तेक्वान्दोको टिम फाइटमा नेपाललाई स्वर्ण

तेक्वान्दोको टिम फाइटमा नेपाललाई स्वर्ण


दक्षिण कोरियामा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली राष्ट्रिय तेक्वान्दो टोली सम्मिलित पुरुषको टिमले फाइटमा स्वर्ण जितेको छ । दक्षिण कोरियाको पोहाङमा भएको पुरुषतर्फको टिम फाइटमा नेपालले फाइनलमा कोरियाको सिहान युनिभर्सिटीलाई ५८–४६ को स्कोर पराजित गर्दै स्वर्ण जितेका थिए ।

पाँच खेलाडी सम्मिलित पुरुष टिमले सेमिफाइनलमा पनि कोरियाकै टिमलाई ४८–४१ ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको टोलीका प्रशिक्षक दीपक विष्टले जानकारी गराएका छन् । पुरुष टिममा अनुज पुजारी, ज्ञानेन्द्र हमाल, वीर महरा, सागर गुभाजु र भूपेन्द्र श्रेष्ठ थिए । त्यस्तै महिलातर्फको टिम फाइटमा भने नेपाली महिला टोली रजत पदकमै सीमित भए । ३ राष्ट्र सम्मेलित टिम फाइटको फाइनलमा नेपाली महिला टिम चीनसँग ५६–४८ ले स्तब्ध भएको थियो ।

त्यसअघि नेपालले कोरियालाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो । महिलातर्फ पनि ५ खेलाडी नै थिए । नेपाली महिला टिममा ज्ञानी चुनारा, निमा गुरुङ, निसा रावल, संगीता बस्याल र अस्मिता खड्का रहेका थिए । तीन दिनको खेलबाट खेलाडीको मूल्यांकन र आगामी दिनमा सुधार गर्नुपर्ने अवस्थाबारे जानकारी लिन सहज भएको प्रशिक्षक विष्टले जानकारी दिए ।

खेलाडीको प्रदर्शनमा देखिएका केही कमजोरी पक्ष आगामी एसियन गेम्समा सुधार गर्दै खेलाडीले राम्रो प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको प्रशिक्षक विष्टले जानकारी दिए । नेपाली टोली छुम्बिक हेल्थ एन्ड साइन्स युनिभर्सिटीमा प्रशिक्षण गरिरहेको छ ।