इन्डोनेसियामा हुने १८औँ एसियाली खेलकुदको तयारी गर्न नेपाली फेन्सिङ टोली वैदेशिक प्रशिक्षणका लागि साउन १० गते बिहीबार दक्षिण कोरियाको सिओल प्रस्थान गरेको छ । समान ४–४ पुरुष तथा महिला खेलाडी र २ प्रशिक्षकसहित १० सदस्यीय टोली सिओल प्रस्थान गरेको हो ।
कोरिया जाने पुरुष खेलाडीमा राजनराज खड्का, शेरसिंह ऐरी, सञ्जीव लामा र महेशप्रसाद भट्ट रहेका छन् । महिलामा कमला श्रेष्ठ, रविना थापा, मीनादेवी पौडेल र अस्मिता बस्नेत छन् । प्रशिक्षकमा अभिषेक कार्की तथा जलिन्द्रबहादुर शाही रहेका छन् ।
टोली जुलाई २६ देखि अगस्ट १५ तारिखसम्म सिओल फिजिकल एजुकेसन हाइस्कुलमा प्रशिक्षणरत रहनेछ । अगस्ट १५ मै टोली सिओलबाटै इन्डोनेसिया जानेछ । नेपालले पुरुष–महिलाको फोइल र साब्रेतर्फ व्यक्तिगत र टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने नेपाल फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठले जनाएका छन् । एसियाडअन्तर्गत फेन्सिङको प्रतिस्पर्धा अगस्ट १९ देखि २४ तारिखसम्म चल्नेछ ।
टोलीलाई प्रतिनिधिसभाका सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बिदाइ गरेका थिए । सो अवसरमा संघका अध्यक्ष सुनील श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।
प्रतिक्रिया