बजाज खडकको लगातार चौथो जित

बजाज खडकको लगातार चौथो जित


राजविराज नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघको आयोजनामा राजविराजमा संचालित मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत लिग चरणको अन्तिम खेलमा बजाज खडक वारियर्सले तिलाठी कोइलाडी महिन्द्रा हिरोजलाई पराजित गरेको छ ।

तीन टाली सहभागी लिगको समाप्तिपछि सबै ४ खेलमा शतप्रतिशत जितको साथ समुह बिजेताको रुपमा बजाज खडक वारियर्स तथा ४ मध्ये २ खेलमा जित र २ खेलमा हारको साथ उपविजेताको रुपमा बोदे बर्साइन थन्डर्स फाइनल प्रवेश गरेको छ ।

अन्तर्राष्ट्रिय खेलाडी मेहबुब आलम कप्तानीको तिलाठी कोइलाडीले भने चारवटै खेलमा पराजय ब्योहोरेको छ । प्रतियोगिताको फाइनल खेल भोली बुधबार ११ बजे बजाज खडक वारियर्स र बोदे बर्साइन थन्डर्सबीच खेलिनेछ ।

पब्लिक विन्देश्वरी स्कुल मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिंग गरेको तिलाठी कोइलाडीले २० ओभरमा ९ विकेट गुमाएर ११२ रनको योगफल तयार गरेको थियो । उसको लागि ओपनर राहुल मण्डलले सर्वाधिक ३० रन, समसाद शेखले २२ रन तथा विकाश दासले १६ रन बनाए । बलिङ्गतर्फ बजाज खडक वारियर्स बलर गोमनन्द अमथ, उपेन्द्र रोय, विवेक यादब र पुष्प थापाले २ र २ विकेट हात पारे ।

११३ रनको लक्ष्य वारियर्सले १६.५ ओभरमा पछ्यायो । ओपनर हरिशंकर शाहले अविजित ४७ रन तथा कप्तान विवेक यादवले अविजित ४२ रन बनाएपछि जित सहज बन्यो । शाहले ५३ बलमा ४ चौका र १ छक्का तथा यादब २२ बलमा २ चौका र ५ छक्का प्रहार गरे । हसिम अन्सारीले १६ रनको योगदान दिए ।

कप्तान विवेक यादव खेलको म्यान अफ द म्याच घोषित भए । उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधानले पुरस्मार वितरण गरे ।