नेपाल ओलम्पिक कमिटीको विवादले खेलकुदलाई आक्रान्त पारेको लामो समय भइसकेको छ । अन्तर्राष्ट्रिय मान्यता र राष्ट्रिय मान्यताको विवाद चुलिएपछि खेलकुद बलिको बोका बनेको कतैबाट छिपेको छैन । ओलम्पिक विवाद समाधानका लागि पछिल्लो समयमा राज्यदेखि विभिन्न निकाय सक्रिय रहे पनि परिणाम अर्थहीन मात्रै बनेको थियो । त्यसपछि मिल्नुको साटो बिगँ्रदै गएको सम्बन्धले खेलकुदमा ठूलो भ्वाङ नै बनाएको थियो । सबैले ओलम्पिक विवादलाई जुँगाको लडाइँ बनाएपछि समस्या ज्युँका त्युँ रहेको थियो, जुन यद्यपि जारी छ । खेलकुदको विकासभन्दा व्यक्तिगत विकास र कुर्सीको लडाइँमा परिणत भएको ओलम्पिकको विवादमा गत साता एक्कासि नाटकीय परिवर्तन आउँदा आशाका किरणहरू देखापरेका छन् । जसले गर्दा अहिले खेलकुदमा नयाँ तरङ्ग उत्पन्न भएको छ ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधान आफ्नो दलबलका साथ राष्ट्रिय खेलकुद परिषद्मा झुल्किएपछि खेलकुदमा सनसनी फैलिएको थियो । लामो समयको अन्तरालपछि प्रधानले खेलकुद परिषद्मा पाइला टेकेपछि अड्कलबाजी लगाउनेहरूले हरेक कोणबाट यसलाई विश्लेषण गरेका थिए । धेरैले प्रधानको उपस्थितिलाई ओलम्पिक विवादसँग जोडेर हेरेका थिए ।
आखिर यस्तो टीका–टिप्पणी अड्कलबाजी हुनु स्वाभाविकै थियो पनि । यसर्थमा कि हिजोसम्म आँखाको कसिङ्गर सम्झिने र एकले अर्काको अस्तित्वलाई चुनौती दिई राखेको अवस्थामा प्रधानको उपस्थिति आफैँमा सोचनीय बनेको थियो । ‘मेरो गोरुको बाह्रै टक्का’ भन्दै हिजोसम्म आ–आफ्नो डम्फु आ–आफ्नै ताल र सुरमा बजाउँदै आएकाहरूले किन र के प्रयोजनका लागि भेटघाटका अग्रसर भए त्यो कुतूहलको विषय बन्नु अनौठो कुरा पनि थिएन ।
यही अन्योलको वातावरणमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामा र ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधानबीच राखेपमा वार्ता भएको थियो । वार्ताका क्रममा एनओसीका अध्यक्ष प्रधानले राखेपको सहयोगको अपेक्षा राख्दै निकट भविष्यमै चीनको नान्जिङमा आयोजना हुने दोस्रो युथ एसियाली खेलकुद प्रतियोगितामा नेपालको सहभागिता, १२औँ दक्षिण एसियाली खेलकुद (साग) नेपालमा गर्ने र नवनिर्मित एनओसीको भवनको उद्घाटनबारे चर्चा गरेका थिए । निषेधको राजनीति परित्याग गर्दै मेलमिलापबाट अघि बढाउन प्रधानले चालेको यो कदम अहिले खेलकुदका लागि सुखद बनेको छ । जसलाई सदस्यसचिव लामाले पनि सकारात्मक रूपमा लिएका छन् । त्यस्तै, यो कदमले आगामी दिनमा राखेप र एनओसीबीचको सम्बन्धमा पनि सुधार हुने विश्वास गरिएको छ भने ओलम्पिक विवाद समाधानका लागि यो कारणकत्व बन्ने अड्कल काटिन थालेको छ ।
