१८औँ एसियन गेम्सको तयारीमा रहेका नेपाली राष्ट्रिय तेक्वान्दो टिमका प्रशिक्षकले एटीयू प्रशिक्षण लाइसेन्स कोर्स पूरा गरेका छन् । एसियन तेक्वान्दो युनियनद्वारा आयोजना भएको प्रशिक्षक लाइसेन्स कोर्स नेपालका ४ प्रशिक्षकले पूरा गरेका हुन् ।
दक्षिण कोरियाको जेजुमा नेपालका प्रशिक्षक नोर्बु लामा, बद्रीप्रसाद घिमिरे, संगीना वैद्य र दीपक विष्ट प्रशिक्षक लाइसेन्स कार्स पूरा गरेका हुन् । प्रशिक्षक लामाले पुम्सेतर्पm कोर्स गरेका थिए । बाँकी तीन प्रशिक्षकले भने ग्यरोगीको प्रशिक्षक प्रशिक्षण कोर्स पूरा गरेका हुन् ।
यो कोर्स पूरा गरेपछि मात्र विश्व तेक्वान्दो महासंघ (डब्लूटीएफ)ले आयोजना गर्ने अफिसियल गेम्समा प्रशिक्षकले प्रशिक्षण गर्न पाउने प्रावधान रहेको छ । यसअघि डब्लूटीएफले जारी गर्ने गरेको ग्लोबल लाइसेन्स भएका प्रशिक्षकले मात्र जी–१ अथवा अफिसियल गेममा प्रशिक्षण गर्न पाउने प्रावधान थियो ।
यद्यपि, एटीयूले केही समयअघि मात्र नियम परिवर्तन गर्दै एटीयू कोर्स पूरा गरेकाले मात्र अफिसियल गेम्समा प्रशिक्षण गर्न पाउने प्रावधान राखेको थियो । कोर्स पूरा गरेका नेपालका चारै प्रशिक्षक नेपाली राष्ट्रिय टोलीको वैदेशिक प्रशिक्षणका लागि हाल दक्षिण कोरियामा छन् ।
प्रतिक्रिया