नेपाल आइस हक्की संघको विशेष साधारणसभाले संघका कार्यबाहक अध्यक्ष भुवन पाठकलाई साउन ९ गते बुधबार सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । संघमा रिक्त रहेको अध्यक्ष पदको पदपूर्ति गर्न डाकिएको विशेष सधारणसभाले पाठकलाई अध्यक्षमा चयन गरेको हो ।
साधारणसभाको प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य देवकुमार अधिकारी (बद्र्री) रहेका थिए भने नेपाल ओलम्पिक कमिटीका सहमहासचिव राजीव श्रेष्ठ विशेष अतिथिको रूपमा रहेका थिए । त्यस्तै, राखेपका प्रशासन विभाग प्रमुख वासुदेव आचार्य र कानुन शाखाका प्रमुख नारायणराज अर्याल अतिथिको रूपमा रहेका थिए ।
साधारणसभामा केन्द्रीय कार्यसमितिका पदाधिकारी वरिष्ठ उपाध्यक्ष श्रीविक्रम भण्डारी, मदन केसी, महासचिव गणेश रिमाल, सचिव रामसुधन तिमिल्सिना, सहसचिव विजय खड्का, कोषाध्यक्ष हरि मानन्धर र सदस्यहरूमा मुकेश शाही, लेखनाथ पराजुली, प्रज्ज्वल थापा, गणेश पाण्डे, दिलकाजी गुरुङलगायतको उपस्थिति रहेको थियो । त्यस्तै, विभिन्न १४ जिल्लाका प्रतिनिधि र प्रदेशका प्रतिनिधिहरूले उक्त विशेष साधारणसभामा सहभागिता रहेको थियो । सो विशेष साधारणसभाको अध्यक्षता नेपाल आइस संघका कार्यवबाहक अध्यक्ष भुवन पाठकले गरेका थिए ।
विशेष साधारणसभामा संघका उपाध्यक्ष मदन केसीले स्वागत मन्तव्य दिएका थिए । केसीले विशेष कारणवश संघको विशेष साधारणसभा बोलाउनुपरेको कुरा उपस्थित जिल्लाका प्रतिनिधिलाई जानकारी गराएका थिए । त्यस्तै, संघका महासचिव गणेश रिमालले संघको वार्षिक प्रतिवेदन पेस गरेका थिए । रिमालले विभिन्न कारणवश संघले आफ्नो उद्देश्यअनुरूप कार्य गर्न नसकेको बताउँदै अब त्यस्तो नहुने बताए । खेलकुद र पर्यटन विकासको लागि आइस हक्की मेरुडण्ड बन्ने विश्वास प्रकट गर्दै आउँदो मंसिरदेखि संघले नेपालमा आइस हक्कीको विकासको लागि विशेष कार्यक्रम गर्न लागेको सो अवसरमा जानकारी गराएका थिए ।
त्यस्तै, राखेपका सदस्य तथा प्रमुख अतिथि देवकुमार अधिकारी (बद्री)ले खेलकुदमा संघ दर्ता भए पनि उनीहरूले आफ्नो उद्देश्यअनुरूप कार्य गर्न नसकेको स्मरण गराउँदै आइस हक्की यसमा खरो उत्रिने विश्वास प्रकट गरे । आइस हक्की शीतकालीन ओलम्पिकको चर्चित खेल भएकोले यसको विकास र विस्तारमा संघका पदाधिकारीहरूले जिम्मेवारीपूर्ण भूमिका निभाउनुपर्ने बताए । साथै निर्वाचित अध्यक्षलाई यो चुनौतीपूर्ण भएको रायसमेत प्रकट गरेका थिए ।
त्यस्तै एनओसीका सहमहासचिव राजीव श्रेष्ठले युरोप, अमेरिका र क्यानडामा निकै चर्चित आइस हक्की खेलको नेपालमा विकास र विस्तार गर्न सके यसले मुलुकको खेलकुदलाई मात्र नभई पर्यटन विकासको लागि पनि कोसेढुंगा साब्ति हुने बताए ।
राष्ट्रिय खेलकुद परिषद्का निर्वाचन कमिटीका सदस्य ओम न्यौपाने र चन्द्रकुमार राईले संघको अध्यक्षमा भुवन पाठक निर्विरोध रूपमा चयन भएको घोषणा गरेपछि प्रमुख अतिथि तथा राखेपका सदस्य देवकुमार अधिकारीले पाठकलाई प्रमाणपत्र प्रदान गर्नुका साथै कार्यकाल सफलताका लागि शुभकामना दिएका थिए । पाठकको कार्यकाल १५ महिना हुनेछ ।
संघको अध्यक्षमा निर्विरोध निर्वाचन भएपछि आइस हक्कीको समग्र विकास र विस्तारमा लाग्ने पाठकले प्रतिबद्धता जाहेर गरेका थिए । चार वर्षमा के भयो त्यसको चर्चा गर्नुभन्दा अब के गर्ने भन्ने कुरामा आफू सचेत रहेको बताए । चुनौती धेरै छन्, तर पनि नेपालको भूबनोट आइस हक्कीका लागि निकै उपयुक्त भएको बताउँदै केही महिनाभित्रै आइस हक्कीको गतिविधि देखाउन आफूले विशेष योजना बनाएको पनि खुलासा गरे । त्यस्तै, पाठकले जिल्लाका प्रतिनिधिलाई पनि अब काम गर्ने बेला आएको भन्दै आफ्नो क्षेत्रमा आइस हक्कीको विकास र विस्तारमा लाग्न अनुरोध गरेका थिए ।
प्रतिक्रिया