उम्मेदवार चयन र ललितपुर काङ्ग्रेसको दशा

उम्मेदवार चयन र ललितपुर काङ्ग्रेसको दशा


bichar– मीनकृष्ण श्रेष्ठ
नेपालमा ०४६ सालपछि प्रजातन्त्र स्थापना भएपश्चात् ०४८ सालमा संसदीय निर्वाचन भयो । नेपाली काङ्ग्रेसका तर्फबाट ललितपुर क्षेत्र नम्बर ३ का सागरशमशेर जंगबहादुर राणाले टिकट पाए । तर, उनको हुति पुगेन या मति नै मिलेन, जनतामा भिज्ने क्षमता नभएर या जनसेवाको कर्म नपुगेर पो हो कि, उनी पराजित भई तेस्रो नम्बरमा थन्किए । त्यसपछि ०५१ सालमा मध्यावधि निर्वाचन भयो । त्यो चुनावमा पनि काङ्ग्रेसले सो क्षेत्रमा टिकट दिने अरू उम्मेदवार देखेन, उनै जबरालाई उम्मेदवार बनाएर काङ्ग्रेस निर्वाचनमा होमियो, तर राणा फेरि पराजित भए । यति मात्र होइन, ०५६ को संसदीय चुनावमा पनि सागरशमशेरलाई नै सांसद बनाउन काङ्ग्रेसले बल ग¥यो, तर पार्टीको प्रयास खेर गयो । उनी तेस्रो स्थानमै खुम्चिए । यस्तैमा ०५८ असोज १८ गते प्रजातन्त्रमाथि नै ‘कु’ भयो र सुरु भयो लोकतान्त्रिक लडाइँको अर्को शृङ्खला । हामी लोकतन्त्रप्राप्तिको आन्दोलनमा होमियौँ । स्वभावैले पनि शमशेर एन्ड कम्पनीहरू आन्दोलनको मैदानमा उत्रिने त प्रश्नै थिएन ।
लोकतान्त्रिक आन्दोलनमा यो पङ्क्तिकारलाई पार्टीले उपत्यका युवा परिचालनको जिम्मेवारी प्रदान ग¥यो । कराँतेको पूर्वअन्तर्राष्ट्रिय खेलाडी तथा अन्तर्राष्ट्रिय रेफ्रीसमेत भएको नाताले मैले हजारौँ युवा खेलाडी साथीहरूलाई समेत आन्दोलनमा सहभागी गराएँ । उक्त आन्दोलनका सिलसिलामा मेरा चेलासमेत रहेका आठौँ साफ गेमको करातेमा स्वर्णपदक ल्याएर देशको सान बढाउने जुझारु युवा रवि महर्जनलाई पाटनढोकामा गोलीसमेत लाग्यो । त्यस्तो महŒवपूर्ण आन्दोलनको घडीमा नेपाली काङ्ग्रेसले ललितपुरको नेता मानेर जिम्मेवारी सुम्पिएको व्यक्ति सागरशमशेर र उनका पुत्र उदयशमशेर जबरा भने भारत गई लुकेर बसे । विडम्बना त यो छ कि हामीजस्ताले लडेर लोकतन्त्र ल्याइदिएपछि आन्दोलनका बेला पिठ्युँ फर्काएर पलायन भएका उनै सागरशमशेरका छोरा उदय राणालाई ०६४ को संविधानसभामा टिकट दिइयो । जो ललितपुरका जनतासँग भिजेकै थिएन, जसले त्यहाँका लागि कुनै योगदान दिएकै थिएन, जसलाई चुनावी क्षेत्रको कुनै ज्ञान पनि थिएन त्यस्ता व्यक्तिलाई नातावादका आधारमा उम्मेदवार बनाइएपछि सुरुमै पार्टीको कार्यकर्ता पङ्क्ति र आममतदातामा निराशा छायो । तथापि, पार्टीको निर्णय हो एकपटक फेरि हामीले प्रयास गर्नैपर्छ भनी हामी सबै चुनावमा काङ्ग्रेसलाई जिताउन मैदानमा होमियौँ । त्यो चुनावमा पनि मलाई युवा परिचालन कमिटीको संयोजकको जिम्मेवारी दिइएको थियो । पार्टीले दिएको जिम्मेवारी काँधमा बोकी मैले पार्टीका युवा साथीहरूलाई गाउँ–गाउँमा परिचालित गरँे । भर्खर शहर पसेको माओवादीको ज्यादतीपूर्ण बिगबिगी बढेकोले अत्यन्त संशयपूर्ण अवस्था थियो त्यो । ललितपुरका गाउँ–गाउँमा अनेक स्तरका भिडन्तहरू भए । चापागाउँ, झरुवाराशी, लेले, बडिखेल, गोदावरी, विशङ्खुनारायण, छम्पी, डुकु, देवीचौरलगायत गाउँ नेपाली काङ्ग्रेसको पकडमा रहे पनि इकुडोल, कालेश्वर, गिम्दी, आस्राङ, ठूलादुर्लुङ, जस्ता