– श्रीविक्रम भण्डारी
‘असार २ गते पनि नियमित प्रशिक्षणमा थिएँ । खेलाडीलाई प्रशिक्षण गराउँदागराउँदै एक्कासि मसल जाम भयो । दुवै हातखुट्टा करकर खाएर दुख्न थाल्यो । यस्तो असह्य पीडा भयो कि म त्यसको वर्णन गर्न सक्तिनँ । केही घन्टापश्चात् बिस्तारैबिस्तारै कमजोरीले गाँज्दै गयो, हातखुट्टा पूर्णरूपले चल्न बन्द भए । त्यसपछि म आत्तिएर पसिनाले निथ्रुक्क भिजेँ । के गर्ने के नगर्ने भन्ने कुरामा कुनै निर्णय नै गर्न सकिनँ । मनमा भने अप्रिय घटना घट्ने हो कि भन्ने सन्त्रासले मात्रै पिरोलिरह्यो । त्यसपछि तुरुन्तै काठमाडौं गएर उपचार गर्ने निर्णय गरेँ । असार ३ गते बाँसबारीस्थित न्युरो अस्पताल पुगेपछि राहतको सास फेरेँ । न्युरो अस्पतालमा १६ दिन नियमित उपचार गरेपछि अहिलेको अवस्थामा पुगेको छु । अहिले पहिलेको भन्दा केही राहतको महसुस गरेको छु, वैशाखीको साहारामा हिँडडुल गर्न सक्ने भएको छु,’ घटना र विचारसँगको कुराकानीमा कीर्तिमानी धावक हरि रोकायले आफूप्रति घटेको दुःखद घटना यसरी सुनाएका थिए ।
सीमित खर्च बोकेर राजधानी पसेका रोकायको उपचारको क्रममा नसामा कमजोरी देखियो । रोकायको उपचार गरेका डाक्टर लेखजंग थापाका अनुसार ‘आउटपुट बढी र इनपुट कमी’ भएका कारण यस्तो समस्या आएको हो । ट्रेनिङ बढी भएका कारण नसासम्बन्धी रोगको सिकार बनेका रोकायको स्वास्थ्य यतिबेला सामान्य छ । औषधिको प्रभावका कारण उनी उठबस र हिँडडुल सक्ने भएका छन् । यस्तो बिरामी भएको व्यक्ति कम्तीमा ६ महिना उठ्न नसक्ने डाक्टरले सुनाएको बताउने रोकायले यो मामलामा आफू निकै भाग्यमानी भएको र मात्र १६ दिनमै डिसचार्ज भएको बताएका छन् । तीन महिनामा शरीर सन्तुलन हुने र आफू पूर्ण रूपमा स्वस्थ हुन ६ महिना लाग्ने डाक्टरले भनेको रोकायले सुनाए ।

यतिबेला अस्पतालबाट डिसचार्ज भएर छोराको डेरामा बस्दै आएका रोकायले अहिलेसम्म अर्थात् १ महिनाको उपचारको क्रममा ६ लाख ५० हजारभन्दा बढी खर्च भइसकेको बताए । उपचारको क्रममा केही आर्थिक सहयोग पाए पनि अन्य सबै खर्च व्यक्तिगत रूपमा गरेको सुनाए । छोराले ऋण लिएर उपचारको खर्च टारिरहेको छ, कहिलेसम्म टार्ने हो आफूलाई केही थाहा छैन । राष्ट्रिय खेलकुद परिषद्ले राष्ट्रिय खेलाडी कोषबाट रोकायलाई १ लाख प्रदान गरेको थियो । उक्त रकमबराबरको चेक राखेपका सदस्यसचिव केशवकुमार विष्टले लोकन्थली गएर हस्तान्तरण गरेका थिए । सो अवसरमा विष्टले रोकायको स्वास्थ्य अवस्थाको जानकारी लिनुका साथै शीघ्र स्वास्थ्यलामको कामना गर्दै थप सहयोगको लागि के गर्न सकिन्छ त्यसको लागि पहल गर्ने बताएको रोकायले जानकारी गराएका छन् । त्यस्तै चन्दननाथ नगरपालिका जुम्लाले ५० हजार र विदेश बस्ने पूर्व राष्ट्रिय बक्सिङ खेलाडी साथी दिलबहादुर कठायतले ३० हजार नगद दिएको बताए । त्योबाहेक आफूले कुनै निकायबाट एक पैसा आर्थिक सहयोग नपाएको बताउने रोकायले कर्णाली प्रदेशले १ लाख दिने भनेर घोषणा गरे पनि अहिलेसम्म रकम हातमा नपरेको सुनाए ।
