के भन्छन् प्रशिक्षार्थी खेलाडी र प्रशिक्षक ?

के भन्छन् प्रशिक्षार्थी खेलाडी र प्रशिक्षक ?


sportखेलकुदमा भत्ता विवाद
अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन र पदक जित्ने उद्देश्यअनुरूप राष्ट्रिय खेलकुद परिषदले प्रशिक्षणको शुभारम्भ गरेको थियो । अधोगतितर्फ उन्मुख नेपाली खेलाडीको प्रदर्शनलाई सागमा स्मरणयोग्य बनाउन राखेपको यो बिलकुलै नयाँ सोच थियो । भारतमा आयोजना हुने १२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) लाई दृष्टिगत गर्दै राखेपले ‘मिसन साग’ अन्तर्गत राष्ट्रिय प्रशिक्षणको शुभारम्भ गरे पनि १२औँ सागको अन्योलसँगै प्रशिक्षण पनि धरापमा परेको थियो । तर, खेलकुद राम्रोसँग बुझेका र नजिकवाट नियाल्दै आएका राखेपका सदस्यसचिव युवराज लामाले १२औँ साग अन्योलतर्फ धकेलिए पनि प्रशिक्षणलाई निरन्तरता दिन अहम् भूमिका निर्वाह गरेका थिए । लामाकै प्रतिबद्धताका कारणले ‘मिसन साग’ बाट शुभारम्भ भएको यो प्रशिक्षणले पछि ‘राष्ट्रिय टिम तयारी प्रशिक्षण’को नाम पाएको थियो । दुर्भाग्य, ‘मिसन साग’ अन्तर्गत प्रशिक्षणमा रहेका खेलाडीले दैनिक तीन सय रुपैयाँका दरले भत्ता पाए पनि राष्ट्रिय टिम तयारीको प्रशिक्षणको शुभारम्भ भएपछि खेलाडीले खाईपाई खाएको भत्तामा आधा कटौती गरिएको थियो ।
राखेपको इतिहासमा खेलाडीले वर्षौं भत्ता पाएर प्रशिक्षण गरेको यो पहिलो अवसर हो, जसले अहिले एक वर्ष पूरा गरेको छ । ‘नहुनु मामाभन्दा कानो मामा नै राम्रो’ भन्ने उक्तिलाई आत्मसात् गर्दै प्रशिक्षणलाई सुचारु गरेको राखेपले नयाँ सोच र सकारात्मक कार्यका लागि वाहवाही बटुलेको थियो, जुन यद्यपि जारी छ । तर विडम्बना, परिवर्तित समयको मारमा परेका खेलाडीले राखेपले प्रदान गर्दै आएको भत्तामा असन्तुष्टि जाहेर गर्दै भत्ता बढाउन दबाब दिएका छन् । भत्ता नबढाए प्रशिक्षण छोड्ने धम्की खेलाडीले दिएपछि राखेप अन्योलमा परेको छ । साउनदेखि खेलाडीको भत्ता बढाउने सदस्यसचिव लामाले मौखिक जानकारी गराए पनि त्यसलाई व्यवहारमा लागू गर्ने हुन् या होइनन् त्यस्तैमा प्रशिक्षणको सास टिकेको छ । राखेपका कुनै पनि सदस्यसचिवले आँट नगरेको उत्कृष्ट कार्य सदस्यसचिव लामाले गरे पनि त्यो अहिले भत्ता–विवादका कारणले उपलब्धि बन्नु अगावै धर्मराउन पुगेको छ । राखेपले खेलाडीलाई शिरमा राख्दै आए पनि अहिले राखेपकै लाचारीले गर्दा खेलाडीको भविष्यमाथि प्रश्नचिह्न खडा भएको छ । वर्तमान अवस्थामा खेलकुदमा निकै चर्चामा रहेको ‘भत्ता’ मुद्दाबारे प्रशिक्षणमा रहेका चर्चित खेलाडी र प्रशिक्षण गराउँदै आएका प्रशिक्षकले आफ्नो अभिव्यक्ति यसरी प्रस्तुत गरेका छन् :