विगतमा काङ्ग्रेसको पक्षमा रहेको गाउँलाई माओवादीले बलजफ्ती रूपमा कब्जा ग¥यो । माओवादीको ज्यादती आफ्नो ठाउँमा थियो तर हाम्रो उम्मेदवारको कमजोरी या असक्षमताका कारण नै त्यस्तो अवस्था निम्तिएको साथीहरूको विश्लेषण गलत थिएन । यसरी त्यहाँनेर पनि काङ्ग्रेसको उम्मेदवार नालायक सावित भइदियो । यदि उम्मेदवार चयन गर्दा ऊ कति जनतामा भिजेको छ, कार्यकर्तापङ्क्तिमा उसको कति पकड छ, परिस्थिति के छ र त्यसको मुकाबिला गर्ने रणनीति, क्षमता र सुझबुझ उम्मेदवारसँग छ कि छैन भन्ने कुरामा ध्यान पु¥याइएको भए अवश्य पनि त्यो क्षेत्रमा काङ्ग्रेसको हार हुने थिएन भन्नेमा अहिले पनि ललितपुरवासी र विशेषगरी एक नम्बर क्षेत्रका काङ्ग्रेसजनमा कुनै असहमति देखिन्न ।
यस्तो परिवेशमा फेरि मुलुक संविधानसभाको निर्वाचनतिर अग्रसर छ । मङ्सिर ४ मा हुने निर्वाचनको सरगर्मी बढ्दै छ । सरकार र प्रमुख राजनीतिक दलहरू चुनावको तयारीमा जोडतोडले लागिपरेका छन् । असन्तुष्ट पक्षलाई मनाउने प्रयासहरू पनि भइरहेका छन् । सबै कुराहरू मिलेर निर्धारित मितिमै चुनाव हुने भयो भने फेरि पनि उम्मेदवार चयनको प्रक्रियामा सबै दलहरू प्रवेश गर्नैपर्ने हुन्छ । यस सन्दर्भमा काङ्ग्रेस पार्टीलाई मुलुक हाँक्ने स्थानमा देख्न चाहने लोकतन्त्रप्रति वफादार एक जुझारु काङ्ग्रेसी कार्यकर्ता हुनुको नाताले पङ्क्तिकार पार्टीका आदरणीय सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगायत संसदीय बोर्डको जिम्मेवारी पाउने नेताज्यूहरूसमक्ष आग्रह र अनुरोध गर्न चाहन्छ कि विगतका कमी–कमजोरीबाट पाठ सिक्दै उम्मेदवार चयनमा विवेक पु¥याइयोस् । नातावाद, कृपावाद, चाकडी–चाप्लुसीलाई होइन मुलुकभरका चुनावी क्षेत्रको आवश्यकता, उम्मेदवारको क्षमता, उसका योगदान र प्रतिवद्धतामाथि ध्यान पु¥याएर मात्र उम्मेदवार छनोट गरियोस् । ललितपुर क्षेत्र नम्बर १ को सवालमा भन्नुपर्दा यहाँका २८ गाविसमध्ये कैयनमा अझैसम्म मोटर बाटो पुग्न सकेको छैन, सौखिन वा ‘टुरिस्ट’ उम्मेदवारले यहाँका विकट गाउँ–ठाउँमा पैदल यात्रा गरेर आममतदाताको घरमा पाइला राख्न पनि सक्लान्–नसक्लान्, विगतको चुनावले त यस्तै देखाएको छ । त्यसैले जो सम्बन्धित गाउँ या क्षेत्रमा भिजेको छ, जसको प्रभाव छ, जो त्यस क्षेत्रको दुःखसुखसँग परिचित छ, जसले त्यहाँको विकास निर्माण र उन्नतिका लागि पहलकदमी लिन सक्छ, जसले आजको अत्यन्त कठिन राजनीतिक परिवेशसँग मुकाबिला गर्दै पार्टी–कार्यकर्ताको रक्षा गर्न सक्छ, त्यस्ता व्यक्ति पहिचान गरेर उम्मेदवारीको टिकट प्रदान गरिनुपर्छ । गैरप्रजातान्त्रिक तŒवहरू हाबी भई देश निरङ्कुशताको भासतर्फ उन्मुख हुने सम्भावना बढिरहेको आजको परिवेशमा नेपाली काङ्ग्रेसले मात्र प्रजातन्त्रको रक्षा गर्न सक्छ । पार्टीले उम्मेदवार चयनको सवालमा विवेक पु¥याउन सके मुलुकभर फेरि पनि नेपाली काङ्ग्रेसको चारतारे झन्डा फर्फराउने र लोकतान्त्रिक पद्धति मजबुत भई विश्वपरिवेशअनुरूप नेपाल अघि बढ्नेमा शङ्का गर्नै पर्दैन । जय नेपाल †
– मीन कृष्ण श्रेष्ठ, ललितपुर