यो अहिले खेलाडीका लागि ‘कुठाराघात’ बन्दै गएको प्रस्ट भएको छ । सोच राम्रो भए पनि अदूरदर्शी सोचका अभावका कारण अहिले राखेप आफूले खनेको खाल्डोमा आफैँ पर्ने प्रायः निश्चित भएको छ । जुन सीमित बजेटमा राखेपले कार्य शुभारम्भ गरेको थियो र त्यसमाथि फतेह पाउने विश्वास गरेको थियो त्यो अहिले हतारमा गरेको निर्णयको प्रतिफलको रूपमा अगाडि आएको छ । राखेपले खेलाडी मार्कामा परेको, उनीहरूलाई यो रकम अपर्याप्त भएको बुझेको छ, तर बजेटको अभावले गर्दा खेलाडीको भत्तामा वृद्धि गर्न सकेको छैन । वास्तविकतालाई आत्मसात् गर्दै केही समय पहिले सदस्यसचिव युवराज लामाले खेलाडीको भत्तावृद्धि गर्न सम्बन्धित निकायको ढोका घचघच्याए पनि उनी निरश भएर फर्कनुपरेको थियो । लामाले अन्य खेलका खेलाडीको भत्ता बढाउन नसके पनि क्रिकेटका खेलाडीको भत्ता बढाउन भने सफल भएका थिए ।
प्रशिक्षणमा रहेका प्रायः सबै खेलका खेलाडी मर्कामा परे पनि सबैभन्दा मर्का भारोत्तोलन र पावर गेमका खेलाडी परेका छन् । भारोत्तोलनका खेलाडीलाई अन्य खेलका खेलाडीभन्दा बढी खुराक चाहिने सबैले जानेबुझेकै कुरा हो । तर, विडम्बना, भारोत्तोलनका खेलाडीले पनि अन्य खेलाडीसरि मात्रै भत्ता पाएका छन् । उनीहरू बाध्यता र विवशताका साथ त्यसैमा चित्त बुझाएर प्रशिक्षण गरिरहेका छन् । दुःखका साथ भन्नुपर्दा उनीहरूको डाइट चना, समोसा र पाउरोटी बन्न पुगेको छ । अन्डा र मासु खानलाई उनीहरूले आफ्नो खल्तीबाट पैसा निकाल्नुपर्छ । एक भारोत्तोलन खेलाडी भने, ‘राखेप बुझेर पनि बुझपचाइरहेको छ, हामी बुझपचाएर पनि बुझिरहेका छौँ, के गर्ने खेलाडीको जहिले पनि रेटिने हो, रेटिरहन्छ, तै पनि सदस्यसचिव खेलकुद बुझेको व्यक्ति भएकोले केही गर्नुहुन्छ कि आशाचाहिँ मारेको छैन ।’ त्यस्तै हालत पावर गेम खेल्ने खेलाडीहरूको पनि छ । तेक्वान्दो, कराते, उसु र बक्सिङका खेलाडीहरू डाइट अपुगका कारणले निकै कमजोर बन्न पुगेका छन । काठमाडौंमा घर हुने खेलाडीले केही भरथेक गरे पनि बाहिरबाट आएर प्रशिक्षण गर्नेको भने हरिविजोग भएको छ । उनीहरूका लागि यो प्रशिक्षण ‘खाउँ भने दिनभरिको शिकार नखाउँ भने कान्छा बाउको अनुहार’जस्तै भएको छ ।
राम्रो कामको प्रशंसा गर्नुपर्छ तर अपुरोको होइन । त्यसैले अहिले राम्रो कामको सुरुवात गरेर पनि राखेपले जस पाउन सकेको छैन अर्थात् अपजसीको भागीदार बन्नुपरेको छ । तत्कालीन समयमा राष्ट्रिय टिम तयारीको शुभारम्भ गरेर वाहवाही बटुलेको राखेप अहिले सोही कारणले विवादको भुमरीमा परेको छ । प्रशिक्षणमा रहेका खेलाडीले आफ्नो माग जायज भएको भन्दै त्यो राखेपले पूरा गर्नुपर्ने आवाज बुलन्द रूपमा उठाइरहेका छन् । दुर्भाग्य, यस्तो अवस्थामा खेलाडीको हकहित र अधिकारको पक्षमा सकारात्मक निर्णय गर्दै आएको राखेप भने कर्तव्यविमुढ बन्न पुगेको छ । खेलकुद र खेलाडीको विकासप्रति सधैँ उदासीन देखिएको सरकारले खेलकुदलाई हेर्ने दृष्टिकोणलाई परिवर्तन नगर्दा राखेप अहिले निकै अप्ठ्यारोमा परेको छ । अपुग भत्ताका कारण खेलाडी प्रशिक्षण छोड्न राखेपलाई चुनौती दिइरहेका छन् भने राखेपले भने यो मुद्दामा अहिलेसम्म कुनै ठोस निर्णय गर्न सकेको छैन । यसरी जटिल बन्दै गएको यो मुद्दा समयमै समाधान नभए एक वर्षको लाखौँको लगानी बालुवामा पानी हालेसरी बन्ने प्रायः निाश्चित छ । सबैलाई चेतना भया ।