दीपक श्रेष्ठ (राष्ट्रिय प्रशिक्षक कराते तथा सागमा दुई स्वर्ण पदकधारी) : वास्तविक रूपमा भन्नुपर्दा अहिलेसम्म खेलकुदमा नभएको कार्य भएको छ । वर्तमान सदस्यसचिव युवराज लामाले खेलकुद र खेलाडीको हितमा एकदमै उत्कृष्ट कार्य गर्नुभएको छ । यो उदारहणीय कार्य हो । जसले गर्दा खेलाडीले वर्षैभरि प्रशिक्षण गर्ने अवसर पाएका छन् । यो प्रशिक्षणले सधैँ निरन्तरता पाउनुपर्छ । जहाँसम्म भत्ताको कुरा छ, हिजो नहुँदा पनि ठीकै थियो, अहिले भएर पनि नाक खुम्च्याउने अवस्था छ । दैनिक एक सय पचास रुपैयाँको भत्ताले एक सिफ्टमा प्रशिक्षण गर्न सकिने भए पनि दुई, तीन सिफ्टमा प्रशिक्षण गर्ने खेलाडीका लागि भने अपर्याप्त छ । कराते खेलाडीको प्रशिक्षण निरन्तर दुई सिफ्ट बिहान र बेलुकी भइरहेको हुनाले खेलाडीको हितका लागि र खेलस्तर बढाउन भत्तामा वृद्धि गर्नुपर्छ । कम्तीमा तीन सय रुपैयाँ हुनुपर्नेमा हाम्रो जोडदार माग रहेको छ ।
गंगा अधिकारी (कराते खेलाडी तथा ११औँ साग र १३औँ एसियन करातेमा स्वर्ण पदकधारी) : नेपाली खेलकुदका लागि राखेपले चालेको यो कदम निकै महत्वपूर्ण र दूरदर्शी छ । यसले खेलाडीलाई नियमित प्रशिक्षण गर्ने बानी बसाल्नुको साथै खेलस्तरमा वृद्धि गर्न अहम् भूमिका निर्वाह गरेको छ । १३औँ एसियन सितोरियो करातेमा मेरो सफलता पनि यही प्रशिक्षणसँग जोडिएको छ । निरन्तर प्रशिक्षणका कारणले गर्दा नै मैले अकल्पनीय सफलता हासिल गरेकी हुँ । यसका लागि म राखेपलाई धन्यवाद दिन चाहन्छु । खेलाडीको खेलस्तर वृद्धिका लागि डाइट र प्रशिक्षणको विशेष भूमिका रहने भएकाले अहिले दिइएको भत्ता कराते खेलाडीका लागि अपुग छ । तसर्थ खेलाडीको हितलाई ध्यानमा राख्दै अर्थात् प्रशिक्षणअनुसार भत्तामा वृद्धि गर्नुपर्छ । कम्तीमा पनि तीन सय रुपैयाँ भयो भने राम्रो हुन्थ्यो ।
संगीना वैद्य (तेक्वान्दो प्रशिक्षक तथा आठौँ, नवौँ साग र एसियन च्याम्पियनसिपमा स्वर्ण पदकधारी) : मैले निरन्तर वर्ष दिन भत्ता पाएर कहिल्यै प्रशिक्षण गर्ने सौभाग्य पाइनँ । यसमा अहिलेका खेलाडीलाई म निकै भाग्यमानी ठान्छु । राखेपले नियमित प्रशिक्षणको व्यवस्था मिलाएर एकदमै राम्रो कार्य गरेको छ । यसलाई सबै खेलाडीले सकारात्मक रूपमा लिनुपर्छ । अर्को कुरा प्रशिक्षणले अहिले मात्रै नभई भविष्यमा पनि निरन्तरता पाउनुपर्छ कुरामा मेरो विशेष जोड छ । भत्ताको कुरा गर्दा एकपटक प्रशिक्षण गर्ने खेलका खेलाडीका लागि अहिले राखेपले प्रदान गर्दै आएको रकम ठीकै भए पनि दुईपटक प्रशिक्षण गर्नेहरूका लागि भने यो रकम अपुग छ, जस्तो तेक्वान्दोका लागि । तसर्थ ‘मिसन साग’को प्रशिक्षण सञ्चालन हुँदाताका प्रदान गरिएजत्तिकै रकम दिए निकै राम्रो हुन्थ्यो । खेलाडीको पनि हौसला बढ्थ्यो ।
