नेपाल वादोरियो कराते डो संघ, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला वादोरियो कराते संघ तथा काठमाडौं जिल्ला ब्ल्याकबेल्ट कमिटीले वादोरियो कराते खेलाडी सिमोन खत्रीलाई एकेएफ रेफ्री परीक्षामा उत्तीर्ण हुन सफल भएको बधाई तथा शुभकामना दिएका छन् ।
गत साता जोर्डनमा भएको एकेएफ रेफ्री परीक्षामा सिमोनले सफलता हात पारेका हुन् । सिमोनलाई वादोरियो कराते संघका केन्द्रीय अध्यक्षसमेत रहेका नेपाल कराते महासंघका महासचिव हरिशरण केसी, सचिव सन्तोष मल्ल, कोषाध्यक्ष सूर्य राई, काठमाडौं जिल्ला ब्ल्याकबेल्ट कमिटीका वरिष्ठ उपाध्यक्ष चित्रबहादुर श्रेष्ठ, सचिव पुरुषोत्तम पोखरेल, प्रशिक्षक, खेलाडीलगायतले सफलताका लागि बधाई दिएका थिए । सिमोन वादोरियो करातेका केन्द्रीय सदस्य पनि हुन् ।
खेलाडीका रूपमा पनि ब्ल्याकबेल्ट तेस्रो डान सिमोनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा ४ स्वर्ण, १ रजत र १ कांस्य जितेका छन् । उनले भारतमा भएको दोस्रो र पाँचौँ दक्षिण एसियाली कराते, मलेसियामा भएको दशौँ ओकिनावा गोजुरियो कराते तथा श्रीलंकामा भएको वादो अन्तर्राष्ट्रिय खुला करातेमा स्वर्ण जितेका थिए । त्यस्तै, सिमोनले फिलिपिन्समा भएको तेस्रो निसिमुरा कपमा रजत र जर्मनीमा भएको वादो कपमा कांस्य हात पारेका थिए ।
प्रतिक्रिया