२० वर्षपछि फ्रान्सलाई दोस्रोपटक विश्वकप उपाधि

२० वर्षपछि फ्रान्सलाई दोस्रोपटक विश्वकप उपाधि


रुसको सेन्ट मस्कोस्थित लुजनिकी रङ्गशालामा आइतबार सम्पन्न विश्वकप फुटबल–२०१८ को फाइनल खेलमा युरोपेली राष्ट्र फ्रान्सले युरोपकै क्रोएसियालाई ४–२ गोलअन्तरले हराउँदै विश्वकप फुटबलको उपाधि चुमेको छ । २० वर्षपछि अर्थात् सन् १९९८ पछि फ्रान्सलाई विश्वकपको उपाधि उचाल्ने दोस्रो अवसर हासिल भएको हो ।

खेलको १८औँ मिनेटमा क्रोएसियाका मारियो मान्जुकिकले आफ्नै पोष्टमा आत्मघाती गोल गरेका थिए । खेलको २८औँ मिनेटमा क्रोएसियाका इभान पेरिसिकले गोल गर्दै खेललाई बराबरी गरेका थिए । फ्रान्सका एन्टोनी ग्रिजम्यानले पेनाल्टी मार्फत गोल गरी २–१ को स्थितिमा पु¥याएका थिए ।

मध्यान्तरपछिको खेलमा पाउल पोग्बाले फ्रान्सका लागि तेस्रो गोल गरे । केलियन एमबाप्पेले ६५औँ मिनेटमा डिबक्स नजिकबाट फ्रान्सका लागि चौथो गोल गरे । खेलको ६९औँ मिनेटमा क्रोएसियाका मान्जुकिकले दोस्रो गोल गरे पनि हारलाई भने टार्न सकेनन् ।

फ्रान्सले यसअघि सन् १९९८ मा आफ्नै भूमिमा पहिलो पटक विश्वकप फुटबलको उपाधि जितेको थियो । युरोपको सानो राष्ट्र क्रोएसिया भने पहिलो पटक उपाधिका लागि भिडेको हो ।

यसअघि सेमिफाइनलमा फ्रान्सले बेल्जियमलाई १–०ले पराजित गरेको थियो भने क्रोएसियाले बेलायतलाई २–१ गोलअन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियोे । क्रोएसिया अनपेक्षित परिणाम निकाल्दै फाइनलमा पुगेको थियो । ब्राजिल, जर्मनी, स्पेन, अर्जेन्टिना जस्ता विश्वकप उपाधि जितिसकेका हस्तीहरु पराजित भई घर फर्केको अवस्थामा क्रोएसिया सबैलाई चकित पार्दै उपाधिको दाबेदार बनेको थियो ।