नेपाली करातेका संस्थापक थानेश्वर राई सम्मानित भएका छन् । नेपाल सितोरियो कराते संघ, उत्तरभेगीय शाखा डोजो, बुढानीलकण्ठले आयोजना गरेको राष्ट्रिय खुला कराते प्रतियोगिताको उद्घाटन अवसरमा राई सम्मानित गरिएको हो ।
सो अवसरमा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र सगरमाथा सफल आरोहण गरेका दोस्रो डान कराते खेलाडी सुशील लिम्बू पनि सम्मानित भएका थिए । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले उनीहरूलाई सम्मानपत्र प्रदान गरी सम्मानित गरेका हुन् ।
बुढानीलकण्ठमा सञ्चालन भएको प्रतियोगितामा प्रदेश २ ले सर्वाधिक ९ स्वर्ण, ३ रजत र १ कांस्य जित्दै पहिलो स्थानमा हासिल गरेको छ । ३ स्वर्ण, ६ रजत र २ कांस्यका साथ आयोजक दोस्रो र तेस्रो स्थानमा रहेको प्रदेश ४ ले २ स्वर्ण, ३ रजत र १ कांस्य जितेको छ । प्रदेश २ का लागि सुजित तामाङ, बुद्ध मोक्तान, चाँदनी राई, सुनिता तामाङ, इशा वाइबा, सुस्मिता वाइबा, कोपिला बुढाथोकी, इलिशा तामाङ र निशा मोक्तानले स्वर्ण जितेका थिए । तिलगंगा बमजन, सन्तोष राई र किशोर तामाङले आयोजकलाई स्वर्ण दिलाएका थिए ।
प्रतियोगिताको उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका थिए । सो अवसरमा नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ, बुढानीलकण्ठ नगर खेलकुद विकास समितिका अध्यक्ष एवं आयोजक डोजोका वरिष्ठ उपाध्यक्ष प्रकाश श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । दुईदिने प्रतियोगितामा सात प्रदेश र आयोजक गरी ८ टिमका २ सय खेलाडीले विभिन्न २४ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतिक्रिया