क्रोएसियासँगै राष्ट्रपति कोलिन्डा झन् चर्चामा

क्रोएसियासँगै राष्ट्रपति कोलिन्डा झन् चर्चामा


फिफा विश्वकपको २१ औं संस्करणमा अकल्पनीय रूपमा क्रोएसिया फाइनलमा पुगेपछि क्रोएसियाली राष्ट्रपति कोलिन्डा ग्रेबर कितारोविकको लोकप्रियता रातारात विश्वभरि चुलिएको छ ।

आयोजक राष्ट्र रसियाविरुद्ध क्रोएसियाको क्वाटर फाइनल खेल हेर्न कोलिन्डा रसिया पुगेकी थिइन् । कोलिन्डाले उक्त खेल रसियाका प्रधानमन्त्रीसँगै भिआईपी बक्समा बसेर हेरेकी थिइन् । उक्त खेलमा क्रोएसियाले अतिरिक्त समयमा सनसनीपूर्ण तरिकाले विजय हासिल गरेर सेमिफाइनलमा प्रवेश गरेको थियो ।

रसियालाई पराजित गर्दै क्रोएसिया सेमीफाइनलमा प्रवेश गरेपछि कोलिन्डा आम फुटबलदर्शककै शैलीमा खुशीले उत्तेजित बनेकी थिइन् । त्यसपछि कोलिन्डाले कुर्सीबाट उठेर ताली बजाउँदै आफ्नो टीमलाई बधाई दिएकी थिइन् । यही घटनापश्चात धेरैले कोलिन्डालाई क्रोएसियाको राष्ट्रपतिका रुपमा चिनेको थियो । अहिले उनी क्रोएसियन फुटबल टीमको सफलतासँगै विश्वभरि चर्चित बनेकी छिन् ।

आज राति ८ः४५ बजे क्रोएसियाले फ्रान्सविरुद्ध विश्वकपको फाइनल खेल खेल्दैछ । उक्त फाइनल खेल हेर्न राष्ट्रपति कोलिन्डा दोश्रोपटक रसिया (मस्को) पुगेकी छिन् । आफ्नो पहिलो उपस्थितिमा क्रोएसियालाई सेमिफाइनलसम्म पु¥याउन सफल भएकी कोलिन्डाले आज आफ्नो देशलाई विश्वकपको उपाधि जिताउन सफल होलिन् ? यतिबेला निकै चासोको विषय बनेको छ ।

क्रोएसियाको राष्ट्रपति बन्नुअघि सुपर मोडलको रुपमा विश्वभरि परिचित कोलिन्डा आफ्नो ग्ल्यामर छवीकै कारण क्रोएसियाको राष्ट्रपति बन्न सफल भएकी थिइन् । अर्थात्, आफ्नो सौन्दर्य जादूकै कारण आर्जित लोकप्रियतालाई उनले राष्ट्रपतिको कुर्सीसम्म पुग्ने हतियार बनाएकी थिइन् । यसरी मुलुककै सर्वोच्च ओहदा हासिल गर्न सफल कोलिन्डा क्रोएसियाकी चौथो राष्ट्रपति हुन् । उनले आफ्नो मोडलिङ करियरका क्रममा समुद्र किनारामा खिचाएका बोल्ड तस्बिरहरू अहिले पनि त्यत्तिकै चर्चामा छन् ।