पाठक मञ्च

पाठक मञ्च


pathakmanchछानबिन समिति चाडबाडको जोहोको माध्यम नबनोस्
केही समयअगाडि घटना र विचार साप्ताहिकले काठेकिीराको शक्तिसामु वनरक्षक लाचार शीर्षकमा समाचार प्रकाशन गरेयता अर्घाखाँचीमा काठेकीरा र वनरक्षकहरूलाई छटपटीमा पारेको अनुभूति गरिएको छ । यर्थाततालाई अध्ययन गरी प्रकाशन गरिएको सो समाचार प्रकाशन भएपछि सकभर भित्रभित्रै मिलाउने प्रयास वन कार्यालयका प्रमुख पञ्चलाल शाहको प्रयासमा असफल भएको सम्बद्ध कर्मचारी स्रोतको कथन छ । उनैको सक्रियतामा छानबिन समिति गठन गरी साउनको पहिलो साताभित्रै कारबाही प्रक्रिया अगाडि बढाउने कुरा जिल्ला वन कार्यालय अर्घाखाँचीले तयारी गरेको पनि बुझिएको छ । जुन आफैँमा प्रशंसनीय भए पनि वन कार्यालयमा कार्यरत धेरैजसो कर्मचारीहरू नैतिकवान नभएका कारण कस्तो किसिमको छानबिन गर्ने हुन् यकिन भन्न सकिने स्थिति देखिँदैन ।
समाचारमा उल्लेख गरिएजस्तै अर्घाखाँचीको सिद्धधारा गाविसको ढुङ्गेशेरामा रहेको देवीदेउराली सामुदायिक वन घोषणा भएको दश वर्षसम्म पनि के–कति आम्दानी भयो र त्यो बजेट कहाँ कार्यान्वयन भयो भन्ने कुरा सर्वसाधारणलाई जानकारी छैन । काठको बाहुल्य रहे पनि आम्दानीको प्रभाव उक्त गाउँमा देखिँदैन । गाउँको स्थिति कर्णालीकै जस्तो रहेको छ । सो समाचारका संवाददाताले लेख्न छुटाएकोे महत्वपूर्ण कुरा के भने देवी–देउराली सामुदायिक वनभित्र करिब ढेड वर्षयता नयाँ समिति निर्माण गरिएको भए पनि बैंकको खातादेखि आवश्यकीय निर्णय पुरानै समितिल गर्ने गरेको सप्रमाण पनि छानबिनको दायरामा आउनु आवश्यक देखिन्छ ।
देवी–देउराली सामुदायिक वनलाई धेरै पहिला नै छानबिन गर्दै कारबाही प्रक्रियामा ल्याउनु जिल्ला वन कार्यालय सन्धिखर्कको धर्म भए पनि आजसम्म त्यस्तो हुन सकेको थिएन । स्थानीय जनताको समस्यालाई मनन गर्दे केही दिनअगाडि करिब ६ घन्टा पैदल यात्राको सामना सँगसँगै घटना र विचारले काठेकीराको शक्तिसामु वनरक्षक लाचार शीर्षकमा समाचार प्रकाशन गर्नुलाई सञ्चार जगत्को शानका रूपमा लिन सकिन्छ । उक्त समाचार प्रकाशनले काठेकीरा र उनलाई संरक्षण गरी कालो धन बटुल्न पल्केकाहरूलाई तनावको स्थिति सिर्जना गराएको छ । आजसम्म यति महत्वपूर्ण केसमा नजर पु-याउन नसकेको वन कार्यालयका रक्षकहरूले छानबिन प्रक्रिया समुदायको हितका लागि गर्ने हुन वा नजिकै आउन लागेका चाडबाडको जोहो मिलाउनेतर्फ नै लाग्ने हुन्, भन्न सकिन्न । तथापि, समाचारको प्रभावका कारण छानबिन प्रक्रिया अगाडि बढाएकोमा एक सय ८६ घरधुरी रहेको उक्त गाउँका जनता भने परिवर्तनको लहर भित्रिनेमा ढुक्क छन् ।
– जर्नादन घिमिरे, अर्घाखाँची