करातेको ३२ करोडको महत्वाकाङ्क्षी कार्यक्रम
नेपाल कराते महासङ्घको आयोजनामा आगामी साउन १ र २ गते कराते छनोट प्रतियोगिताको आयोजना हुने भएको छ । साग, एसियाली एवम् विश्वस्तरीय प्रतियोगितामा पदक हासिल गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हालै आयोजित प्रेस सम्मेलनमा जानकारी गराएको थियो ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा छैटाँै राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरूबाट चार टिम, चार अफिसियल कराते विधा (सितेरियो, सोतोकान, वादोरियो र गोजुरियो) बाट चार टिम, चार विभागीय टोली (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र विश्वविद्यालय टिम) गरी कुल १२ टिमको सहभागिता रहने आयोजकले जनाएका छन् ।
छनोट प्रतियोगितामा महिलातर्फ ४५, ५०, ५५, ६१, ६८, ६८ माथि, व्यक्तिगत र टिम काता गरी १० र पुरुषमा ५०, ५५, ६०, ६७, ७५, ८४, ८४ माथि, व्यक्तिगत र टिम काता गरी ११ इभेन्टसमा प्रतिस्पर्धा गराइनेछ । उक्त ११ इभेन्टमा दुई सय ७८ खेलाडीको सहभागिता रहने महासङ्घका अध्यक्ष दावा गुरुङले जानकारी गराएका थिए । यसै कार्यक्रममा नेपाल कराते महासङ्घले आफ्नो ०७०÷७१ को बार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । आठौँ दक्षिण एसियाली खेलकुदमा करातेले हासिल गरेको नतिजालाई पुनरागमन गर्ने उद्देश्यले महासङ्घले ३२ करोडको महत्वाकाङ्क्षी कार्यक्रमसहित आन्तरिक तथा बाह्य कार्यक्रमको विभिन्न २४ कार्यक्रम सार्वजनिक गरेको हो ।
उक्त वार्षिक कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव एवम् कराते महासङ्घका सरक्षक युवराज लामाले नयाँ नेतृत्व आगमनपश्चात् अराजक रहेको कराते खेलले गति लिएको बताएका थिए । उहाँले राम्रो गरेको देख्न नसक्ने केही व्यक्ति अहिले पनि अराजक स्थिति कायम गर्न लागिपरेको बताउनुभएको थियो । उहाँले अधिकतम् सहभागिता रहेको र मेडलको सम्भावना रहेको खेललाई परिषद्ले लगानी गर्ने उद्देश्य रहेको उक्त अवसरमा बताएका थिए ।
सो अवसरमा बोल्दै महासङ्घका अध्यक्ष दावा गुरुङले कार्यक्रमको लक्ष्य दक्षिण एसियाली, एसियाली र ओलम्पिकमा स्वर्ण पदक प्राप्त गर्ने रहेको बताए । आठौँ सागमा प्राप्त उपलब्धिलाई पुनस्र्थापना गर्ने सपनालाई यो कार्यक्रमले साकार पार्ने बताए । रेफ्री काउन्सिलका अध्यक्ष प्रकाशमोहन धौवडेलको प्रशिक्षणमा रहेको राष्ट्रिय टिमले विभिन्न प्रतियोगितामा प्राप्त गरेको उपलब्धिले अझ उत्कृष्ट नतिजा ल्याउनेमा विश्वस्त रहेको बताए । उनले रेफ्रीको भूमिकालाई उत्कृष्ट बनाई मेडल प्राप्त गर्न सक्षम खेलाडी उत्पादन गर्ने उद्देश्य रहेको बताए ।
दक्षिण एसियाली भलिबलमा चार टिम