आर्थिक समस्याले गाँजेपछि निकै हतोत्साही बनेका रोकायले खेलाडी भएर राष्ट्रको लागि रगतपसिना बगाएको व्यक्ति आज बिरामी भएर बस्नुपर्दा कसैले चासो नदेखाएपछि आफू निकै अपहेलित भएको बताएका छन् । ‘यदि म कुनै राजनीतिक पार्टीको कार्यकर्ता भएको भए धेरै सहयोग पाउँथेँ होला, विदेशमा लगेर मेरो उपचार हुन्थ्यो होला, आफू परियो विशुद्ध खेलाडी कसले गर्छ आर्थिक सहयोग ?’-रोकायले दुुःखेसो पोखे । आफू बिरामीले थलिएर बसेको १ महिनाभन्दा बढी समय भइसक्दा पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले अहिलेसम्म कुनै सहयोग नगरेकोमा गुनासो पोखेका छन् । सङ्घका एकजना साथी भेट्न आउनुभएको थियो, मेरो स्वास्थ्यको जानकारी लिनुभयो, सहयोग गर्ने कुरा पनि गर्नुभएको थियो, तर त्यसपछि उहाँ सम्पर्कमै आउनुभएन । यस्तै रहेछ, खेलकुद चलन यसैमा चित्त बुझाएको छु । साथै उनले आफ्नो उपचारको लागि सहयोग गर्ने राखेप र चन्दननाथ नगरपालिकालाई धन्यवाद दिन भने भुलेनन् ।
आर्थिक समस्याले गाँजेपछि निकै हतोत्साही बनेका रोकायले खेलाडी भएर राष्ट्रको लागि रगतपसिना बगाएको व्यक्ति आज बिरामी भएर बस्नुपर्दा कसैले चासो नदेखाएपछि आफू निकै अपहेलित भएको बताएका छन् । ‘यदि म कुनै राजनीतिक पार्टीको कार्यकर्ता भएको भए धेरै सहयोग पाउँथेँ होला, विदेशमा लगेर मेरो उपचार हुन्थ्यो होला, आफू परियो विशुद्ध खेलाडी कसले गर्छ आर्थिक सहयोग ?’-रोकायले दुुःखेसो पोखे ।
तपाईंलाई कसले सहयोग गरिदियोस् जस्तो लागेको छ भन्ने प्रश्नमा रोकायले भने, ‘सरकारले सहयोग गर्नुपर्ने हो, मैलेभन्दा पनि उहाँहरूले सोच्नुपर्ने हो, विश्वमा नेपालको नाम राखेँ, गिनिजबुकमा दुईचोटि नाम लेखाएँ, एउटा नेपाली खेलाडीले त्योभन्दा के गर्न सक्छ । मेरो चाहना भनेको सरकारले राम्रोसँग उपचार गराइदेओस्, निको बनाइदिओस, म जुम्ला फर्किएर खेलाडीलाई प्रशिक्षण गर्न सकुँ । किनकि मसँग थुप्रै प्रतिभाशाली खेलाडी छन् । यदि मलाई सरकारले सहयोग गरेर निको भएँ भने ती खेलाडीमा सकारात्मक प्रभाव पर्नेछ ।
‘औषधि निकै महँगो रहेछ, किन्नै नसकिने । छोराले कसरी जुगाड गरिरहेको छ मलाई थाहा छैन । औषधिको मूल्य कति पर्छ त्यो पनि थाहा छैन । खालि छोराले महँगो छ भनेको मात्रै सुनेको छु । राखेपको प्रशिक्षकको तलब कति हुन्छ र आफूले यति ठूलो रकम उपचारको लागि खर्च सक्नु ? त्यो तलबले परिवार पाल्ने कि उपचार गर्ने ? यो उपचार मेरो हैसियतभन्दा निकै माथिको हो । छोराले कहाँ–कहाँबाट ऋण लिएर उपचार गरिरहेको छ उसैलाई थाहा होला । यति धेरै रकम खर्च भइसक्यो, चाँडै निको भइदिए त हुन्थ्यो, डाक्टरले पूर्ण रूपमा निको हुन ६ महिना लाग्छ भनेका छन्, खै त्यतिबेलासम्म कस्तो हुन्छ ? त्यसै भन्न सक्दिनँ । अहिलेको सुधारिएको अवस्था देख्दा त चाँडै निको होला जस्तो लागेको छ, तर थेरापी गर्न छोडेपछि कस्तो हुन्छ त्यो हेर्न बाँकी छ,’ रोकायले भने । रोकाय अहिले दैनिक रूपमा थेपारी गरिरहेका छन् ।
हिमाली चितुवाको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा परिचित ५४ वर्षीय रोकायले विश्वको सबैभन्दा अग्लो भागमा आयोजना हुने एभरेष्ट म्याराथन लगातार तीनपटक जितेर राष्ट्रको नाम अन्तराष्ट्रियस्तरमा चिनाउन सफल खेलाडी हुन् । यही प्रतियोगिताबाट रोकायले आफ्नो गिनिज बुक अफ बल्र्ड रेकर्डस्मा समेत आफ्नो नाम लेखाउन सफल भएका थिए । रोकाय गिनिज बुकमा नाम लेखाउने पहिलो नेपाली खेलाडी हुन् । उनले आफ्नो खेलजीवनको सुरुवात ५ हजार र १० हजार मिटर दौडबाट सुरु गरेका थिए । त्यसपछि रोकायले ४ वटा दक्षिण एसियाली खेलकुद, २ एसियाली खेलकुद र २ ओलम्पिक खेलमा सहभागिता जनाइसकेका छन् । उनले विभिन्न अन्तर्राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा सहभागिता जनाएर २ स्वर्ण १ रजत र ४ कांस्य पदक जितेका छन् । रोकाय राखेपअन्तर्गत जुम्ला जिल्ला खेलकुद विकास समितिको एथलेटिक्सका स्थायी प्रशिक्षक हुन् ।
प्रतिक्रिया