गर्मीका कारण जापानमा ३० को मृत्यु

गर्मीका कारण जापानमा ३० को मृत्यु


जापानमा अत्यधिक गर्मीका कारण ३० जनाको ज्यान गएको सरकारी अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।

केही दिनयता यहाँको तापक्रम अनासायै बढेपछि व्यक्तिहरूलाई अनावश्क रूपमा घाममा नजान देशभर सूचना जारी गरिएको छ ।

अत्यधिक गर्मीको कारण उत्पन्न रोग र संक्रमणको उपचार गराउन हजारौँ व्यक्ति अस्पताल पुगेका छन् । गत हप्ताको शुरुदेखि बढेको तापक्रम मध्यजापानमा भने ४०.७ डिग्री सेल्सियससम्म पुगेको छ ।

यो तापक्रम पाँच वर्षयताकै उच्च भएको सरकारी तथ्यांक रहेको छ । यसैबीच क्योतो सहरमा लगातार सात दिनसम्म ३८ डिग्री सेल्सियसभन्दा माथि तापक्रम रहेको जनाइएको छ ।

जापानमा तापक्रमको रेकर्ड राख्न थालिएयताकै यो उच्च तापक्रम भएको जापान सरकारको मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

जापानको शिक्षा मन्त्रालयले विद्यालयलाई उच्च गर्मीबाट जोगिनका लागि सक्दो उपाय अपनाउन सूचना जारी गरेको छ ।

मंगलबार जापानको क्योतो शहरको आइची जिल्लामा सञ्चालित एक ६ वर्षीय बालकको ज्यान गएको थियो । उनको विद्यालयमै ज्यान गएको बताइएको छ ।

त्यसैले कतिपय जिल्लाका प्राथमिक विद्यालयको पठनपाठन पनि बन्द गराइएको छ । अरू एक–दुई दिनसम्म यस्तै गर्मीको मौसम रह्यो भने अन्य विद्यालय बन्द गर्नेबारे पनि सोच्न सकिने अधिकारी बताउँछन् ।

जापानमा यसै महिनाको शुरुमा भएको ठूलो वर्षाका कारण उत्पन्न बाढी र पहिरोले दुई सयभन्दा धेरैको ज्यान गएको थियो ।

उक्त बाढी र वर्षा पनि यहाँ गएको करिब ४० वर्षपछिकै सबैभन्दा ठूलो भनिएको थियो । बाढीको प्रकोप घटेपछि लगत्तै यो तातो हावा चल्न थालेको छ ।

यसलाई कतिपय मौसमविद्ले यसलाई जलवायु परिवर्तनसँग तुलना गरेर पनि हेरेका छन् । यस विषयमा यहाँका अधिकारीहरूले भने केही बताएका छैनन् ।