मनिता शाही (तेक्वान्दो खेलाडी तथा १०औँ सागमा स्वर्ण पदकधारी) : मिसन सागअन्तर्गत १२औँ सागको तयारीका लागि खेलाडीलाई डाइट र भत्ता गरी तीन सय रुपैयाँ राखेपले दिएको थियो । पछि साग नहुने भएपछि आधा कटौती गरेर एक सय ५० रुपैयाँमा झारेको हो । हामीले त्यसबेला दुई सिफ्टमा प्रशिक्षण गरेका थियौँ भने अहिले पनि सोहीअनुसार गरिरहेका छौँ । तर, भत्ता मात्र काटिएको छ । त्यसैले तेक्वान्दो खेलाडीका लागि यो रकम अपुग छ । खेलाडीको स्तर बढाउनका लागि पनि भत्ता बढाउनुपर्छ । पहिले जस्तै बिहान बेलुका डाइट दिएर सय रुपैयाँ पकेट खर्च दिए राम्रो हुन्थ्यो । अर्को कुरा पहिले महत्वपूर्ण गेमको बेलामा मात्र प्रशिक्षण दिइन्थ्यो तर अहिले वर्षैभरि प्रशिक्षण गर्न पाएका छौँ । राखेपको यो कदम निकै सकारात्मक छ, यसले सधैँ निरन्तरता पाउनुपर्छ ।
सुनिललाल जोशी (मुख्य प्रशिक्षक भारोत्तोलन) : खेलकुदको विकास गर्न दीर्घकालीन सोचको आवश्यकता छ । सदस्यसचिव खेलाडी भएको नाताले उहाँले शुभारम्भ गरेको यो कार्य खेलकुद र खेलाडी लागि निकै सकारात्मक छ । राखेपले प्रशिक्षण शुभारम्भ गर्दा यो सुरुवात मात्रै हो भने पनि अहिलेसम्म सुरुवातको भत्ताभन्दा बढी पाउन सकिएको छैन । वास्तविक रूपमा भन्ने हो यो प्रशिक्षणमा रहेका प्राय: सबै खेलाडीका लागि अपुग छ भने भारोत्तोलनका लागि त निकै कम । तसर्थ भारोत्तोलनका खेलाडीका लागि अन्य खेलाडीको दाँजोमा बढी भत्ता दिए राम्रो हने थियो । जसले गर्दा खेलाडी प्रोत्साहित हुन्थे, प्रशिक्षकलाई प्रशिक्षण गराउन सजिलो हुन्थ्यो । खै आर्थिक वर्षमा भत्ता बढने हल्ला छ, बढे भन्यो राम्रो हुने थियो ।
कमल अधिकारी (भारोत्तोलन खेलाडी तथा १०औँ सागका स्वर्ण पदकधारी) : प्रशिक्षणबिना खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सक्तैन । राखेपले प्रशिक्षणको शुभारम्भ गरेर उत्कृष्ट कार्य गरेको छ । जुन खेलकुद र खेलाडीको विकासमा सहायकसिद्ध हुनेमा दुईमत छैन । विषम परिस्थितिमा सदस्यसचिव लामाले जुन आँट र साहस देखाएर प्रशिक्षणको व्यवस्था गर्नुभयो त्यो आफैँमा स्वागतयोग्य छ, तारिफ गर्न लायक छ । यसले निरन्तरता पाउनुपर्छ भन्ने पक्षमा म छु । तर, अन्य खेलको तुलनामा भारोत्तोलनका खेलाडीलाई अधिक डाइटको आवश्यकता पर्ने भएकाले अहिले प्रदान गर्दै आएको रकम अपुग छ । त्यसमा वृद्धि गर्नुपर्नेमा मेरो जोडदार माग छ ।
