पाठक पत्र

पाठक पत्र


pathakmanchअवैध धन्दा मौलाएपछि भीड बेपत्ता !
वैदेशिक रोजगार विभाग कार्यालयछेउ रहेको एभरेस्ट बैंकका म्यानेजरकै मिलेमतोमा बैंकको भौचर बिक्री हुने गरेको समाचार घटना र विचार साप्ताहिकमा प्रकाशित भएपछि सम्बद्ध भ्रष्टहरूमा खलबली मच्चिएको छ । तथापि, वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रमस्वीकृतिमा कडा निगरानी राख्न थालेपछि एभरेस्ट बैंक, एजेन्ट र शाखाका कर्मचारीको मिलेमतोमा विभागबाहिरै श्रमस्वीकृति दिन थालेको छ । विभाग परिसरमा रहेको एभरेस्ट बैंकका म्यानेजर, विश्वासिला एजेन्ट र सम्बन्धित शाखाका कर्मचारीको मिलेमतोमा अवैध काम हुँदै आएको थोरै मात्र निगरानी राखे पनि प्रस्ट बुझ्न सकिन्छ ।
एकाबिहानैदेखि एजेन्टलाई लाइनमा राखेर निःशुल्क बैंक भौचरलाई प्रतिभौचर दुई सयदेखि पाँच सयसम्म लिँदै आएको बैंकले केही दिनयता बैंक भौचरमा कडाइ गरेजस्तो गरे पनि एजेन्टले बैंक कर्मचारीको खातामा रकम पठाएपछि घरघरै व्यक्तिगत (सेतो) भौचर पु-याउने गरेका छन् । त्यसको अलावा ३ बजेपछि पहुँचवाला एजेन्टलाई लाइन लगाएर होस् या गोप्य रूपमा सेतो बैंक भौचर बिक्री–वितरण हुँदै आएको कसैका सामु छिपेको छैन । अझै पनि बैंक म्यानेजर सरोज श्रेष्ठले आफूमातहतका कर्मचारीलाई व्यक्तिगत भौचर वितरण गर्न दबाब दिँदै आएबाट उनी भ्रष्ट क्रियाकलापमा कतिसम्म लिप्त रहेछन् भन्ने अनुमान लगाउन सकिन्छ ।
अर्कोतर्फ म्यानपावरमा आएका व्यक्तिगत भिसालाई सङ्कलन गरी संस्थागत बैंक भौचर काटी एकमुष्ट व्यक्तिगत श्रमस्वीकृति दिँदै आएकोसमेत बुझिएको छ । सेतो बैंक भौचर व्यक्तिगत र पहँेलो रङको संस्थागत बैंक भौचर हो । यसलाई कल्याणकारी राजस्व भनिन्छ । वैदेशिक रोजगार विभाग प्रवेश गर्ने पेन्टागन कलेजनजिकै रहेको पानीपुरी पसलदेखि बिमा र ट्राभल्सका बोर्ड राखेर अवैध धन्दा सञ्चालन गरिरहँदा सम्बन्धित निकाय भने मौनप्रायः छन् । एजेन्ट वा त्यस्ता अवैध व्यवसायीहरू भएनन् भने विभागसम्म अवैध रकम पु-याउने माध्यम नै नहुने रहेछ । विभागबाहिर झोलामा पासपोर्ट र रकम राखेर श्रम स्वीकृति नदिने हो भने विभागमा दैनिक लामो लाइन लाग्ने गर्छ । आजभोलि त्यो अवैधानिक धन्दा फस्टाएकैले वैदेशिक रोजगारीमा जाने युवाहरूको लामो लाइन विभागमा देख्न पाइँदैन ।
– हेमराज लम्साल, काठमाडौं