प्रथम दक्षिण एसियाली आमन्त्रण पुरुष भलिबल च्याम्पियनसिपमा चार राष्ट्रको सहभागिता हुने निश्चित भएको छ । नेपाल भलिबल सङ्घको आयोजनामा प्रतियोगिता असार २८ देखि ३१ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । प्रतियोगितामा नेपालसहित श्रीलङ्का, माल्दिभ्स र अफगानिस्तानको सहभागिता निश्चित भएको भलिबल सङ्घका अध्यक्ष दानबहादुर तामाङले जानकारी गराएका छन् । सहभागीले राउन्डरविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । लिगमा शीर्ष र दोस्रो स्थानमा रहने टिमले पुनः उपाधिका लागि खेल्नेछन् । ३८ लाख ७० हजार खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिताको ५० प्रतिशतभन्दा बढी रकम राष्ट्रिय खेलकुद परिषद्ले व्यहोर्ने अध्यक्ष तामाङले बताए ।
सो प्रतियोगितामा प्रथम हुने राष्ट्रले दुई लाख, दोस्रोले एक लाख र तेस्रोले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितालाई सफल पार्न नेपाली सेनाले पनि सहयोग गर्ने भएको छ । सेनाका प्रमुख सेनानी प्रकाशजंग कार्कीले सङ्घका अध्यक्ष दानबहादुर तामाङलाई एक लाख २० हजारको चेक हस्तान्तरण गरेका थिए । त्यसैगरी भक्तपुरनिवासी भलिबल पूर्वखेलाडी तथा एभरेष्ट बैंकका शाखा प्रबन्धक रञ्जन खड्काले ५० हजार नगद प्रदान
गरेका थिए । नेपाली सेनाका प्रमुख सेनानी प्रकाशजंग कार्कीले च्याम्पियनसिपको लोगो सार्वजनिक गरेका थिए । अध्यक्ष तामाङले प्रतियोगिताको ‘टेक्निकल ह्यान्डबुक’ सार्वजनिक गरेका थिए ।
सङ्घले दर्शकका लागि फाइनल प्रतिस्पर्धा हेर्न दुई सय ५० र अन्य खेलमा एक सय ५० को टिकट काट्नुपर्ने व्यवस्था गरेको छ । सङ्घले २०१० पछि पहिलोपटक राष्ट्रिय टिमको तयारी गर्दै पत्रकार सम्मेलनका
दौरान राष्ट्रिय टिम घोषणा गरेको छ । ०६९ सालमा सङ्घद्वारा सञ्चालित विभिन्न प्रतियोगितालगायत चैत मसान्तमा काठमाडौंमा सम्पन्न प्रथम राष्ट्रिय लिग भलिबल प्रतियोगितामा सहभागी खेलाडीमध्येबाट प्रथम चरणमा २७ जना खेलाडी छनोट गरी नेपाली सेनाको लगनखेलस्थित कभर्डहलमा प्रशिक्षणपश्चात् उक्त २७ मध्येबाट उत्कृष्ट १२ खेलाडी छनोट गरेको हो ।
राष्ट्रिय टोलीका कप्तान कैलाश भट्ट चुनिएको भलिबलका मुख्य प्रशिक्षक कपिलकिशोर श्रेष्ठले बताए । ‘सातजना नयाँ खेलाडी राष्ट्रिय टिममा परेका छन्,’ श्रेष्ठले भने । नवकप्तान भट्टले तयारी राम्रो भएकाले उपाधि जित्ने आशा रहेको बताए । ‘श्रीलंका राम्रो टिम हो, श्रीलंकालाई पराजित गर्न सकेको खण्डमा हामीले उपाधि जित्ने सम्भावना छ,’ उनले भने ।
राष्ट्रिय ह्यान्डबल भदौ अन्तिममा
नेपाल ह्यान्डबल सङ्घको आयोजनामा प्रथम पुरुष खुला राष्ट्रिय ह्यान्डबल प्रतियोगिता भदौ अन्तिम साता हुने भएको छ । आयोजकका अनुसार भदौ २७ देखि २९ गतेसम्म प्रतियोगिता काठमाडौंमा हुनेछ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः २५, १५ र १० हजार रुपैयाँँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सङ्घको वार्षिक क्यालेन्डरअनुसार हुन लागेको यस प्रतियोगितामा तीन विभागीय टोली नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एपीएफ
क्लबसहित पाँँचै विकास क्षेत्रका टिमहरूको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सङ्घका अध्यक्ष तेज गुरुङको संयोजकत्वमा आठ सदस्यीय आयोजक कमिटी गठन गरिएको छ । प्रतियोगिता सञ्चालन गर्न करिब चार लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । सङ्घका महासचिव विश्वबम मल्ललाई सगरमाथा प्रतिष्ठान नेपाल र राष्ट्रिय नागरिक सरोकार केन्द्रले नागरिक सम्मानद्वारा सम्मान गरेकोमा सङ्घले मल्ललाई बधाई ज्ञापन गरेको छ ।
