पाठक मञ्च

पाठक मञ्च


pathakmanchबुद्धको विषयले विश्वमै बबाल नहोला ?
पच्चीस सय वर्षभन्दा पहिले नेपालको लुम्बिनीमा राजा शुद्धोधन र मायादेवीको सुपुत्रका रूपमा जन्मेका सिद्धार्थ गौतमपछि ध्यान र ज्ञानले ‘भगवान् गौतम बुद्ध’मा परिणत भए । तिनै बुद्धको नामले यतिबेला नेपाल गर्वसाथ भन्दै छ– शान्तिका प्रतीक गौतमबुद्ध जन्मेको देश नेपाल । तर विडम्बना ! बुद्ध नेपालमा जन्मेका हुन् भन्ने तथ्य स्थापित गराउनका लागि सञ्चारकर्मी रवि लामिछानेले १० लाख नेपालीको हस्ताक्षर सङ्कलन गरेर संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि मुनलाई बुझाउन लागेको हस्ताक्षर अभियानले लामो समयसम्म पूर्णता नपाउनुले के बुझाउँछ ? तीन करोड नेपालीबाट दश लाखको हस्ताक्षर नपुग्दा कस्तो अर्थ लाग्ला ? कदाचित दश लाख हस्ताक्षर पु-याएर वान कि मुनलाई बुझाउँदा बाँकी अरू सारा नेपालीको विमति रहेछ भन्ने देखिन्छ कि देखिँदैन ? यदि अर्को कुनै देशले आफ्ना नागरिकको करोड हस्ताक्षर सङ्कलन गरेर बुद्ध नेपालमा जन्मेका होइनन् भनेर राष्ट्रसङ्घलाई बुझायो भने के गर्ने ?
विश्वलाई बुद्ध लुम्बिनीमा जन्मेका हुन् र लुम्बिनी नेपालमा पर्छ भन्ने कुराको जानकारी भइसकेको प्रमाणित कुरालाई अन्योलमा पार्ने कार्यस्वरूप १० लाखको हस्ताक्षर अभियान अलपत्र परेको अवस्थामा सुर्खेतको काँक्रेबिहारमा बुद्धको मूर्ति ठड्याउने पक्ष र विपक्षमा आन्दोलन र बहस सुरु भएको छ । काँक्रेबिहारमा बुद्धमूर्ति राख्न मिल्दैन, नराखियोस् भनेर सर्वोच्चमा रिटसमेत दायर भएको सुनिएको छ । योभन्दा विडम्बना अरू के हुन सक्छ ? अब विचार गर्नुपर्छ कि कसले कसलाई कहाँबाट के गर्न अराइरहेछ ? नत्र संसारमा शान्तिको दूत भनेर चिनिने गौतम बुद्धको मूर्ति सुर्खेतमा राख्न नदिनुको मतलब के ? बुद्धलाई घृणा गर भनेर अह्राउने तत्व कताबाट प्रवेश ग-यो नेपालमा ?
पृथ्वीको बनोटसँगै प्रकृतिले दिएको सगरमाथा र चान्सवश जन्मेका शान्तिका दूत बुद्धबाहेक नेपाललाई चिनाउने अरू कुनै गतिला कुरा वा काम नभएको अवस्थामा गौतम बुद्धलाई अवहेलना गरेर मूर्ति राख्न नदिन होहल्ला मच्चाउने र १० लाख हस्ताक्षर सङ्कलनकर्ताको कतै मिलेमतो त छैन ? शङ्का गर्नुपर्ने भएको छ ।
त्यति मात्र नभएर ०६२/६३ को आन्दोलनद्वारा मरेको प्रतिनिधिसभा ब्युँताउन लगाउने बेलादेखि सुरु भएको खेलले राजतन्त्रको समाप्ति र गणतन्त्रको घोषणा भन्दै करिब–करिब मुलुकको अस्मिता नै विदेशीलाई जिम्मा लगाउन लागेकाहरूले बुद्ध र लुम्बिनीको सम्बन्ध नेपालबाट टाढा पु-याउने खेलअन्तर्गत नै काँक्रेबिहारमा बुद्धको मूर्ति राख्न नदिइएको रूपमा बुझ्दा सायद अतिशयोक्तियुक्त होलाजस्तो लाग्दैन । यति कुरा बुझ्न सहजै भए पनि हल्लिखल्ली मच्चाउने माउ को हो भन्ने कुराचाहिँ अझै पत्ता लागेको अवस्था छैन ।
बिचरा काँक्रेबिहारमा बुद्धको मूर्ति राख्न हुँदैन भन्ने अनाडीहरू कसको उक्साहटमा लागेर आफ्नैविरुद्ध आफैँलाई उभ्याउँदै छन् ? नेपालको नाम निसाना मेटाउन त्यति सहज छैन भन्ने कुरा रामै्र बुझेका योजनाकारले इराक, अफगानिस्तान लिबिया र सिरियाको मामिलाका आधारमा नेपाल मामलाले तेस्रो विश्व युद्ध निम्तिनेछ भन्ने कुरा पनि राम्रैसँग बुझेको हुनुपर्छ ।
नेपालीले बुद्धको अपमान गर्नु भनेको नेपाल र पूरै नेपाली जनताको अपमान गर्नु हो भन्ने ख्याल गरिँदैन भने उसलाई पक्कै पनि समुद्रपारको भूत चढेको हुनुपर्छ यदि यस्तो भूत चढेर यति बेलाको खेल भइरहेको छ भने त्यो भूत न त मन्छाउँदा जान्छ न त डराएर भाग्छ, न त आफू सुध्रिन्छ नै । यो कुरा कम गम्भीर छैन, विश्व ध्वस्त हुने कारण बन्न बेर छैन । राजसंस्था उप्काउन खोज्ने तत्व नै बुद्धलाई अपमान गर्न लागिरहेको छ भनेर बुझ्नै यतिबेलाको प्रमुख विषय हो । नत्रभने बुद्धको मूर्ति स्थापनाको विरोध किन ?
– लालकृष्ण धमला