वार्तापछि सदस्यसचिव लामाले भने, ‘सहकार्य सबैभन्दा ठूलो कुरा हो, विवादले कसैलाई फाइदा हँुदैन, यसको सबैभन्दा मार खेलाडीमा पर्छ, तसर्थ खेलकुद र खेलाडीको फाइदाका लागि आपसमा मिल्नुको अर्को विकल्प छैन, जसका लागि ओलम्पिक कमिटीको विवादको सदाका लागि अन्त्य गरिनुपर्छ ।’ आज जुन विशवासका एनओसीले कदम अगाडि बढाएको छ, त्यो निकै सकारात्मक छ । यसले खेलाडीहरूमा सकारात्मक सन्देश जानेछ । यो मेलमिलापको पहिलो खुड्किलो हो, भविष्यमा एनओसीले अब कस्तो सहकार्य गर्छ त्यसैमा अन्य कुरामा भरपर्ने लामाले बताए । त्यस्तै एनओसीका अध्यक्ष प्रधानले सरकारसँगको सम्बन्ध सुमधुर राख्नुपर्छ भन्ने एनओसीको भावना रहेकोले सोहीअनुरूप अगाडि बढेको बताएका छन् । नेपालको अन्तर्राष्ट्रिय सहभागितालाई विवादरहित बनाउन र खेलाडीलाई बिनाभय प्रतियोगितामा सहभागिता गराउन आफूले राखेपसँग मेलमिलापको वातावरणलाई अगाडि बढाएको प्रस्ट पारेका छन् ।
दोस्रो युथ एसियाली प्रतियोगितामा खेल र खेलाडीको सहभागिताको सन्दर्भ लामाले भने, ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा पदकको सम्भावना भएका र पूर्वतयारी गरेका खेलहरूलाई मात्र राखेपले सहयोग गर्नेछ, घुम्न जाने उद्देश्य बोकेकालाई राखेपले कुनै सहयोग गर्ने छैन, हरेक प्रतियोगितामा मुलुकको प्रतिष्ठा गाँसिने भएकोले अब सहभागिताकै लागि सहभागिता नगराइने छैन, जित्ने उद्देश्य बोकेकाका लागि सहयोग गरिन्छ तर घुम्न जानेका लागि राज्यले लगानी नगर्ने बताए । यो कुरा हामीले बुझेका छौँ त्यो कुरा अब ओलम्पिक कमिटीले पनि बुझ्नु जरुरी छ । खेलकुद सङ्घको सहभागिताबारे राखेप प्रस्ट छ भन्दै लामाले कुन खेललाई पठाउने त्यसबारे विशेष होमवर्क गरिने बताएका छन् । साथै लामाले बल्ल एनओसीले ओलम्पिक चार्टरलाई बुझ्न थालेको र अझ लचकताका साथ भविष्यमा प्रस्तुत हुनुपर्ने बताए ।
भेटघाट बाक्लिएपछि सम्बन्धमा अझ प्रगाढता आउने अध्यक्ष प्रधानको दाबी थियो । प्रधानले आफ्नो उद्देश्य सरकारसँग सुमधुर सम्बन्ध स्थापित गर्ने रहेकोले सरकारले पनि अन्तर्राष्ट्रिय मापडण्डलाई बिर्सनु नहुने बताएका छन । नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिस्तरमा पु-याउन मिलेर जानुको अर्को विकल्प नभएको भन्दै प्रधानले सबैको चाहना ओलम्पिक विवादको समाधान नै हो, हामी पनि त्यही चाहन्छौँ, कानुनसम्मत प्रक्रिया मिले आफूलाई कुनै आपत्ति नहुने बताए । प्रधानले मुलुकलाई अहिले १२औँ सागको प्रस्ताव आएको र यसलाई चार महिनाअघि दक्षिण एसियाली ओलम्पिक सङ्घका सबै आठ राष्ट्रको उपस्थितिमा निर्णय गरेको बताएका छन् । प्रधानको यो कुराप्रति सदस्यसचिव लामाले भारतले १२औँ सागको आयोजना नेपालले