भलिबलका गुरु–चेली सम्मानित
पुरानो नैकापस्थित न्युडायमन्ड एकेडेमीका भलिबल प्रशिक्षक कुमार राई सम्मानित भएका छन् । उनलाई भलिबल खेलको विकास र विस्तारमा योगदान पु-याएबापत चण्डेश्वरी युवा क्लब र रामेछाप–काठमाडौं सम्पर्क समितिले नगदसहित सम्मान गरेको हो । नेपाली काङ्ग्रेस जिल्ला समिति, रामेछापका सभापति रामचन्द्र खड्काले राईलाई दोसल्ला ओढाउनुका साथै प्रशंसापत्र र नगद २० हजार रुपैयाँ प्रदान गरी सम्मान गरेका थिए । सोही अवसरमा राईकी चेली चर्चित भलिबल खेलाडी रमिला तण्डुकार र चण्डेश्वरी युवा क्लबका सहयोगी प्रेमबहादुर सुनुवारलाई पनि सम्मान गरिएको थियो । राजधानीमा आयोजित सम्मान कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष जगतबहादुर सुनुवार, टंकबहादुर सुनुवारलगायतको उपस्थिति रहेको थियो ।
ब्वाइज युनियनद्वारा कुँवर सम्मानित
त्रिपुरेश्वरस्थित ब्वाइज युनियन तेक्वान्दो डोजाङले स्विट्जरल्यान्डमा भएको डब्लूटीएफ चौथो विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा कास्य जित्न सफल नेपाली खेलाडी यादव कुँवरलाई सम्मान गरेको छ । कुँवर ब्वाइज युनियनका संस्थापक सल्लाहकार पनि हुन् । उक्त च्याम्पियनसिपमा प्रशिक्षकको भूमिका निर्वाह गरेका जनार्दन केसी पनि सम्मानित भएका थिए । उनीहरूलाई नेपाल सितोरियो कराते डो सङ्घ, नमुना शाखा डोजोका अध्यक्ष टोकन लामाले प्रशंसापत्र प्रदान गरी सम्मान गरेका थिए । गत महिना भएको प्रतियोगितामा कुँवरले ब्राजिलका खेलाडीलाई हराउँदै नेपाललाई कास्य दिलाएका थिए । नेपालले पारा तेक्वान्दोमा सहभागिता जनाएको उक्त च्याम्पियनसिप नै पहिलो हो ।
निहोन सोतोकानको राष्ट्रिय प्रतियोगिता हुने
नेपाल निहोन सितोरियो कराते डो सङ्घको आयोजनामा प्रथम राष्ट्रिय निहोन सोतोकान कराते प्रतियोगिता माघ ४ देखि ६ गतेसम्म काठमाडौंमा हुने भएको छ । प्रतियोगितामा पुरुष १२ देखि १५ वर्ष उमेर समूहमा १५–१८, १८–२०, २०–२५, २५–३०, ३०–३५, ३५–४० र खुला तौल समूहमा प्रतिस्पर्धा हुनेछ । महिलामा १२ देखि १५ वर्ष उमेर समूहमा १५–१८, १८–२०, २०–२५ तथा खुलातर्फ खेल हुनेछ । पुरुष र महिलामा टिम र एकल कातामा पनि प्रतिस्पर्धा हुने मुख्य प्रशिक्षक एवम् आयोजक सङ्घका सचिव सञ्जय लामाले जनाएका छन् । प्रतियोगितामा २१ जिल्लाका खेलाडीको सहभागिता रहनेछ । यसै प्रतियोगितालाई मध्यनजर गरी सङ्घले राष्ट्रिय रेफ्री सेमिनार तथा टेक्निकल प्रशिक्षण सञ्चालन गरेको छ ।
इन्डो–नेपाल सोतोकान शुक्रबारदेखि
नेपाल सोतोकान कराते सङ्घ (एसकेआई) को आयोजनामा इन्डो–नेपाल सोतोकान कराते च्याम्पियनसिप शुक्रबारदेखि हुने भएको छ । प्रतियोगिताको यो पाँचौँ संस्करण हो । प्रतियोगितामा ८६ स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष एवम् प्रमुख प्रशिक्षक हेमकुमार श्रेष्ठले जनाएका छन् । दुईदिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को ओलम्पियन सेमिकभर्डहलमा हुनेछ । प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री रामकुमार श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया