दक्षिण एसियाली ह्विलचेयर क्रिकेटमा प्रथम स्थान हासिल गरेको नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्रालयले पुरस्कृत गरेको छ ।
गत मंसिर २८ देखि पुस १ गतेसम्म कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको नेपाल, भारत र बंगलादेश सम्मिलित त्रिकोणात्मक शृंखलामा नेपालले उपाधि जितेको थियो । १४ खेलाडी, १ प्रशिक्षक र १ व्यवस्थापक गरी १६ जनालाई जनही १ लाख रुपैयाँ प्रदान गरिएको छ ।
खेलाडीमा हिमाल अर्याल (कप्तान), दिगमसिंह चेम्जोङ (उपकप्तान), राजु गुरुङ, दानबहादुर थिङ, जंगबहादुर मगर, विष्णु अधिकारी, विपिन पौडेल, यमबहादुर श्रेष्ठ, राजु कटुवाल, नवीन राई, रामबहादुर तामाङ, भरतबहादुर कार्की, फनिनारायण पौडेल र डम्बरबहादुर मगर रहेका छन् । प्रशिक्षकमा सुधीर चौधरी तथा व्यवस्थापकमा रवीन्द्र गुप्ता छन् ।
१६ सदस्यीय टोलीमध्ये हाललाई १२ जनाले मात्र पुरस्कार पाए । खेलाडी भरत बिरामी परेकाले कार्यक्रम उपस्थित भएनन् । खेलाडी नवीन र जंग तथा प्रशिक्षक सुधीरले मन्त्रालयमा पेस गरेको नाम र नागरिकतामा भएको नाम फरक परेकाले तत्काललाई रकम पाएनन् । उनीहरूलाई पछि रकम उपलब्ध गराइने भएको छ ।
टोलीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले सिंहदरबारमा आयोजित एक कार्यक्रमबीच पुरस्कृत गरेका हुन् ।
प्रतिक्रिया