विनिता महर्जन (उसु खेलाडी तथा ११औँ सागमा स्वर्ण पदकधारी) : सर्वप्रथम राखेपको यो कदम उत्कृष्ट भएकाले प्रशिक्षणले भविष्यमा पनि निरन्तरता पाउनुपर्छ । नियमित प्रशिक्षणले खेलाडीको स्तरमा निकै प्रभाव पार्ने भएकाले मैले यसलाई निकै सकारात्मक रूपमा लिएको छु । जहाँसम्म डाइटको कुरा छ त्यो हाइजेनिक हुनुपर्छ । अर्को कुरा खेलाडीले सधैँभरि एउटै प्रकारको खानेकुरा खानुपर्ने भएकाले त्यसमा परिवर्तन गरे राम्रो हुने थियो । भत्ता बढाउने कुरामा मेरो कुनै गुनासो छैन । उसुको दैनिक एक सिफ्टमा मात्र प्रशिक्षण हुने भएकोले हामीलाई पुगेकै छ । तर, एसियन गेम नजिकिँदै गएकाले उसुको पनि प्रशिक्षण बढाउनुपर्छ । प्रशिक्षण बढेपछि त्यतिबेला डाइट र भत्ता पनि बढाउनुपर्छ ।
ओम मास्के (मुख्य प्रशिक्षक बक्सिङ) : खेलकुदको विकासलाई आत्मसात् गर्दै सदस्यसचिव युवराज लामाले चालेको यो कदम आफैँमा स्वागतयोग्य छ । राखेपको यो कदमले लामो समयपछि खेलकुदमा बहार आएको छ । खेलाडीले नियमित प्रशिक्षण गर्न पाएका छन् भने उनीहरूको स्तरमा पनि विकास भएको छ । तसर्थ यो प्रशिक्षणले भविष्यमा पनि निरन्तरता पाउनुपर्छ । बक्सिङ पावर गेम भएकोले दुईपटक टेनिङ गर्दा यो रकमले पुग्दैन । राखेपले साउनदेखि भत्ता बढाउने कुरा गरेको छ, खै कति बढाउँछ थाहा छैन, तर बढाउनुपर्छ । यदि भत्ता बढ्यो भने अझ राम्रोसँग प्रशिक्षण गराउन सकिन्छ भने राम्रो डाइटले गर्दा खेलाडीले पनि राम्रो ट्रेनिङ गर्न सक्छन् ।
दिनेश श्रेष्ठ (उदीयमान बक्सिङ खेलाडी) : प्रशिक्षणको शुभारम्भसँगै खेलाडीमा आत्मविश्वास जागेर आएको छ । राखेपको यो कदमले अब खेलकुदमा केही हुन्छ कि भनेर खेलाडीको विश्वास बढेको छ । यसरी नै नियमित रूपमा प्रशिक्षण हुने हो भने खेलाडीको स्तरमा वृद्धि हुने मेरो विश्वास छ । हिजो केही नभएर पनि हामीले प्रशिक्षण गरेका थियौँ, आज राखेपले भत्ता दिँदा पनि खुलेर प्रशिक्षण गर्न सकेका छैनौँ । दुई सिफ्ट कडा टे«निङ गर्नुपर्ने भएकाले बक्सिङ खेलाडीलाई अलि डाइट पुगेको छैन । राखेपले यो कुरालाई बुझेर भत्ता बढाइदिए निकै राम्रो हुने थियो । सम्पूर्ण खेलाडीको आत्मविश्वास र जोस–जाँगर बढ्ने थियो ।

खेलका दौरान खेलाडीको विवाह
झापामा जारी आमन्त्रण बक्सिङ प्रतियोगिताको दौरान एपीएफकी खेलाडी प्रमिला पाण्डेको शुभविवाह सम्पन्न भएको छ । ४८ केजी तौलकी खेलाडी पाण्डेको नुवाकोटनिवासी अर्जुन थपलियासँग विवाह सम्पन्न भएको हो । उनले फाइनलको यात्रा तय गरेकी छिन् । प्रतियोगितालाई प्राथमिकतामा राखेर प्रतियोगिता सम्पन्नपश्चात् विवाह गर्ने सोच बनाएकी उनले असारको अन्तिम साइत भएका कारण आइतबार नै विवाह सम्पन्न गरेकी हुन् । सोमबार उनले स्वर्ण पदकको लागि प्रतिस्पर्धा गर्ने झापामा रहेका पत्रकार कुशल तिमिल्सिनाले जनाएका छन् ।

लाखे स्टोरको करातेलाई सहयोग
