प्रतीक्षा परेवाका जोडीको– मेनुका खरेल (मैनाली)

प्रतीक्षा परेवाका जोडीको– मेनुका खरेल (मैनाली)


indreniसधैँ खुला आकाशमा उड्ने
परेवाका जोडी
आज कता हराए ?
गाउँ–बस्ती सबै खोजिसकँे
कतै भेटिएनन्
कतै गिद्धका आहार पो बने कि ?
जताततै सन्नाटा छाएको देख्छु
आज अचानक कता हराए !?

हत्या–हिंसा मौलाएको बेलामा
परेवाका जोडीलाई
गौतम बुद्धसम्म खबर लागिदेऊ भन्थँे
तर अब कसलाई भनौँ ?

गाउँ–बस्तीभर सन्नाटा छाएको छ
मौनता भड्किएर क्रोधमा परिणत भएको छ
धैर्यको बाँध पनि टुटिसक्यो
तिमीहरूको त्यो न्यानो गुँडमा
‘क्रान्तिकारी’ कागले राज गरिसक्यो
त्यसैले यदि नरभक्षी पिपासुको
आहारा बनेका छैनौ भने
छिट्टै फर्की आऊ, परेवाका जोडी !

काग र हुचिलहरूको क्रोधित आवाज होइन
हामीलाई तिमीहरूले छर्ने मधुर शान्तिको सन्देश प्यारो छ
वास्तवमै हाम्रा निम्ति
परेवाका जोडीबिनाको संसार अन्धकारमय छ

बालकको शिक्षा लिने पाठशालाहरू अँध्यारा छन्
भरियाले भारी बिसाएर सुस्ताउने चौतारी आज उराठ छ
त्यसैले, भ्रातृत्व र भाइचाराको सन्देश लिएर आऊ
तिम्रो आगमनको प्रतीक्षा छ ।

– रातोपुल, काठमाडौं

त्रिशूल बोकी बस्छौँ– रामेश्वर राउत ‘मातृदास’

दिने छैनौँ यो देशलाई भताभुङ्ग पार्न
नलाग हे ऽ माफिया हो महाज्योति मार्न
करोड–कोटी नेपालीका नेपाल फूलबारी
बाँच्ने छैनौँ तस्कर हो मुटु टुक्रा पारी

चेतनाको अग्निज्वाला जागिसके सारा
मानिने छन् मातृभूमि डस्ने दानव–दाह्रा
कालो धनमा भुल्नेहरू महिषासुरका खसी
रेटिने छन् भेटेजति खमारीमा कसी

हाम्रो देश रगत बुँदा–बुँदामा जीवन बग्दछन् खोला
हामी हाम्रो धरातलका अरिङ्गालका गोला
चारैप्रहार चनाखो भई त्रिशूल बोकी बस्छौँ
अन्यायीका पाँसुलामा गोर्खेलौरी कस्छौँ

धूर्त छली कपटी हो कति पार्छौ पीर
वीरैवीर अग्लेकाछन् हाम्रो हिमाल शिर
अदम्य छन् सत्यशक्ति छैन सीमा साँधी
तम्तयार छन् परम्वीर मास्ने दैत्य बाँधी
– वशिष्ठधाम, निर्झर दिचेत, सिन्धुबस्ती

गजल
– सुरेशराज वैद्य

मेरो लागि तिम्रो आँखा किन पो भिज्थ्यो होला
मेरोभन्दा आफ्नै पीडा ठूलो पो ठान्यौ होला
हुन त मानिसका आ–आफ्नै कथा हुन्छ
कथाभित्र पीडा व्यथा कति लुकाएको हुन्छ
आफ्नो भनी मलाई किन पो ठान्थ्यौ होला
मेरोभन्दा …
तिम्रो लागि के–के गरेँ दुनियाँलाई थाहा छ
तिमीले चाहेजस्तो मैले नगरेको के नै छ
यस्तो कुरा तिमीले मनमा किन राख्थ्यौ होला
मेरोभन्दा …
तिमीजस्तै मैले पनि बाँच्नु नै पर्छ यहाँ
गर्न नहुने काम पनि गर्नुपर्ने हुन्छ यहाँ
मेरो आफ्नो बाध्यता तिमीले किन बुझ्थ्यौ होला
मेरोभन्दा …