गरे आफूलाई कुनै आपत्ति छैन भनेको खण्डमा प्रक्रियाको शुभारम्भ गर्ने बताएका छन् । भारतको त्यस किसिमको प्रतिबद्धता आए राखेपले बोर्ड निर्णय गरेर मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने बताएका छन् । १२औँ सागको आयोजनाका लागि कम्तीमा पनि दुई वर्षको समय लाग्ने बताउँदै लामाले यो अर्को वर्ष मात्र सम्भव हुने बताएका छन् । स्मरणीय छ, १२औँ साग भारतमा हुनुपर्ने थियो, तर भारतीय ओलम्पिक कमिटीलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले निलम्बन गरेपश्चात् १२औँ साग अनिश्चित बनेको हो । जसको टुङ्गो अहिलेसम्म लाग्न सकेको छैन ।
नेपाल ओलम्पिक कमिटीको नवनिर्मित भवनको उद्घाटनमा लामालाई आउन प्रधानले आग्रह गरेपछि अहिले खेलवृत्तमा सकारात्मक सङ्केत देखिएका छन् । प्रधानको निम्तोलाई लामाले सहर्ष स्वीकारेर आफू ओलम्पिकको नभई एनओसीलाई चलाउने प्रवृत्तिको मात्र विरोधी भएको प्रस्ट पारेका छन् । ओलम्पिक कमिटी पारदर्शी नभएको, ओलम्पिक चार्टरबमोजिम नचलेको आरोप लगाउँदै आएका लामाले सो मेलमिलापको भेटमा पनि प्रधानलाई अझ पारदर्शी हुन आग्रह गरेका थिए । जे होस्, ढिलै भए पनि राम्रो कुरोको थालनी भएको छ । जसको प्रभाव आमखेलपे्रमीमा सकारात्मक परेको छ । तसर्थ खेलकुदको अग्रगामी विकासका लागि ओलम्पिक कमिटी र राखेपको सहकार्य भविष्यमा पनि यसरी नै बढोस् यही शुभकामना ।
खेल समाचारहरू
साधारणसभाको तयारीमा इक्वेस्ट्रेयन
नेपाल इक्वेस्ट्रेयन सङ्घको साधारणसभा काठमाडौंमा साउन अन्तिममा हुने भएको छ । इक्वेस्ट्रेयन सङ्घका अध्यक्षसमेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाको अध्यक्षतामा गत साता बसेको बैठकले साउन ३२ मा सङ्घको साधारणसभा गर्ने निर्णय गरेको हो । साधारणसभाले नयाँ नेतृत्वको चयन गर्ने इक्वेस्ट्रेयन सङ्घका सचिव एवम् खेलकुद विकास विभागका प्रमुख प्रकाशचन्द्र घिमिरेले जनाएका छन् ।
त्यस्तै, सङ्घले राष्ट्रिय प्रतियोगिता गर्ने निर्णय पनि गरेको छ । इतिहास दोस्रो राष्ट्रिय हर्स श प्रतियोगिता कात्तिक १४ मा काठमाडौंको टुँडिखेलमा हुनेछ । उक्त प्रतियोगितामा करिब ४० प्रतिस्पर्धीको सहभागिता रहने बताइएको छ ।
मिडिया कपविजेता पुरस्कृत
छैटौँ भर्जिन मिडिया कप फुटबल प्रतियोगिताका विजेतालाई हालै पुरस्कृत गरिएको छ । विजेता र उपविजेता तथा विभिन्न व्यक्तिगत विधाका उत्कृष्टलाई प्रतियोगिता आयोजक नेपाल ओलम्पिक सङ्ग्रहालयले नगद पुरस्कार प्रदान गरेको थियो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को हातामा रहेको सङ्ग्रहालयको कार्यालयमा आयोजित कार्यक्रममा राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख प्रकाशचन्द्र घिमिरेले सम्बन्धित सञ्चार संस्थाका प्रतिनिधिलाई पुरस्कार प्रदान गरेका थिए । सो अवसरमा मिडिया कपका सहयोगीलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो ।
विजेता इमेज च्यानलले ५० हजार तथा उपविजेता नेपाल टेलिभिजन (एनटीभी)ले २५ हजार नगद पुरस्कार प्राप्त गरेका थिए । त्यस्तै ६ गोल गर्दै प्रतियोगिताकै उच्च गोलकर्ता बनेका इमेजका पुजन श्रेष्ठ, उत्कृष्ट खेलाडी इमेजका सम्बन्ध प्रधान र उत्कृष्ट गोलरक्षक एनटीभीका सञ्जीव सिल्पकार तथा अनुशासित टिमको उपाधि हात पारेको रेडियो नेपालले पाँच–पाँच हजार नगद पुरस्कार प्राप्त गरेका थिए । घोषित उक्त पुरस्कारमा २५ प्रतिशत कर कटाइएको थियो । यो आर्थिक वर्षदेखि भने सरकारले बजेटमै पुरस्कारमा कर नलाग्ने व्यवस्था गरेको छ । असार १ देखि ११ गतेसम्म भएको प्रतियोगिताको फाइनलमा इमेजले एनटीभीलाई ६–० ले हराउँदै उपाधि जितेको थियो । प्रतियोगितामा विभिन्न सञ्चारमाध्यमका १७ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । कार्यक्रममा सङ्ग्रहालयका अध्यक्ष क्षितिजअरुण श्रेष्ठले मिडिया कप सञ्चालन गर्न जहिले पनि मैदानको समस्या हुने गरेको बताउँदै सङ्ग्रहालयले दक्षिण एसियाली मिडिया कप आयोजना गर्ने सोच बनाएको जानकारी गराए ।
महिला डबल लिग भलिबल मङ्सिरमा
ढोरपाटन स्पोर्टस् ट्रनिङ क्लबको आयोजनामा नवौँ ढोरपाटन ‘ब्लु स्काई कप’ टीभीएस महिला डबल लिग भलिबल प्रतियोगिता मङ्सिर २९ देखि पुस १३ गतेसम्म राजधानीमा हुने भएको छ । प्रतियोगितामा कम्तीमा आठ तथा बढीमा १० टिमको सहभागिता रहने कुरा आयोजकका अध्यक्ष मनवीर छन्त्यालले जानकारी गराए । छैटाँै स्थानसम्म आउने टिमले नगद पुरस्कार पाउनेछन् । पुरस्कार राशि अधिकतम् दुई लाख २६ हजार तथा न्यूनतम् १० हजार रुपैयाँ रहेको छ । उत्कृष्ट खेलाडी, वर्षखेलाडी र उदीयमान खेलाडीलाई टीभीएस स्कुटी प्रदान गरिनेछ । पत्रकार सम्मेलनमा नेपाल भलिबल सङ्घका अध्यक्ष दानबहादुर तामाङले आयोजकले विगतका प्रतियोगितामा भएका कमी–कमजोरीलाई सुधार गर्दै लैजानुपर्ने सुझाव दिएका थिए ।
डब्लूटीकेओ करातेमा ममितालाई स्वर्ण
स्विट्जरल्यान्डमा भएको डब्लूटीकेओ कराते च्याम्पियनसिपमा नेपालकी ममिता श्रेष्ठले स्वर्ण जितेकी छिन् । जुलाई १८ देखि २१ तारिखसम्म भएको प्रतियोगिताको एकल कातामा ममिताले स्वर्ण जितेकी हुन् । उक्त प्रतियोगितामा विश्वका १७ राष्ट्रको सहभागिता रहेको थियो । पदक जितेर देशको गौरव बढाएकोमा सङ्घले हालै उनलाई नगद ५० हजारसहित सम्मान गरेको छ ।
राष्ट्रिय किकबक्सिङ हुने
