दक्षिण एसियाली आईटीएफ तेक्वान्दोमा नेपाल टीम च्याम्पियन

दक्षिण एसियाली आईटीएफ तेक्वान्दोमा नेपाल टीम च्याम्पियन


नेपालले दक्षिण एसियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियनको उपाधि जितेको छ । नेपालले एकै साथ तीन ठूला उपाधि जितेको छ । नेपालले समग्रमा ५३ स्वर्ण, ५५ रजत र ८० कांस्यका साथ टिम च्याम्पियनको उपाधि हात पारेको हो ।

दोस्रो स्थानमा रहेको भारतले समग्रमा ४३ स्वर्ण, ४० रजत र ३९ कांस्य जितेको थियो । तेस्रो स्थानमा रहन सफल तुर्कमेनिस्तानले ७ स्वर्ण, २ रजत र १ कांस्य जितेको थियो ।

नेपालले जुनियर र सिनियर दुवै समूहमा पनि टिम च्याम्पियनको उपाधि हात पारेको छ । जुनियरतर्फ प्रथम स्थान हात पारेको नेपालले ३४ स्वर्ण ४३ रजत र ६१ कांस्य प्राप्त गरेको थियो । त्यस्तै भारतले ३४ स्वर्ण, १२ रजत र १२ कांस्य जितेर दोस्रो स्थानमा रहेको थियो ।

त्यस्तै सिनियरतर्फ नेपालले भारतलाई ठूलो अन्तरले पछि पारेको थियो । नेपालले पहिलो स्थानका लागि १९ स्वर्ण, १२ रजत र १९ कांस्य जित्दा दोस्रो स्थानमा रहेको भारतले भने ९ स्वर्ण, १७ रजत र २७ कांस्यमा चित्त बुझाएको थियो ।

प्रतियोगितामा ३ स्वर्ण जितेकी रुविका खड्काले सिनियर महिलातर्फ उत्कृष्ट खेलाडीको उपाधि जितिन् । उनले १८ देखि ३९ सम्मको ब्ल्याकबेल्टको स्पाइरिङमा स्वर्ण जित्दा, टिम स्पाइरिङ र टिम प्याटनमा नेपाललाई स्वर्ण दिलाउँदा महत्वपूर्ण सदस्य थिइन् ।

सिनियर पुरुषतर्फ तुर्केमिनिस्तानका घोसान याजोङले उत्कृष्ट खेलाडीको उपाधि जिते । जुनियर महिलातर्फ भारतकी के काभना तथा पुरुषतर्फ चीनका याङ पिङलिङले उत्कृष्ट खेलाडीको उपाधि जितेका थिए ।

नेपाल आईटीएफ तेक्वान्दोको आयोजनामा सम्पन्न प्रतियोगितामा नेपाललगायत भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, चीन, तुर्कमेनिस्तानका ६ सय खेलाडीले १५० स्वर्ण, १५० रजत र ३ सय कांस्य पदकका लागि प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगितामा जुनियर र सिनियरका उमेर समूह, तौल समूहमा स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन, टिम प्याट्रन, सेल्फ डिफेन्सका इभेन्टहरू समावेश गरिएको थियो ।