विभागीय टोली एपीएफका नीराजन देवकोटा र त्रिभुवन आर्मी क्लबका रुकेश महर्जन अन्नपूर्ण पोष्ट अन्तर्राष्ट्रिय कर्पाेरेट ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फ दोस्रो चरणमा प्रवेश गरेका छन् ।
नीराजनले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबका पूर्णबहादुर पाथालाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेका हुन् । दिनको पहिलो प्रतिस्पर्धात्मक खेलमा नीराजनले पूर्णलाई २१–१०, १७–२१, २१–१७ ले पराजित गरेका थिए ।
यस्तै रुकेशले बंगलादेशका मइनुल पर्भेजमाथि २१–१३, २१–१४ को सेटमा सहज जित निकाल्दै प्रतियोगिताको दोस्रो चरणको यात्रा तय गरेका हुन् । पुरुष एकलतर्फकै अन्य खेलमा विदेशी खेलाडीविरुद्ध जित हात पार्दै नेपालका वैकुण्ठ श्रेष्ठ र अखिल श्रेष्ठले पनि प्रतियोगिताको दोस्रो चरणमा स्थान सुरक्षित गरेका छन् ।
वैकुण्ठले बंगलादेशका प्रभाल हसन तालुकदारलाई २१–१६, १३–२१, २१–१० को प्रतिस्पर्धात्मक सेटमा पराजित गरे । एपास इन्टरनेसनलका अखिलले भने भारतका ऐहसान कवीर अलीविरुद्ध २१–१८, २१–१७ को सेटमा सहज जित निकालेका थिए । पुरुष एकलतर्फ भारतका राजदीप शर्माले पनि विजयी सुरुवात गरेका छन् । उनले क्षेत्र नम्बर ४ का विवेक विसीविरुद्ध २३–२१, २१–१४ को सेटमा जित निकाले ।
प्रतियोगिताको महिला एकलतर्फ प्रदेश नम्बर ४ की प्रजिता गुरुङ र प्रदेश नम्बर ६ की पुष्पा शाही विपक्षी खेलाडीबाट वाल्क ओभर पाउँदै दोस्रो चरणमा पुगेका छन् । प्रजिताले प्रदेश नम्बर ७ की विमला ओझा तथा पुष्पाले प्रदेश नम्बर ७ की मियोन तामाङबाट वाकओभर पाएका हुन् ।
महिला एकलतर्फ प्रदेश नम्बर ५ की समीक्षा न्यौपाने र सुष्मा श्रेष्ठ तथा पाकिस्तानकी सम्जाद महुर भने आ–आफ्नो खेलमा जित हात पार्दै प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन् । समीक्षाले प्रदेश नम्बर २ की स्मृति राईलाई २१–६, २१–७, सुष्माले प्रदेश नम्बर २ को चित्र हरित्वालालाई २१–११, २१–९ तथा सम्जादले प्रदेश नम्बर ६ की सेस्ना श्रीपालीमाथि २१–५, २१–२ को सेटमा जित हात पारेका हुन् ।
समीक्षाले यू–१९ महिला एकलतर्फ पनि विजयी सुरुवात गरेकी छिन् । समीक्षाले महिला एकलतर्फ बाई पाएकी प्रदेश नम्बर ४ की प्रजिता गुरुङलाई २१–१३, २१–१० ले पराजित गरिन् । यस्तै यू–१९ महिला एकलतर्फ प्रदेश नम्बर ४ की आकृति केसी, प्रदेश नम्बर ६ की अग्रिमा भण्डारी र एसबीआई बैंककी सम्भावी पलकले पनि आफ्नो पहिलो खेलमा जित हात पारेकी छिन् ।
आकृतिले प्रदेश नम्बर ५ की सुष्मा श्रेष्ठलाई २१–१८, २१–१४, अग्रिमाले प्रदेश नम्बर ६ की विश्ना विष्टलाई २१–१६, २१–१२ तथा सम्भावीले प्रितीसिंह राजवंशीलाई २१–१४, २१–१६ ले पराजित गरेका हुन् ।
यस्तै यू–१९ को पुरुष एकलतर्फ विनायकलाल श्रेष्ठ र सविन तामाङले दोस्रो चरणमा स्थान सुरक्षित गरेका छन् । विनायकले विपक्षी खेलाडी एसबीआई बैंकका सम्भारी पलकबाट वाकओभर पाएका हुन् भने सबिनले हेमाङ हाङ लिम्बूलाई २१–९, २१–३ ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेका हुन् ।
प्रतिक्रिया