कास्की जिल्ला भलिबल संघको अध्यक्षमा पराजुली

कास्की जिल्ला भलिबल संघको अध्यक्षमा पराजुली


कास्की जिल्ला भलिबल संघको पोखरामा सम्पन्न सातौँ साधारणसभाद्वारा संघलाई दुई वर्षका पुनर्गठन गरिएको छ । नेपाल भलिबल संघको निर्देशनअनुसार गरिएको पुनर्गठनमा भिम पराजुलीलाई पुनः आगामी दुई वर्षका लागि अध्यक्षमा चयन गरिएको छ ।

साधारणसभाले सदस्यमा एक पद रिक्त राख्दै १४ सदस्यीय कार्यसमिति पुनर्गठनसमेत गरेको हो । पुनर्गठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा खगेन्द्र गौचन, उपाध्यक्षमा बाबुराम कोसी, सचिवमा कुमार गुरुङ, कोषाध्यक्षमा टंकराज पौडेल र सहसचिवमा शेषकान्त शर्मा रहेका छन् ।

त्यसैगरी कार्यसमितिको सदस्यमा मनशान्त घिमिरे, तारानाथ पहारी, बुद्ध सिंह, राजेन्द्र जीशी, कृष्ण जोशी, योगेन्द्र बस्नेत, बलराम तिमिल्सिना र गोपाल थापा रहेका छन् । महिलाका लागि एक पद रिक्त राखिएको र यसलाई चाँडै परिपूर्ति गरिने अध्यक्ष पराजुलीले जानकारी गराएका छन् ।

निर्वाचनपछि बसेको संघको पहिलो बैठकले तीनजनालाई सल्लाहकारमा चयन गरेको छ । पोखरा लेखनाथ महानगरपालिकाका वरिष्ठ कानुनी अधिकृत तथा भलिबल संघका केन्द्रीय सल्लाहकार नारायणप्रसाद शर्मा, महिला पर्यटन उद्यमी लक्की कार्की र नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठकलाई संघको सल्लाहकारमा चयन गरेको हो ।

बैठकले आगामी ०७५ भदौ १ गतेदेखि ३ गतेसम्म पोखरामा खुल्ला पुरुष बीच भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको अध्यक्ष पराजुलीले बताएका छन् । उक्त बीच भलिबलमा प्रथम र दोस्रोले क्रमशः नगद ३० र २० हजारका साथमा मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसअघि सातौँ साधारणसभाको उद्घाटन गर्दै नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष एवम् कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष याम गुरुङले भलिबल खेलको विकासका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।