राष्ट्रपति कोलिन्डाले पुछिन् खेलाडीको आँसु

राष्ट्रपति कोलिन्डाले पुछिन् खेलाडीको आँसु


–श्रीविक्रम भण्डारी

त्यो दृश्य निकै भावुक थियो, जसको चर्चा अहिले विश्वभरि भइरहेको छ । जब क्रोएसिया विश्वकप फुटबलको फाइनलमा फ्रान्ससँगै पराजित भयो, राष्ट्रपति कोलिन्डाले आँसु थाम्न सकिनन् । कोलिन्डाले आँखामा छचल्किएको आँसु बोक्दै फ्रान्सका राष्ट्रपति इमेनुएल म्यान्क्रोलाई अंकमाल गर्दै बधाई दिएकी थिइन् । त्यसपछि ताली बजाएर दुवै टिमका खेलाडीलाई अभिवादन गरेकी कोलिन्डाले पटकपटक आँसु पुछेको दृश्यले क्रोएसियाको पराजयको पीडाले उनलाई कति सताइरहेको थियो त्यो प्रस्ट रूपमा देख्न सकिन्थ्यो ।

विश्वकपको फाइनलमा क्रोएसिया पुग्नु आफैँ अकल्पनीय थियो । तर, त्यसलाई अपेक्षित बनाउन राष्ट्रपति कोलिन्डाले निभाएको भूमिका निकै प्रशंसनीय थियो । जब क्वार्टरफाइनलमा क्रोएसिया आयोजक राष्ट्र रसियासँग भिड्ने पक्का भयो तब कोलिन्डा खेलाडीहरूको हौसला बढाउन आफ्ना सम्पूर्ण कामकाज छोडेर रसिया पुगेकी थिइन् । परिणाम क्रोएसियाले रसियालाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो । त्यतिबेला कोलिन्डा विश्वकप होइन, विश्व नै जितेजसरी प्रस्तुत भएकी थिइन् । त्यसपछि नजिकै बसेका रसियाका प्रधानमन्त्रीले समेत कोलिन्डाको खेल भावनाको सम्मान गर्दै ताली बजाएर स्वागत गरेका थिए ।

आफ्नो राष्ट्रको टिमलाई सेमिफाइनलमा पु¥याएर स्वदेश फर्किएकी कोलिन्दा क्रोएसिया फाइनलमा प्रवेश गरेपछि फाइनल खेल हेर्न दोस्रोपटक रसिया पुगेकी थिइन् । आफ्नो टिम अपराजित रहँदै विश्वकपको फाइनलमा पुगेपछि उनको हौसलामा चार चाँद लागेको थियो । त्यसपछि कोलिन्डा राष्ट्रप्रमुखको रूपमा नभई आमदर्शकको रूपमा क्रोएसियाको समर्थन गर्न फाइनल खेल हेर्न रसिया पुगेकी थिइन् । फिफा प्रेसिडेन्ड, रसियाका राष्ट्रपति र फ्रान्सका राष्ट्रपति आधिकारिक पोसाकमा रंगशालाको भीआईपी कक्षमा उपस्थित भए पनि कोलिन्डाचाहिँ क्रोएसियाको जर्सी लगाएर फाइनल खेल हेरेकी थिइन् ।

क्रोएसियालाई जिताउने कोलिन्डाले अथक् प्रयास गरे पनि परिणाम फ्रान्सको पक्षमा गएको थियो । साँचो रूपमा भन्नुपर्दा फ्रान्सले विश्वकप जित्यो भने क्रोएसियाले मन । यसर्थमा यसपटकको विश्वकपमा युरोपको सानो मुलुक क्रोएसियाले अद्भूत खेलको प्रदर्शन गरेको थियो । परिणाम विश्वभरि क्रोएसियाले लाखौँलाख समर्थकलाई आफ्नो बनाउन सफल भएको थियो । दुईवटा विश्व च्याम्पियन अर्जेन्टिना र इंग्ल्यान्डलाई पराजित गरेर क्रोएसियाले फाइनलको यात्रा तय गरेको थियो । जुन क्रोएसियाको लागि कुनै दिवास्वप्नभन्दा कम थिएन । फाइनलमा अर्को विश्वच्याम्पियन फ्रान्ससँग पराजित भए पनि क्रोएसियाले आफूलाई फुटबलको शक्तिराष्ट्रको रूपमा भने उभ्याउन सफल भयो ।

विश्वकपको उपाधिको मुखमा पुगेर पराजय भोग्नु कति पीडादायक हुन्छ, त्यो क्रोएसियाका खेलाडी र राष्ट्रपति कोलिन्डाले निकै नजिकवाट आत्मसात् गरेका छन् । अन्यथा पुरस्कार समारोहमा आफ्नो खेलाडीहरूको मलिनो अनुहार देख्दा कोलिन्डाका आँखाबाट कदापि आँसु झर्ने थिएनन् । उनले भावुक बनेर क्रोएसियाका खेलाडीहरूलाई अँगालोमा कसेर आँसु झार्ने दुस्साहस गर्ने थिइनन् । पराजयको चोट एकातिर थियो, तर फाइनलमा पुगेर क्रोएसियाले इतिहास पनि रचेको थियो । यही कुरोलाई आत्मसात् गर्दै कोलिन्डाले मन बुझाएकी थिइन् । विश्वकप साथै लाने प्रबल इच्छा बनाएर आएकी कोलिन्डाको सपना साकार नभए पनि पराजयपश्चात् पनि उनले फ्रान्सका खेलाडीप्रति देखाएको सदभाव विश्वमै चर्चाको विषय बन्यो । त्यसपछि रातारात कोलिन्डाको छवि विश्वमाझ चुलिन पुग्यो । खेलकुदमा आपसी भाइचारा र प्रेम के हो ? त्यसको उदारहणसमेत कोलिन्डालाई यतिबेला बनाइदिएको छ ।