ठिमीको लाखे स्टोरले राष्ट्रिय कराते टिमका सदस्यलाई सहयोगस्वरूप खेल पोसाक प्रदान गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव युवराज लामा र स्टोरका प्रोप्राइटर लक्ष्मीभक्त लाखे श्रेष्ठले सम्बन्धितलाई ट्रयाकसुट र जर्सी हस्तान्तरण गरेका थिए । । सो अवसरमा १८ खेलाडी, पाँच प्रशिक्षक र एक एक व्यवस्थापक गरी २४ जनालाई जम्मा ६० हजार मूल्यबराबरको सामग्री हस्तान्तरण गरिएको थियो । राष्ट्रिय टिमका पुरुष खेलाडीमा सुनील लामा, विनोद महर्जन, मुकुन्द महर्जन, भीमबहादुर तामाङ, दिगम्बर पन्त, पर्शुराम बास्तोला, मन्डेकाजी श्रेष्ठ, गणेशबहादुर थिङ तथा केदार सिंखडा छन् । त्यस्तै महिलामा मल्लिका थापा, अनु अधिकारी, रोजी नगरकोटी, सपना लामा, कल्पना बस्नेत, गंगादेवी अधिकारी, सुभद्रा श्रेष्ठ, सुमन लामा तथा संगीता डङ्गोल रहेका छन् । प्रशिक्षकमा हीरासिंह डङ्गोल, अकबर शाह, गंगाराम महर्जन, दीपक श्रेष्ठ र छोरी डङ्गोल छन् । व्यवस्थापकमा निवासगोपाल वैद्य रहेका छन् । कार्यक्रममा बोल्दै राखेप सदस्यसचिव लामाले सहयोगले खेलाडीलाई अझ राम्रो गर्न ऊर्जा थप्ने बताउँदै खेलाडीले राम्रो गर्दै गएको खण्डमा जनस्तरबाट सहयोगको क्रम जारी रहने विश्वास व्यक्त गर्नुभयो ।
सदस्यसचिव लामाले साउन २ र ३ गते त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने कराते प्रतियोगिता राष्ट्रिय प्रतियोगिता नभई राष्ट्रिय कराते टिम छनोट प्रतियोगिता भएको स्पष्ट पारेका थिए । ‘साउन २ र ३ मा हुने कराते प्रतियोगिता राष्ट्रिय प्रतियोगिता होइन, राष्ट्रिय कराते टिम छनोट प्रतियोगिता हो । यसमा कसैलाई भ्रम नहोस्,’ सदस्यसचिव लामाले भने, ‘त्यो प्रतियोगितामा आफिसियल स्टायलका चार कराते, विभागीय टिम, राष्ट्रिय टिम र छैटौँमा दोस्रो र तेस्रो भएका खेलाडी गरी १२ टिमले प्रतिस्पर्धा गर्नेछन् । यी टिमबीचको प्रतिस्पर्धाबाट पुन: राष्ट्रिय टिमको छनोट गरिनेछ ।’ नेपाल कराते महासङ्घ एवम् नेपाल सितोरियो कराते डो सङ्घका अध्यक्ष दावा गुरुङले सहयोगले राष्ट्रिय टिमको लक्ष्यलाई ऊर्जा प्रदान गर्ने काम गरेको बताउँदै एसियाली खेलकुदसम्म करातेले पदक जितिसकेको र अबको लक्ष्य ओलम्पिक भएको बताएका थिए । स्टोरका प्रोप्राइटर श्रेष्ठले राष्ट्रको गौरव अभिवृद्धि गर्ने खेलाडीलाई सहयोग गर्न पाएकोमा खुसी प्रकट गरेका थिए ।

नेपाली सेनाको क्रिकेट टिम
नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा १८ खेलाडी सम्मिलित क्रिकेट टिम स्थापना गरिएको छ । उक्त टिमलाई हाल राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ क्रिकेट प्रशिक्षक अरुणकुमार अर्यालले प्रशिक्षण दिइरहेका छन् । निकट भविष्यमा नै क्रिकेट टिमलाई पूर्णता दिई विभिन्न राष्ट्रिय प्रतियोगितामा भाग लिइने योजना रहेको नेपाली सेनाले जनाएको छ ।