नेपाल किकबक्सिङ सङ्घको आयोजनामा प्रथम राष्ट्रिय किकबक्सिङ प्रतियोगता तथा रेफ्री सेमिनार साउन २४ र २५ गते राजधानीमा हुँदै छ । उक्त प्रतियोगिता र सेमिनारका लागि अन्तर्राष्ट्रिय किकबक्सिङ सङ्घका प्रमुख प्रशिक्षक इटालीका इन्रिको क्याम्पोली नेपाल आएका छन् ।
एसियाली तेक्वान्दोका पदकविजेता सम्मानित
मलेसियाको क्वालालम्पुरमा भएको दोस्रो आईटीएफ एसियाली तेक्वान्दो च्याम्पियनसिपका पदकविजेता खेलाडी सम्मानित भएका छन् । जुलाई ५ देखि ७ तारिखसम्म भएको उक्त प्रतियोगिताका रजत विजेता सीमा केसी र कास्यधारी बीएस बलामीलाई तेक्वान्दो (आईटीएफ) नेपालले प्रशंसापत्रद्वारा सम्मान गरेको हो । महिलाको सिनियर व्यक्तिगत स्पाइरिङ मिडिल वेटमा सीमाले क्वाटरफाइनलमा मलेसिया तथा सेमिफाइनलमा हङकङका खेलाडीलाई हराउँदै रजत जितेकी थिइन् । फाइनलमा सीमा हङकङकै खेलाडीसँग पराजित भएकी हुन् । भेट्रान्स खुला तौल समूह स्पाइरिङमा बलामी मलेसियाका खेलाडीसँग सेमिफाइनलमा पराजित भएपछि कास्यमा सीमित भएका थिए । प्रतियोगितमा नेपालबाट तीन खेलाडीले सहभागिता जनाएकोमा गयाजी खड्का पदकविहीन बनेका थिए । पदकविजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव युवराज लामाले प्रशंसापत्र प्रदान गरी सम्मान गरेका थिए ।
सो अवसरमा आईटीएफ नेपालका अध्यक्ष लक्ष्मण बस्नेतले सङ्घले सहभागिता जनाएको विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताबारे प्रकाश पारेका थिए ।
बास्केटबलमा साइपाल र लुम्बिनी विजयी
अन्तरकलेज ‘ए’ लेभल बास्केटबल प्रतियोगिताको गल्र्समा साइपाल एकेडेमी र ब्वाइजमा लुम्बिनी इन्टरनेसनल कलेजले उपाधि जितेका छन् । माइतीघरस्थित आयोजक सेन्टजेभियर्सको कोर्टमा भएको गल्र्सको फाइनलमा साइपालले सेन्टजेभियर्सलाई २७–१२ ले पराजित गरेको थियो । साइपालको जितमा सविना मगरले आठ अङ्क योगदान गरेकी थिइन् । पहिलो क्वाटरमा ६–२ को अग्रता लिएको साइपालले अन्तिमसम्म अग्रतालाई जोगाइराख्यो । साइपालले दोस्रोमा ७–६, तेस्रोमा १०–२ र चौथोमा ४–२ अङ्क जोड्न सफल भएको थियो ।
ब्वाइजको उपाधि भिडन्तमा लुम्बिनीले एस इन्स्टिच्युट अफ म्यानेजमेन्टमाथि ३८–२० को जित निकालेको थियो । विजयी टिमका तेन्जिङ छोग्याल लामाले १७ स्कोर गरेका थिए । पहिलो क्वाटरमा १२–३ ले अघि बढेको लुम्बिनीले दोस्रोमा ८–९ को झिनो अन्तरले पछि परेको थियो । लुम्बिनीले तेस्रोमा १०–५ र चौथोमा ८–३ को प्रदर्शन गर्दै उपाधिमाथि कब्जा जमाएको थियो । उपाधिसँगै साइपालले १० हजार र लुम्बिनीले १५ हजार नगद पुरस्कार हात पारे । ब्वाइजमा लुम्बिनीका तेन्जिङ छोग्याल लामा तथा गल्र्समा साइपालकी आर्जु रावल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
प्रतिक्रिया