फिफा विश्वकप फुटबल २०१८ को फाइनल खेल असार ३१ गते आज (आइतबार) फ्रान्स र क्रोएसियाबीच हुँदै छ । नेपाली समयअनुसार बेलुका ८ः४५ बजेदेखि शुभारम्भ हुने फाइनल खेल रसियाको राजधानी मस्कोको लुन्जिकी रंगशालामा हुँदै छ । ८० हजार दर्शकक्षमता भएको उक्त रंगशालाको सम्पूर्ण टिकट महिनौँअघि नै बिक्री भइसकेको छ ।
विभिन्न अनुमान र अड्कललाई गलत साबित गर्दै विश्वकपको २१औँ संस्करणको फाइनलमा फ्रान्स र क्रोएसिया पुगेका छन् । फ्रान्ससँग यसअघि विश्वकप फुटबलको दुईवटा फाइनल खेल खेलेको अनुभव छ । जसमा एउटामा विजयी भएको छ भने एउटामा पराजित । क्रोएसिया विश्वकपको फाइनलमा पुगेका यो पहिलोपटक हो ।
विश्वकप फुटबलमा तेस्रो स्थान हासिल गर्न क्रोएसिया सफल भए पनि फाइनल खेलेको अनुभवचाहिँ छैन । क्रोएसिया यो विश्वकपको फाइनलमा पुग्ने कसैले कल्पना गरेका थिएनन् । यो विश्वकपमा अपराजित रहँदै क्रोएसिया फाइनलमा प्रवेश गरेको हो । क्रोएसियाले सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थियो । १ गोलले पछि परेर पनि अतिरिक्त समयमा निर्णायक गोल गर्दै क्रोएसिया फाइनलमा पुगेको थियो ।
फ्रान्स पहिलोपटक सन् १९९८ मा विश्वकपको फाइनलमा पुगेको थियो । पहिलोपटक फाइनलमा पुगेको फ्रान्सले उक्त विश्वकप जितेको थियो । त्यसपछि सन् २००६ मा पुनः फ्रान्स विश्वकपको फाइनलमा पुगे पनि इटालीसँग पराजित भएको थियो ।
फाइनल खेल फ्रान्स र क्रोएसियाबीच हुने भए पनि असली चुनौती भने फ्रान्सको डिफेन्स र क्रोएसियाको मिडफिल्डबीच हुनेछ । फ्रान्स डिफेन्स जति बलियो छ, क्रोएसियाको मिडफिल्ड त्यति नै उत्कृष्ट छ । त्यसैले क्रोएसियालाई फ्रान्सको डिफेन्स तोडेर गोल गर्नु हम्मेहम्मे पर्ने छ । त्यस्तै क्रोएसियाको मिडफिल्डलाई विश्वकै उत्कृष्ट मिडफिल्ड मानिन्छ । क्रोएसियाको शक्ति नै मिडफिल्ड भएकोले त्यसलाई रोक्न फ्रान्सले फलामकै चिउरा चपाउनुपर्नेछ । लुका मोडिक विश्वकै सर्वश्रेष्ठ मिडफिल्डर भएकाले फ्रान्सले निकै चुनौतीको सामना गर्नुपर्ने देखिन्छ ।
क्रोएसिया विश्वकपको फाइनलमा पुगेको त्यस्तो टिम हो जुन एउटा खेलाडीको भरमा टिकेको छैन । क्रोएसियाका प्रायः सबै खेलाडी एन्टे रेबिक, इवान राकिटिक, सिमे बारसाल्ज्को, इवान पेरिकिस र लुका मोडिकले टिमका लागि महत्वपूर्ण योगदान दिँदै आएका छन् । त्यस्तै क्रोएसियाका गोलकिपर डेनियर सुबासिचले निर्वाह गरेको भूमिका आफैँमा तारिफयोग्य छ ।
क्रोएसियाको मिडफिल्ड र गोलकिपर राम्रो भए पनि डिफेन्स त्यति सशक्त छैन । यही कारणले फ्रान्सको आक्रमण रोक्न क्रोएसियालाई सजिलो हुनेछैन । फ्रान्सका एन्टोनियो ग्रिजमेन, किलियन एम्बाप्पे, पाल पोग्बा, एनगोलो कान्टेलाई ९० मिनेट रोक्नु क्रोएसियाको लागि ठूलो चुनौती बन्नेछ । क्रोएसियाको सानो गल्ती फ्रान्सको लागि विश्वकपको उपाधि चुम्ने अवसर बन्न सक्छ । अझ फ्रान्सको बलियो डिफेन्स क्रोएसियाको लागि अग्निपरीक्षा हुने पक्का छ ।
प्रतिक्रिया