विगतदेखि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाका खेलाडीले उच्च प्रदर्शन गर्दै संस्था र राष्ट्रको साख उच्च राख्ने कार्य गर्दै आएको सन्दर्भमा हालै स्थापना गरिएको क्रिकेट टिमले पनि इतिहासको गौरव कायम राख्दै नेपाली क्रिकेट खेलको क्षेत्रमा नयाँ अध्याय थप्ने विश्वास लिइएको बताइएको छ ।

हिम्स करातेमा बालाजु च्याम्पियन
प्रथम हिम्स राष्ट्रिय खुला कराते प्रतियोगिताको उपाधि बालाजु कराते एकेडेमीले जितेको छ । बालाजुले १४ स्वर्ण, दुई रजत र पाँच कास्य जितेर च्याम्पियन बनेको हो । हिमालय इन्टरनेसनल मोडेल हायर सेकेन्डरी स्कुल (हिम्स) र नेपाल सितोरियो कराते डो सङ्घ, महाँकाल डोजोद्वारा संयुक्त आयोजित प्रतियोगितामा सितोरियो तीन स्वर्ण, ६ रजत र पाँच कास्यसाथ दोस्रो भयो भने तेस्रो स्थानमा रहेको वादोकाइले तीन स्वर्ण, ६ रजत र चार कास्य हात पारेको थियो । आयोजक हिम्स तीन स्वर्ण, पाँच रजत र १३ कास्यसाथ चौथो स्थानमा रहेको थियो । प्रतियोगिताको पुरुषमा आयोजक महाँकालका अविनाश चौधरी तथा महिलामा बालाजुकी अनुपमा मगर उत्कृष्ट खेलाडी चुनिए । पुरुषमा अमिश कार्की र महिलामा विपना तामाङ उदीयमान खेलाडी चुनिए । दुवै खेलाडी बालाजुका हुन् । मार्चपास्टमा गोजुरियो उत्कृष्ट ठहरियो भने अनुशासित टिमको उपाधि हिम्सले हात पारेको थियो ।

अखिल नेपाल खेलकुद सङ्घ क्षेत्र गठन
अर्जुनबहादुर केसीको अध्यक्षतामा बसेको अखिल नेपाल खेलकुद सङ्घको केन्द्रीय कमिटीको बैठकले पाँच विकास क्षेत्रमा अखिल नेपाल खेलकुद सङ्घ गठन गरेको छ । गठित खेलकुद सङ्घको पूर्वाञ्चल अध्यक्षमा सञ्जय परियार, मध्यमाञ्चलको अध्यक्षमा अच्युतराज लामिछाने, पश्चिमाञ्चलको अध्यक्षमा लालबहादुर विश्वकर्मा, मध्यपश्चिमाञ्चलको अध्यक्षमा पनिर अधिकारी र सुदूरपश्चिमाञ्चलको अध्यक्षमा कैलाश सुनवारलाई चयन गरिएको छ ।

सफ्ट टेनिसमा कमललाई उपाधि
नेपाल प्रहरीका कमल भण्डारीले सातौँ राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिताको पुरुष एकल उपाधि जितेका छन् । हल्चोकस्थित सशस्त्र प्रहरी बलको कोर्टमा भएको फाइनलमा कमलले मध्यमाञ्चलका मनोज सुब्बालाई ४–० को सोझो सेटमा पराजित गरेका थिए । पूर्वाञ्चलका कृष्णबहादुर राउत र मध्यमाञ्चलका सोहन धौभडेलले तेस्रो स्थानमा चित्त बुझाए । विजेतालाई उपराष्ट्रपति परमानन्द झाले पुरस्कार वितरण गरेका थिए । नेपाल सफ्ट टेनिस सङ्घद्वारा आयोजित तीनदिने प्रतियोगितामा २६ पुरुष र १६ महिला गरी ४२ खेलाडीले ६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

आदिवासीको नाममा रंगशाला
दमक÷ झापाको लखनपुर–१ स्थित निर्माणाधीन आदिवासी रंगशाला तथा स्मृति पार्क खेलकुद क्षेत्रका अधिकारीहरूद्वारा निरीक्षण गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयका सहसचिव वैकुण्ठप्रसाद काफ्लेको नेतृत्वमा आएको टोलीले रंगशालाको स्थलगत अध्ययन गरेको हो । पूर्वाञ्चलमा हुन गइरहेको सातौँ राष्ट्रिय खेलकुदको तयारीका लागि सम्भाव्यता अध्ययन गर्ने उद्देश्यले टोलीले निर्माणाधीन रंगशालाको विविध विषयमा जानकारी लिएका थिए । टोलीलाई रंगशाला समितिका पदाधिकारीहरूले बजेट अभावका कारण लामो समयदेखि निर्माणकार्य रोकिएको गुनासो राखे भने समितिका अध्यक्ष नित्यानन्द ताजपुरियाले रंगशालालाई समयमै सम्पन्न गराउन केन्द्रीय बजेट छुट्याउन माग गरेका थिए ।
टोलीमा राष्ट्रिय खेलकुद परिषद्का लेखा प्रमुख वासुदेव आचार्य, योजना अधिकृत भीम पनेरूसहितका उच्च अधिकारीहरू संलग्न रहेका थिए । अध्ययन टोलीमा रहेका राखेपका पूर्वाञ्चल क्षेत्रीय अध्यक्ष किरण राईले ७औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको एउटा खेल यही रगंशालामा गर्ने लक्ष्य रहेको जानकारी दिए । सोही प्रयोजनका लागि टोली स्थलगत अवलोकनमा आएको संलग्न अधिकारीहरूले बताए ।
रंगशाला निर्माणका लागि सरकारसँग यही आर्थिक वर्षमा पाँच करोड रुपैयाँ बजेट माग गरिएको उपभोक्ता समितिका सल्लाहकार तथा एनेकपा माओवादी क्षेत्र नम्बर ७ का संयोजक गगन पुरीले जानकारी दिए । माग गरिएकोमध्ये तीन करोड रुपैयाँ विनियोजन गर्ने आश्वासन पाएको पुरीको दाबी छ । अध्ययन टोलीले रंगशालाको चरणबद्ध निर्माणकार्यमा बजेट विनियोजन गर्न पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
पूर्वपश्चिम राजमार्गको उत्तरपट्टि करिब २९ बिघा क्षेत्रफलमा रंगशाला र पार्क निर्माण गरिने योजना रहेको छ । स्थानीय बासिन्दा, सशस्त्र प्रहरी बल पाथीभरा गणको अगुवाइमा भौतिक योजना अघि बढाइएको हो । गणको स्वामित्वको करिब २५ बिघा क्षेत्रफलमा आधुनिक किसिमको रंगशाला बनाउने योजना ०६७ सालमा सुरु भएको थियो । तत्कालीन रक्षामन्त्री विद्या भण्डारीले शिल्यान्यास गरेको एक वर्षपछि रंगशाला निर्माण थालिएको हो । राष्ट्रिय योजना आयोगको प्राथमिकता सूचीमा परेको भनिएको सो योजनाका लागि पहिलो वर्ष विनियोजित एक करोड रुपैयाँ ठेक्का प्रक्रियाबाट खर्च भएको रंगशाला निर्माण तथा रेखदेख र स्मृति पार्क व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ताजपुरियाले जानकारी दिए । सो बजेटबाट त्यहाँ ठेकेदारले माटो सम्याउने, ड्रेन बनाउने र चिहान व्यवस्थापनको काम गरेको बताइएको छ । त्यसयताका दुई वर्ष सो योजनाका लागि कुनै बजेट विनियोजन नहुँदा रंगशाला निर्माण योजना अलपत्र परेको थियो । रंगशालाभित्र १३ बिघा क्षेत्रफलको छुट्टै खेलमैदानको समेत योजना गरिएको छ ।